चौरजहारी महोत्सव : स्टल बुकिङ खुला, स्थानीय ब्यापारीलाई १५ प्रतिशत छुट

शनिबार, कात्तिक ११, २०८०

रुकुम पश्चिम । आगामी सोमबार देखि रुकुम पश्चिमको चौरजहारी नगरपालिका -२ मा सुरु हुने तेस्रो बृहत चौरजहारी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको लागि स्टल बुकिङ खुला भएको छ । 

महोत्सव आयोजक सहिद स्मृति कला, साँस्कृतिक संरक्षण केन्द्रले स्टल बुकिङ खुला भएको जानकारी दिएको हो । महोत्सव आयोजक मूल समारोह समितिका संयोजक एल बी कटुवालका अनुसार महोत्सवमा स्टल राख्नको लागि स्थानीय व्यापारीलाई शुल्कमा १५ प्रतिशत छुट दिने निर्णय भएको छ । 

उहाँका अनुसार महोत्सवमा करिब १२० वटा स्टल रहनेछन् । चौरजहारी नगरपालिका क्षेत्रका व्यापारीहरुलाई स्टल बुकिङमा बिशेष छुट दिईएको उहाँले जानकारी दिनुभयो । 

 “पर्यटन, कृषि, व्यापारमा हाम्रो योगदान स् कला र सँस्कृति चौरवहारीवासीको पहिचान” भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो ।  

महोत्सव कात्तिक १३ देखि २५ गते सम्म संचालन हुने महोत्सव व्यवस्थापक रेशम खत्रीले बताउनुभयो । उहाँका अनुसार चौरजहारीको कृषि, पर्यटन तथा कला संस्कृतिको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार, इन्द्रेणी समूह र स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ ।

त्यसैगरी नगरपालिकाका १४ वटै वडाका साँस्कृतिक झाँकी सहितका प्रस्तुति पनि महोत्सव अवधिभर प्रस्तुत गरिने भएको छ । आयोजकले महोत्सव सम्पन्न पश्चात चौरजहारीमा खानेपानी र शौचालय निर्माण गर्ने जनाएको छ ।  

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्