Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चर्किएका घर र फेरि भूकम्प आउने त्रासले आठविसकोटमा त्रिपालमुनि बास

उद्धार र उपचारमा उत्कृष्ट कार्य, अब प्रभावकारी राहतको माग
शनिबार, कात्तिक १८, २०८०
tribeni2

रुकुम पश्चिम । शुक्रबार राती गएको भूकम्पमा परेर मानविय र भौतिक क्षति व्यहोरेका रुकुमपश्चिमको आठविसकोट नगरपालिकाका स्थानीयहरु त्रिपालमुनि बास बसेका छन् ।

दर्जनौ घरहरु भत्किएको, सयौ घरहरु चर्किएको  र फेरि पनि भूकम्प आउने त्रासका कारण स्थानीय खुला चौरमा त्रिपाल टाँसेर बास बसेका हुन् । 

आठविसकोट नगरपालिका ९ मा रहनुभएका पत्रकार सत्य बटालाका अनुसार नगरपालिकाको करिब ३६० घर परिवार अहिले धान काटेको खुला खेतबारीमा त्रिपाल टाँसेर बसेका छन् । ‘हामी पनि सम्पूर्ण परिवार खेतमा त्रिपाल टाँसेर बसेका छौ,’ बटालाले भन्नुभयो, ‘हिजोको भूकम्पको त्रास र बस्न नमिल्ने अवस्थामा रहेका घरको कारण सबैजसो मान्छे घर बाहिरै बसेका छन् ।’

चिसो रात भएकोले बालबालिका र जेष्ठ नागरिकहरुलाई झन् स्वास्थ्य समस्या बढ्नसक्ने बताईएको छ । 

अहिले आठविसकोट नगरपालिकाको वडा नम्वर ९ राडि बजार र सिम बजार, वडा नम्वर ११ को चिसापानी, चौर र गोईरी, वडा नम्वर १२ को बगर, ठुलीबार्खु र सानीबार्खु, वडा नम्वर १३ को भल्मा, सवारी र गम्जा र वडा नम्वर १४ को छेपारे, बाँके जिउला लगायका स्थानमा स्थानीयहरु खुला चौरमा त्रिपाल टाँसेर बसिरहेका छन् । 

आठविसकोट नगरपालिका ९ का हरि पुनले सबैजसो घरपरिवारका सदस्यहरु खुला चौरमा बसिरहेको बताउनुभयो । अधिकांश मान्छेहरु घरमा भएका कपडाहरु बोकेर एकै ठाउँमा जम्मा भएर बसिरहेको उहाँले जानकारी दिनुभयो । 

भूकम्प पीडित तथा प्रभावितहरु सरकारले दिनभर प्रभावकारी रुपमा उद्धार र उपचारको काम गरेको र अब राहत वितरणको कामलाई प्राथमकिता दिनुपर्ने बताएका छन् । 

जाजरकोटको बारेगाउँ गाउँपालिका १ रामिडाँडामा केन्द्रबिन्दु भएर शुक्रबार राती ११ः४७ मा आएको भूकम्पको कारण आठविसकोट नगरपालिकामा मात्रै ४२ जनाको मृत्यु भएको छ भने सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ । 

भूकम्पको कारण करिब ३ सय जना घाईते भएका छन् भने करिब दुई हजार घरमा क्षति पुगेको बताईएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्