सोसल मिडिया
२०७४ सालको चुनावमा रुकुममा नेकपा माओवादी र नेपाली काँग्रेस पछि तेस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी एमालेमा आएको फुटपछि अब कुन स्थानमा रहला ? अब रुकुम पश्चिममा एमाले बलियो रहला कि एकीकृत समाजवादी भनेर चासोको विषय बनेको छ ।
२०७५ जेठ दुई अघिको पार्टीको आँकलन गर्ने हो भने अधिवेशनबाट निर्वाचित अध्यक्ष बिमलकुमार पुन सहितका बहुमत जिल्ला कमिटि पदाधिकारीहरु एकीकृत समाजवादीमा लागेका छन् । एमालेको सातौं अधिवेशनबाट आएका एमाले उपाध्यक्ष रिखिप्रसाद शर्मा लगायतका केहि एमालेमै रहनुभएको छ ।
नेकपा एमालेका सातौ अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा हालका एकीकृत समाजवादिका जिल्ला अध्यक्ष बिमलकुमार पुन सहित सचिव हरिप्रसाद शर्मा, उपसचिव माधव गौतम लगायत बहुमत जिल्ला कमिटी एकीकृत समाजवादीमा गएको स्पष्ट बताइएको छ । उपाध्यक्ष शर्मा लगायतका नेता भने एमालेमै रहनु भएको छ । सातौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी सहितका ६५ जना जिल्ला कमिटीबाट ४६ जनाले नेकपा एकीकृत समाजबादी रोजेका छन् भने ५ जना जिल्ला कमिटी सदस्य माओवादी केन्द्रमा मिसिएको र बाँकी १४ जना मात्र एमालेमा रहेको बताईन्छ ।
त्यस्तै कर्णाली प्रदेश सांसद देवि ओलि र राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका संसद ठकेन्द्र प्रकाश पुरी पनि एकीकृत समाजवादीमा लागेका छन् । रुकुमबाट केन्द्रीय सदस्य बनेका शेरबहादर केसी समेत एकीकृत समाजवादीमा लागेका छन् । केन्द्रीय सदस्य देखि जिल्लाका पार्टी अगुवा नेता एकीकृत समाजवादी तर्फ लागेकोले समाजवादी नै बलियो भन्ने लागेतापनि एमाले कमजोर रहेको भन्न सकिदैन । जिल्लाका सबै पालिकामा भेला तथा बैठक सम्पन्न गरेको एमालेको जनआधार भने समाजवादी भन्दा अगाडि देखिन्छ । माओवादीबाट आएका नेता चन्द्रबहादुर नेपाली सहितका नेताहरु गाउँमा पुगेर संगठन मजबुद बनाउँदै गर्दा पार्टीमा ठूलो धक्का लागेको प्रत्यक्ष आँकलन त गरेका छन्, तर समाजवादी भन्दा कमजोर नरहेको तथ्य निकालेका छन् ।
एकीकृत समाजवादि पनि पार्टी निर्माण लागि राम्रैसङ्ग खटेको देखिन्छ । नयाँ पार्टी निर्माण भएदेखि नै नेता कार्यकर्ता सकृय भएर लागेका छन्, जिल्ला कमिटी टुङ्गो पछि समाजवादी पार्टीले ६ वटा स्थानिय तहमा कमिटी घोषणा गरेको छ । यतिबेला वडा कमिटी घोषणा गर्दै हिडेको छ । सबै जनवर्गीय संगठनको जिल्ला कमिटी दुबै पार्टीले गरिसकेका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा रुकुम पश्चिमको ७३ वडामध्ये दुईवटा वडाअध्यक्ष अध्यक्ष जितेको एमालेका एकजना वडाध्यक्ष एमालेमै र एकजना नयाँ दलमा हुनुहुन्छ । आठबिसकोट नगरपालिका –१३, का वडाध्यक्ष बिनोद पुनको टोली एकीकृत समाजवादीमा रहेको छ भने चौरजहारी नगरपालिका –१३, का वडा अध्यक्ष टंक ओलीको टोली एमालेमा रहेका छन ।
दुवै पार्टी मध्य चौरजहारी, बाँफिकोट र त्रिवेणीमा एमाले बलियो देखिएको छ भने मुसिकोट, आठविसकोट र सानोभेरीमा भने एकीकृत समाजवादी बलियो देखिएको छ । बाँकी मतदाता को कतातिर बढी छन भनेर त्यति आँकलन गर्न सकिने अवस्था अहिले नै छैन । दुवै पार्टी संगठन निर्माणमा कस्सिएका छन् । अब आउने निर्वाचनमा वा हुनसक्ने चुनावी गठबन्धनले समेत यी दुवैको स्थान टुंगो लगाउने छ ।