Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा एकैदिन १३१ कर्मचारी अनुपस्थित

कर्मचारीको हाजिरीमा रातो चिन्ह
सोमबार, कात्तिक १३, २०८०
tribeni2

जाजरकोट। जाजरकोटमा दसैँ लगत्तै गरिएको अनुगमनमा अधिकांश कर्मचारी अनुपस्थित रहेको  पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका १३१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ । 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले  आइतबार गरेको अनुगमनका क्रममा १०  वटा कार्यालयका कार्यालय प्रमुख सहित आधा भन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालय मध्य ३ वटा कार्यालय प्रमुख मात्र कार्यालय उपस्थित रहेका थिए । 

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारती, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र मालपोत कार्यालयका प्रमुख डिल्ली बहादुर केसी मात्र कार्यालय प्रमुखको रूपमा कार्यालयमा भेटिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिनु भयो ।  अन्य १० कार्यालय प्रमुखहरू हाजिरी रजिस्टरमा विदा नै नजनाई अनुपस्थित रहेका पाइएको जनाइएको छ ।

स्वास्थ्य सेवा कार्यालय, डिभिजन वन कार्यालय, भेरी नगरपालिका, जिल्ला हुलाक कार्यालय, बृहत् जलाधार व्यवस्थापन कार्यालय, सिँचाइ तथा नदी नियन्त्रण कार्यालय, खानेपानी, ऊर्जा तथा सिँचाइ कार्यालय, सामाजिक विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, नापी कार्यालय, भेरी कोरिडोर सडक आयोजना, मालपोत कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा छड्के गरिएको थियो । 

अनुगमन गरिएका मध्य सबै भन्दा धेरै स्वास्थ्य सेवा कार्यालयमा ३७ जना र  भेरी नगरपालिकामा २७ जना कर्मचारी अनुपस्थित रहेका जनाइएको छ । दसैँ बिदा मनाउन घर गएका धेरैजसो कर्मचारी कार्यालयमा नफर्केपछि सेवाग्राही मर्कामा परेका छन् । दसैँ बिदा पछि गत शुक्रवार नै कार्यालय खुले पनि हाल सम्म आधा भन्दा बढी कर्मचारी अझै कार्यालय आई पुगेका छैनन् ।

सरकारी कर्मचारीलाई नागरिक प्रति उत्तरदायी र जिम्मेवार हुन प्रजिअ सुनारले आग्रह गर्नु भएको छ।  दसैँ मनाउन घर गएका कर्मचारीलाई बिदा वा काजको बहानामा उतै नबस्न र तत्काल कार्यालयमा उपस्थित भई सेवाग्राहीलाई सेवा प्रदान गर्न  गर्न निर्देशन दिनु भएको छ । छड्केमा गएको स्थानीय प्रशासनको टोलीले अनुपस्थित कार्यालय प्रमुख र कर्मचारीको हाजिरीमा रातो चिन्ह लगाएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्