देउसी खेलेर जम्मा गरेको रकमले बर्षदिनपछि धारा निर्माण

बिहीबार, कात्तिक १६, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर १ मा देउसी भैलो खेलेको रकमबाट खानेपानीको धारा निर्माण गरिएको छ । 

वडाको जंगल गाँउका युवाहरुले गत बर्षको देउसी भैलो खेलेको रकमबाट जंगल गाँउ र चाईनाबगर बिचको जंगलमा खानेपानीको धारा स्थापना गरेका हुन ।
  
जंगलगाउँका शालिग्राम विकको नेतृत्वमा रहेको ३१ जनाको टिमले गत साल भैली खेलेर जम्मा गरेको रकममा केहि रकम थप गरी ५१ हजार रुपियाँको लगानीमा धारा निर्माण गरेको वडा अध्यक्ष टेकबहादुर  पुनले बताउनुभयो ।

उनीहरूले मुहान देखी ५ सय ५० मिटर पाईपको ब्यबस्था गरी पिउने पानीको धारा स्थापना गरेको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । हेर्दा सामान्य देखिएता पनि यो उत्कृष्ट र समाजप्रतिको सकारात्मक कार्य भएको उहाँको भनाई छ । पैदल यात्रीलाई पिउने पानीको समस्या परिरहेको बेला बाटोमा धारा बन्दा धैरै सहज भएको छ । 

पहिले देउसी भैलोबाट संकलित रकम भोजभतेर खाने प्रचलन रहेता पनि अहिलेका पुस्ताले विकास निमार्णसँग जोडिएर स्रहानिय कार्य गरेको स्थानीयको भनाई रहेको छ । पछिल्लो सयमा खेलिने देउसी भैलो निश्चित उद्देश्य प्राप्तीका लागि खेलिने भएकाले भोज भतेर खाने चलनको विस्तारै अन्त्य हुदै जान लागेको बताईन्छ । 

गत वर्ष देउसी खेलेको समुह विभिन्न कामको कारण गाउँ बाहिर जानुपर्ने अवस्था भएकोले ढिला गरेर सामाजिक कार्य गरिएको बताईएको छ । 

395640952_1433130100750597_8406104865303848082_n1698905319.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्