मूलपाटी बिशेष

सबैको प्यारो बन्ने रहर बोकेका ‘जनताका डाक्टर’

जाजरकोटमा स्वाईन फ्लुको महामारी रोक्नदेखि रुकुममा सेवा गर्न अब्बल डाक्टर
बुधबार, कात्तिक १५, २०८०

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ खलंगा बजारमा रहेको साझा मुराल अस्पतालका निर्देशक डा. दिपक पुनको अर्को परिचय हो, ‘जनताका डाक्टर’ । मनकारी तथा सहयोगी भावना, मिलनसार बानी, साझा व्यक्तित्व, शान्त, सरल र सहज स्वभाव उहाँका बिशेषता हुन् । स्वास्थ्य क्षेत्रमा उदाहरणीय मात्र हैन सामाजिक क्षेत्रको सेवाले समेत उहाँ जिल्लामा अग्रस्थानमा हुनुहुन्छ, कर्णाली हुँदै देशभर चिनिनुहुन्छ । डा. दिपकको कार्य अनुभवलाई हामीले उहाँकै शैलीमा यहाँ पस्किएका छौ । 

उहाँ कक्षा ३ मा पढ्ने बेला अत्यन्तै मिल्ने साथी हुनुहुन्थ्यो, मदन खड्का । पेट दुख्नेबाट सुरु भएको उहाँको बिमारले अकालमै ज्यान गयो । यो कुरा २०५३ सालको हो । 

२०५२ सालमा तत्कालिन मुरु गाविस वडा नम्वर ७ मा दिपकका बुवाले मेडिकल सुरु गर्नुभएको थियो । बुवाको मेडिकलमा आउँदा जाँदाको प्रभाव अनि सँगैको साथीले संसार छोडेको कुराले मान्छे किन बिरामी हुन्छन् र किन मर्छन् भन्ने प्रश्न दिमागमा उब्जियो ।

बालकैमा दिमाग हल्लिने गरी सिर्जना भएको यो प्रश्नसँगै सशस्त्र द्वन्द्वको कारण मान्छे मर्ने र घाईते हुने दैनिकीको प्रभावले मान्छे बचाउने र सन्चो बनाउने उत्तम कार्य डाक्टरले मात्र गर्न सक्छन् भन्ने सोचले उहाँलाई यो स्थानमा पुग्न उत्साह दिएको उहाँको भनाई छ । 

कक्षा ६ सम्म साधारण माध्यमिक बिद्यालय मुरुमा अध्ययन गर्नुभएका उहाँ अध्ययनकै क्रममा दांग जानुभएको थियो । २०५६ सालमा उहाँका हजुरवुवा गगनसिं पुन मगर मुरु गाविस अध्यक्ष चुनिनु भयो । त्यति बेला देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । उहाँको परिवार गाउँमा बस्ने अवस्था भएन, सबै परिवार बिस्थापित भएर जिल्ला सदरमुकाममा आउने बाध्यता आईलाग्यो । त्यहि बेला दांग पढ्न गएका दिपकलाई फिर्ता बोलाएर त्रिभुवन जनता माविमा भर्ना गरियो । 

387561747_1035796994235241_6740012599259085430_n1698842721.jpg
डा. दिपकलाई प्राप्त केहि सम्मान पत्रहरु । 

“आर्मिको बंकर भित्र बिद्यालय थियो,” त्यतिबेलाको बिद्यार्थी जीवन दिपकले सम्झनुभयो, “गेटमा सेनाले परिचय पत्र चेक गरेर मात्र भित्र जान दिन्थे, बिद्यालय भित्र छिरेपछि बिद्यालय छुट्टि नहुन्जेलसम्म बाहिर निस्कन मिल्दैनथ्यो । सरहरुले भविष्यमा के बन्ने भनेर सोध्दा साथीहरुले पाईलट, शिक्षक, प्रहरी, सेना भन्थे । म भने डाक्टर बन्छु भन्थे । ”

डाक्टर बनेर सेवा गर्ने हुटहुटी बोकेका उहाँ २०६३ सालमा बंगलादेश जानुभयो । पाँच वर्ष एमबिबिएस अध्ययन सकेपछि एक वर्ष बंगलादेशमै ईन्ट्रन गर्नुभयो र फर्किनुभयो नेपाल । सुरुको एक वर्ष सिन्धुपाल्चोकमा प्राईभेट अस्पतालमा सेवा गर्नुभयो । 

त्यसपछि सरकारी सेवा प्रवेश गर्ने रहर जाग्यो । स्वास्थ्य मन्त्रालयले करार सेवाको लागि आह्वान गरेको विज्ञापनमा उहाँ सफल हुनुभयो । त्यतिबेलाको अन्तर्वातामा उहाँलाई सोधिएको थियो, ‘कहाँ गएर सेवा गर्न मन छ ?’ डा. दिपकको उत्तर थियो, ‘रुकुम, रोल्पा, कालिकोट, जाजरकोट जहाँ भए नि सेवा गर्न तयार छु ।’ 

२०७१ चैत १६ गते जाजरकोटमा स्वाईन फ्लुको कारण अर्छानीको सुस्मिता जैसीको ज्यान गएको थियो । भोलिपल्ट अर्थात १७ गते डा. दिपक स्वास्थ्य मन्त्रालयबाट करार नियुक्ति बोकेर जाजरकोट पुग्नुभयो । अर्छानी हुँदै पै‌‌कमा स्वाईन फ्लुले महामारीको रुप लिईसकेको थियो । पै‌कमा मात्र ८ जनाको मृत्यु भईसकेको थियो । यो महामारीबाट जिल्लाभर २९ जनाको ज्यान गएको थियो । 

387324968_1276532666399244_6353491452520314609_n1698842720.jpg

त्यतिबेला जाजरकोटका प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लगायतले मलाई तपाई फिल्डमा गएर खास अवस्था बुझेर आउनुपर्यो भन्नुभयो । मैले हस्, म जान्छु भने । म जान्छु भनेपछि सिडियो र हाम्रो कार्यालय प्रमुखले लामो स्वास फेर्नुभयो । यस कुराले गाउँमा डाक्टर जान नमान्ने डरलाग्दो अवस्था रैछ भन्ने मलाई बुझ्न गाह्रो भएन । 

एक सरो लुगा र दुई पोको औषधि बोकेर चैत २४ गते म पैंक स्वास्थ्य चौकी पुगे । म त्यो बेला २६ वर्षको थिए । पै‌कमा म पुग्दा करिब चार सय बिरामी लामो लाईन लागेर स्वास्थ्य चौकि बाहिर बसेका थिए । कतिपय छट्पटिरहेका थिए । यो देखेर म अवाक् भए । पानी मागे, साथमा बोकेको चाउचाउ थियो । पानी र चाउचाउ खाए । लामो सास तानेर आँखा चिम्म गरे । ढिला गर्दा मानविय क्षति हुने सम्भावना बढी थियो ।

लाईन लागेका सबैलाई म डाक्टर हुँ, तपाईहरु कत्तिपनि नआत्तिनुहोस्, म सकेको उपचार गरेरै छोड्छु भने । स्वाईन फ्लु स्वासको माध्यामबाट फैलने भएकोले त्यो भिडभाड नियन्त्रण गर्ने जुक्ति निकाले । त्यो बेला गाउँमा मास्क पाउने सम्भावना थिएन । 

मैले सबैलाई शान्त पारेर भने, “यसरी लाईन लाग्नु पर्दैन, सबै जना घरमा जानुहोस्, म घरघरमा आफै आउँछु । यहाँसम्म तपाईहरु आउनुपर्दैन । म नआउन्जेल असाध्यै गाह्रो भएमा मात्र यहाँ आउनु होला । घरमा तातोपानी, दालको सुप सबैले पीउनु होला । पानी उमालेर मात्र पीउनु होला । तपाईहरु सन्चो नुहुन्जेल म फर्किन्न, ढुक्क हुनुहोस् ।” 

dipak pun (1)1698842845.jpg

घर वरपर सफा राख्न, झोलिलो, पोषिलो र तातो खानेकुरा खान बारम्बार बताए, उमालेर मात्र पानी पीउने सल्लाह दिए । यो बेला कुनै सार्वजनिक कार्यक्रममा उभिएर भाषण गरेजस्तै भएको थियो । 

स्थलगत अध्ययन गरेर फर्कने जिम्मेवारी बोकेर गएको म, त्यहाँको त्यो अवस्था देखेर फर्कन सकिन । भोलिपल्ट शिविर आयोजना गरे । तत्कालिन पैक गाविसको भवनमा त्रिपाल बिछ्याएर बिरामीको उपचार सुरु गरे । त्यो दिनको शिविरमा ४५० जनाको उपचार गरेको हुँ ।  भोलिपल्ट देखि स्टाफहरुको साथमा घरघरमा पुगे । 

त्यो बेला एक सय जनामा जाँच गर्दा ७५ जनामा स्वाईन फ्लु थियो । तर बाहिर हामीले यो कुरा भनिनौ । किनभने बिरामीको मानसिक अवस्था झन् कमजोर हुन्छ सोचेर सबै ठिक हुन्छ भन्दै मनोबल बढाईरहेका थियौ । 

387348283_1801221856978653_1080251241270917767_n1698842722.jpg

यहि महामारीको बेला तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारी आफै फिल्डमा आउनुभयो, समाजसेवी तथा नेता राजिव बिक्रम शाहले हेलिकप्टरबाट औषधि पुर्याईदिनुभयो, जिल्ला स्वास्थ्य कार्यालय र कर्मचारीहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानीय राजनीतिक दलका नेता तथा अगुवाहरुले काम गर्ने हौसला र वातावरण मिलाईदिनुभयो । डा. गोविन्द केसी आएर मलाई थप प्रेरणा दिनुभयो । 

त्यहाँ पुगेको १० दिनमा चार हजार बिरामीको उपचार गर्यौ । १० दिन बस्दा स्वाईन फ्लु कन्ट्रोल भयो । एक जना पनि मानविय क्षति हुन दिएनौ । 

त्यो बेला मलाई पनि रुघाखोकीले सताएको थियो । खुट्टा नकमाएर टिमवर्कमा काम गर्यौ । यतिसम्म की, लिएको एक जोडा कपडा दश दिनसम्मै लगाए । मलाई कपडा फेर्ने, खाना खाने, आराम गर्ने समय थिएन । यतिसम्म कि नुहाउँदा लगाएको अन्डरवेडर घामसँगै आगोको तापमा सुकाएर लगाउँथे । फेर्न अर्को जोर कपडा थिएन । धेरै दिन चाउचाउको झोल मात्र खाएर काम गर्यौ । 

मलाई डाक्टर भएर त्यो ठाउँ जान पाएकोमा ठुलो गर्व लाग्यो । म पुगेपछि महामारीले मान्छे मर्न पाएनन् । स्थानीय सबैलाई अब म फर्किन्छु भनेर सबैले हामी ठिक छम् जानोस् भनेर फूलमालाले बिदाई गरे । म जाजरकोट खलंगा आईपुग्ने बाटोभरि बधाईको ओईरो पाए । सदरमुकाम पुग्दा माहौल नै फरक पाए ।  

जाजरकोटमा करिब १४ महिना बसे । त्यतिन्जेल चिनेजानेका सबैसँग प्रिय भएर सेवा गरे । त्यहि बेला स्वास्थ्य मन्त्रालयबाट भारतको गुजरातमा एक साता भ्रमणमा जाने मौका पनि पाए । यो मैले गरेको कामप्रतिको मूल्यांकन थियो ।

जाजरकोटको भूमिलाई पहिलो कर्मभूमि बनाएको म त्यसपछि आफ्नै जिल्लामा कर्म गर्न आईपुगे । बुवाले जिल्ला सदरमुकाममा गर्दै आईरहेको मेडिकल सेवालाई बिस्तार गरेर साझा मुराल अस्पताल बनाए । बुवाले जिल्लामा बनाएको छापले मलाई यहाँ काम गर्न सजिलो भयो । 

अहिले दैनिक ५० देखि ६० जना जिल्लावासीको उपचार गर्छु । दुई जना डाक्टर छौ । १५ जना अन्य स्वास्थ्यकर्मी र कर्मचारी हुनुहुन्छ । 

आफ्नो जिल्लावासीलाई विभिन्न तवरले सेवा गरिरहेको छु । यो सेवा गर्न पाउँनु मेराे सौभाग्य हो ठान्छु । पैसा कमाउने मात्र नियत राखेको भए म अहिले अन्यत्रै हुन्थे । म सँगैका साथीहरु एमडि गरेर अन्य अस्पतालमा सेवा गरिरहेका छन् । म भने आफ्नै गाउँवासीको सेवामा छु । पढ्दा खेरि लागेको ऋण थियो । अहिले तिरेको छु । 

यहाँ सेवा गर्न आर्थिक अवस्था कमजोर भएकाहरुलाई निशुल्क पनि गरेको छु । जिल्ला बाहिर रिफर गर्नुपर्ने अस्वस्थाका बिरामीहरुलाई तत्काल पैसा हालेर उपचारमा पठाउने गरेको छु ।

पैसा नहुँदा उधारोमा औषधि त सधै दिईरहेको छु । सेवाभावले गर्दा जिल्लाका सरकारी कार्यालय, राजनीतिक दल लगायत सबैसँग मित्रवत हुन पाएको छु । गाउँबाट काम गरेर जिल्ला सदरमुकाम आएका धेरै जनालाई अनेक तवरले सहयोग गरेको छु । 

यहाँ आएदेखि धेरैको स्वास्थ्य सुधार र ज्यान बचाउन सेवा गरेको छु । एक जना झुल्खेत र एक जना रोल्पाको बच्चालाई 'माउथ टु माउथ रिस्प्रेशन' गरेर ज्यान जोगाएको घटना दिमागमा ताजै छ । स्वास बन्द अवस्थामा रहेका ती दुवै बच्चालाई यसरी जोगाउन पाउँदा बेग्लै गर्वको महशुस भएको छ । 

387348283_1801221856978653_1080251241270917767_n1698842722.jpg

जिल्लाका सबै मानिसमा स्वास्थ्य सेवाको पहुँच छैन । सरकारले सिमित स्वास्थ्य स‌स्थामा स्वास्थ्य बिमाको कार्यक्रम दिएको छ । तर यो कडा अनुगमन र नियमनका आधारमा निजि स्वास्थ्य स‌स्थालाई पनि दिएमा स्वास्थ्य सेवामा ग्रामिण क्षेत्रका सर्वसाारणको पहुँच पुग्ने थियो जस्तो लाग्छ । 

सरकारले पनि निजी क्षेत्रलाई हेर्ने दुष्टिकोण अलग राखेको पाउँछु । हाम्रो सेवालाई कम नठानेर सरकारी र निजि स्वाथ्य क्षेत्र बिच समन्वय गर्न आवश्यक छ । जागिर खाने मात्र नियतले स्वास्थ्य सेवा राम्रो बनाउन सकिन्न । राज्यले यसलाई गम्भिरताका साथ लिन जरुरी रहेको छ । 

पछिल्लो समय राजजीतिक क्षेत्रमा चासो बढाउनुभएको हो भन्ने प्रश्नमा डा. दिपकले त्यसलाई अस्विकार गर्नुभयो । सबै दल र क्षेत्र मेरा लागि सम्मानजनक क्षेत्र हुन्, डा. पुनले भन्नुभयो, “सबैजनासँग चिनजान छ, सम्बन्ध सबैसँग उत्तिकै नजिकको छ । स्थानीय समेत भएको नाताले जिल्लाको राम्रोका लागि हुने काममा चासो जान्छ । म राजनीतिमा होमिने कुनै सोच अहिलेसम्म छैन ।”

लाग्छ, अहिले सम्म कसैको पनि मन दुखाएको छैन । सबैको प्रिय बन्ने रहर छ, त्यो कोशिस गरिरहेको छु । अहिले साझा मुराल अस्पताल मार्फत चौबिसै घण्टा जिल्लावासीको सेवामा जोडिरहेको छु । यो सेवा निरन्तर गरिरहेको छु भन्ने विश्वास दिलाउँन चाहन्छु । 

dipak pun (2)1698842845.jpg

 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्