Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
भूकम्प

चिसो रातमा किरियापुत्री र पीडितको त्रिपालमूनि बास

'राहत संकलन र वितरण तिब्र'
सोमबार, कात्तिक २०, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्पले जनधनको क्षति गरेपछि रुकुम पश्चिमका विभिन्न स्थानमा रहेका भूकम्प पीडित र प्रभावित परिवारहरुले घरबाहिरै दिनरात कटाउने गरेका छन् । 

पीडित र प्रभावित परिवारसँगै किरियापुत्रीले समेत चिसो रातमा त्रिपालमूनि रात बिताउन बाध्य भएका छन् । आईतबार दाहसंस्कार गरिएका ५२ जनाको अधिकांश परिवार त्रिपालमूनि नै रहेका छन् । अधिकांशका घर भत्किएको, बस्न नमिल्ने गरेर चर्किएको र फेरि भूकम्प आउने त्रासका कारण किरियापुत्रीसहितका प्रभावितहरु खुला चौरमा त्रिपाल टाँसेर बसेका हुन् । 

सबैभन्दा बढी प्रभावित क्षेत्र आठविसकोट नगरपालिका वडा नम्वर ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिका वडा नम्वर १ र ४ मा सयौ घर परिवार बारीमा त्रिपाल टाँसेर रात बिताउने गरेका छन् ।

399833327_3938953686338606_4780655875578311619_n1699242770.jpg

स्थानीय सरकार, विभिन्न संघ सस्था र राजनीतिक दल समेतले उपलब्ध गराएका त्रिपाल र केहि कम्बलको भरमा पीडितहरुले रात बिताएका छन् । जिल्लाको चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका समेतका सर्वसाधारणहरु त्रिपालमुनि रात बिताएका छन् । 

आठविसकोट नगरपालिका ११ का हरि पुनले आफ्नी सानीआमाको भूकम्पमा परेर मृत्यु भएको र सबै परिवार त्रिपालमूनी नै बसेको बताउनुभयो । चिसो रातमा पराल बिछ्याएर बस्न बाध्य भएको उहाँले जानकारी दिनुभयो । मृतकका परिवारहरु मात्र नभएर सयौ पीडित र प्रभावित परिवारहरु त्रिपालमूनी नै बसिरहेको उहाँले उल्लेख गर्नुभयो । 

राहत संकलन र वितरण तिब्र

यसैबिच जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्प पीडितहरुको लागि राहत संकलन र वितरणको कारण तिब्र रुपमा भईरहेको जनाएको छ । समितिको समन्वयमा स्थानीय सरकारले राहत वितरण सुरु गरेको हो । 

सोमबार बेलुकासम्म खोज, उद्धार र राहत संकलनको काममा सक्रिय भएका जिल्ला सुरक्षा समितिको टोली देखि स्थानीय सरकारका प्रमुखहरुले सोमबार देखि नै राहत वितरण सुरु गरेको जनाएका छन् । 

आठविसकोट नगरपालिका प्रमुख रबि केसीले वडा नम्वर १४ मा पुगेर राहत वितरण सुरु गरिएको जानकारी दिनुभयो । उहाँले उप प्रमुख धनकुमारी शाहीको नेतृत्वमा रहेको अर्को टिमले पनि वडा नम्वर ११ बाट राहत वितरण गरिरहेको उल्लेख गर्नुभयो । 

सानीभेरी गाउँपालिकाले पनि सोमबार बेलुकाबाटै राहत वितरण सुरु गरेको छ । गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले भूकम्पमा परेर रुकुमपश्चिममै ज्यान गुमाएका १० जना र जाजरकोटमा ज्यान गुमाएका सानीभेरी गाउँपालिकाका दुई जनाको आईतबार दाहसस्कार सकेर राहत वितरणमा खटिएको जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले एकद्धार प्रणाली मार्फत राहत वितरणको व्यवस्था मिलाईएको जानकारी दिनुभयो । उहाँले विभिन्न क्षेत्र र निकायबाट राहत सामाग्री प्राप्त भईरहेकोले केहि पीडितलाई आईतबार उपलब्ध गराईसकिएको र बाँकिलाई आज दिनभरमा उपलब्ध गराईसक्ने बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्