सोसल मिडिया
रुकुम पश्चिम । चाडपर्व सुरु भएसँगै रुकुम पश्चिमका गाउँगाउँमा लाग्ने मेला, खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुमा पाईने काठेपिङ पछिल्लो समय देखिन छाडेका छन् । मनोरञ्जन र जीविकोपार्जनका लागि प्रयोग हुने काठेपिङलाई जिल्ला बाहिरबाट ल्याईने फलामको पिङले गर्दा बिस्थापित भएको काठेपिङ सञ्चालकहरुको गुनासो छ ।
जिल्लामा काठेपिङको मालिक भनेर चिनिनुहुने मुसीकोट नगरपालिका –५ का टोपबहादुर खत्रीले आफूले जीविकोपार्जनका लागि बर्षौदेखि सञ्चालन गर्दै आएको काठेपिङ सञ्चालनको पेशा हराउँदै गएको बताउनुभयो । “म सँग १० वटा काठेपिङ थिए, राम्रै आम्दानी भईरहेको थियो,” खत्रीले भन्नुभयो, “पछिल्लो समय काठेपिङ चल्नै छोडे, मेलापर्वमा माग हुनै छोड्यो ।”
रुकुमपश्चिमसहित छिमेकी जिल्लामा लाग्ने सबै मेलामा उहाँले काठेपिङ लिने गर्नुहुन्थ्यो । पछिल्लो वर्षहरुमा भने काठेपिङबाट राम्रो आम्दानी नभएको उहाँले जनाउनुभयो । खत्रीले जिल्लाका सवै मेलाहरुमा पिङ लगेर एउटा काठेपिङबाट ५० हजार रुपियाँसम्म आम्दानी हुने गरेको तर अहिले काठेपिङ चल्नै छोडेको उल्लेख गर्नुभयो । बर्षौ देखि काठेपिङ चलाएर धानेको दैनिकीमा समस्या आएको उहाँको बुझाई छ ।
डिग्रेमेला, कुनाखेत, नाथिगाड, शंखपिपल, आला, बेलटापु, साँखको पापिनी, विभिन्न स्थानमा लाग्ने पूर्णिमा मेला, राडिमेला लगायत जिल्लामा दर्जनौ मेला लाग्छन् ।
अर्का काठेपिङ सञ्चालक रिमबहादुर नाथले काठेपिङ संचालनबाट बार्षिक तीन लाख रुपियाँसम्म आम्दानी हुने गरेकोमा अहिले पेशा नै हराउँदै गएको बताउनुभयो । १५ वर्षदेखि काठेपिङ संचालन गर्दै आउनुभएका नाथले पछिल्लो समय पिङ संचालन व्यवसायमा सन्तुष्टी नरहेको उल्लेख गर्नुभयो ।
गाउँघरमा लाग्ने मेलामा विभिन्न ठाउँका व्यापारीहरुले फलामको पिङ ल्याउदा काठको पिङ चल्नै छोडेका छन् । केहि बर्ष पहिला एउटा मेलामा २५ वटा सम्म काठेपिङ देखिन्थे । अहिले मुस्किलले पनि दुईतीन वटा पनि काठेपिङ हुदैनन् ।
अहिले पनि मुसीकोटको घिमाने, पोखरा र थर्पुमा गरेर सात वटा काठेपिङ छन् । जिल्लाभरका सवै मेलामा ति पिङ लिदा पनि सोचे जस्तो आम्दानी नभएको पिङ संचालकहरुको गुनासो छ ।
घिमाने गाउँका केहि व्यक्तिहरुले करिव १८ वर्ष देखि मेलामा काठेपिङ लिएर जीविकोपार्जन गरिरहेको बताईन्छ । उहाँहरुले दशैं, तिहार अघिपछि लाग्ने मेलाहरुमा काठेपिङ संचालन गर्दै आउनुभएको छ । पछिल्लो समय काठेपिङ चढ्नेहरुको संख्या घट्दै जाँदा पिङ संचालन व्यवसायबाट पलाएन हुने अवस्था आएको स्थानीय विष्णु शर्माले बताउनुभयो ।
फलामेपिङ काठेपिङ भन्दा रमाईलो र सुरक्षित हुने भएकोले पनि काठेपिङ चल्न छोडेको हो । तर काठेपिङले पनि कला, संस्कृति र मौलिकता झल्काउने भएकोले लोप हुनु दुर्भाग्य भएको बताईन्छ ।