"बचाउ बचाउ भन्दाभन्दै बुवाको आवाज हरायो, घरका तीनै जना बाँच्यौ"

आइतबार, कात्तिक १९, २०८०

रुपक विश्वकर्मा

शुक्रबार भाई रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला गएको थियो । भाई नआएपछि अबेलासम्म बुवाआमा सुत्ने कोठामा कुरा गरेको बसे । घर स्याला भएतापनि हामी वडा नम्वर १ को रिम्नामा बस्छौ । त्यहाँ पनि दुई तले ढुङगे घर छ । 

अबेलासम्म भाई नआएपछि सुत्नुपर्यो भन्दै आफ्नो कोठामा गए । निदाउँन थालेको थिए । एक्कासी छतबाट माटो ओईरिए जस्तो भयो । जुरुक्क उठ्न खोजेको थिए पिङ मच्चिए जसरी म सुत्न लागेको खाट मच्चियो । म नराम्ररी भित्तामा पछारिए । भुईमा लडे । 

उठ्न खोज्दै थिए माथिबाट काठ, माटो ढुङगा खसेर मलाई थिचे । एक हात टाउको माथि राखिरहे । काठ, माटो, ढुङगाले मलाई पुर्दै गए । म त अचेत भएछु ।

घरका भित्ता र छतबाट खसेका माटो र ढुङगाका टुक्राले मेरो टाउकोमा लाग्न थाले । झिलिक झिलिक बत्ति बलेजस्तो भयो । आँखा खोले । मुख पनि माटोले बन्द गरेको जस्तो भयो । जोडले स्वास बाहिर फाले, माटो निस्कियो । अब त मरिने रैछ लागेको थियो ।

भूकम्प रोकिएपछि एक हातले बिस्तारै शरिरको माटो, ढुङगालाई हराउँदै गए । त्यतिन्जेल भूकम्प रोकिसकेको थियो । अनुहार, टाउको, हात, खुट्टा, घुँडामा चोट लागेको रहेछ । त्यो बेला वास्ता भएन । 

बल गरेर उठे । गाउँमा कोलाहल मच्चिरहेको थियो । बुवाआमा भएको कोठामा गए । केहि भैहाल्यो कि भन्ने ठुलो डर थियो । घरको माथिल्लो तला नै भासिएर उहाँहरु त तल्लो तलामा झर्नु भएछ । घरको सबै काठ, माटो, ढुङगाले उहाँहरु पुरिनु भएछ । मलाई के गरौ कसो गरौ भईरहेको थियो । आमाले बचाउ बचाउ भन्दै कराउनुभयो । 

मैले यिनै औलाले बेल्चा लगाएजसरी माटो हटाए, काठ र ढुङगा पन्छाए । आमाको कपाल फेला पारे । औलाले कोदालाले खने जसरी आमाको वरिपरीको माटो खनेर हटाए । आमालाई निकाले । 

अब बुवा पनि त्यहि पुरिनु भएको थियो । आमालाई निकाल्ने बेला औलाले खन्दा खन्दा मेरो औलाबाट रगत चुहिन थालेको थियो । भाई पनि चिच्याँदै आईपुग्यो । सुरु सुरुमा बचाउ बचाउ भनेर कराउने वुवाको आवाज बिस्तादै दबिदै गयो । मलाई बुवाको सास रोकियो कि भन्ने डर लाग्यो । 

बुवाको वरिपरीको माटो, काठ र ढुङगा हटाउँदै गर, म गाउँले बोलाएर ल्याउँछु भनेर भाईलाई अह्राएर म निस्किए । 

पाँच जनासाथीहरुलाई बिन्ती गरेर ल्याएपछि बुवालाई निकाल्यौ । बेहोस् अवस्थामा हुनुहुन्थ्यो । नाक र मुखभरी माटो कोचिएको थियो । बुवा खोक्ने बेला नाक र मुखको माटो एक्कासी निस्कियो । बुवा ज्यँदै हुनुहुन्छ भन्ने लाग्यो । 

गाउँमा डरलाग्दो कोलाहल थियो । सबै जनाले अस्पताल जानलाई विभिन्न उपायहरु खोजिरहेका थिए । त्यहाँबाट जाजरकोट जाने बाटो भुकम्पकै कारण आएको पहिरोले अवरुद्ध रहेछ ।

हामी चाइनबगर पुल तरेर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका १ आईपुग्यौ । त्यतिन्जेल रुकुमपश्चिमको भागमा उद्धारको लागि ल्याईएको एम्बुलेन्स आईसकेका थिए । गाउँमा धेरै जना उपचारको लागि यहि आयौ । 

अहिले मेरा बुवा डण्डबीरकोे अवस्था ठिक भएपछि डिस्चार्ज भएर जानुभयो । म र आमा कल्पना अस्पतालमै छौ । आमाको शरिरको पछाडिको भाग र हड्डिमा दुखाई छ । मेरो शरिरभरी चोट छ । धन्य हाम्रो ज्यान बच्यो । 

(भेरी नगरपालिका ३ जाजरकोट भई हाल जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिममा उपचाररत रुपकसँगको कुराकानीमा आधारित) 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्