Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रकाशकीय : मूलपाटीको शुभारम्भ

tribeni2

आज घटस्थापनाको दिन । राक्षसी प्रवृतिबाट मानवलाई जोगाएकोले समस्त मानव जातिले नै शक्तिस्वरुपा दुर्गा देवीको पुजा आराधना गर्ने शास्त्रीय मान्यता रहेको छ । वैदिक विधिपूर्वक शक्तिकी देवी दुर्गाको पुजा आरम्भ हुने मौकामा हामीले ‘मूलपाटी डटकम’लाई आरम्भ गरेका छौ । नित्यकर्म सकेर चोखो ठाँउबाट ल्याएको बालुवा मिश्रित माटो, गाईको गोबरले लिपपोत गरेर पूजा कोठामा रोपिएको जौं अर्थात जमरा जस्तै गरी हामीले स्वतन्त्र, निश्पक्ष र तटस्थका साथ कलम चलाउने वा शब्द उतार्नेगरी ‘मूलपाटी’ ल्याएका छौ ।

कला, संस्कृति, सम्पति र सम्भावनाको क्षेत्रबाट मूलपाटी उदाएको छ । हाम्रो एउटा सपना छ, पुरा गर्ने पुरापुर सम्भावना छ । यहाँ सदृश्य स्वर्ग छ । यहाँका तालको गहिराई, हिमालको उचाई, जडिबुटिको भण्डार, कृषिको उर्वरता, संस्कृतिक विविधता, पर्यटन, जनयुद्धको जग आदि आदिको सामिप्यता मूलपाटीसँग गाँस्ने र पाठकहरुको मनमा टाँस्ने हाम्रो मनसाय छ ।

समाजको यथार्थ बताउँने, वास्तविकता ल्याउने, समस्या नियाल्ने, समाधान खोज्ने, प्रवृत्तिमाथि खरो टिप्पणी गर्ने, सन्तुलित विचार बोक्ने, भुईमान्छेको कथा लेख्ने, राजनीतिक गतिविधिको गहिरो विश्लेषण गर्ने, सुन्दर र शान्त समाज बनाउन शब्द कोर्ने, पर्यटकीय स्वर्गको सदृश्य वर्णन गर्ने, नयाँ र ताजा घटना विवरण सार्वजनिक गरेर तपाईं सँगसँगै सहयात्रा गर्ने मूलपाटी डटकम तपाईहरु माझमा छ । सन्तुलित विचार र हरेक घटनाक्रमको समाचार अपडेटका साथ तपाईहरुको माझमा हामी रहने छौं ।
संसारमा जति जति भूमण्डलीकरण झाङ्दिँदो छ, त्यति–त्यति आमसञ्चारका माध्यमको महत्व झनै बढेर गइरहेको छ । आमसञ्चारका माध्यम जिम्मेवार र न्यायपक्षधर भएमा यसबाट धेरै सकारात्मक परिणाम प्राप्त हुनसक्छ । सूचना प्रविधिको तीव्र विकासका कारण आम सञ्चार माध्यमको परिधि पनि दिन प्रतिदिन फैलँदै गएको छ । सूचनाको पहुँच सहज र छिटो छ । जनतालाई खास सूचना दिन हामी आएका छौं ।

कोरोना महामारीले विश्व बजार नै थला पारेको बेला, राजनीतिक उतारचढाव बढीरहेको बेला, संचार माध्यामप्रति जनताको विश्वास नरहेको तर आशा जिवितै रहेको बेला हामी विश्वास जित्ने कोशिसका साथ आएका छौ । समाजमा रहेको निम्नवर्ग र सीमान्तकृत समुदायका आवाज मुखरित गर्न कस्सिएका छौ ।

समाजका ज्वलन्त मुद्दाहरूमा आँखा चिम्लिरहेका मिडिया, संघीयताजस्ता जल्दाबल्दा विषयमा देखिएको नकारात्मक दृष्टिकोण चिर्न नसक्ने मिडिया, अनियमिततामाथि अनुसन्धानमूलक रिपोर्टिग गर्न तयार नरहेका मिडिया, धन र प्रलोभनको बलमा सत्यतथ्य नै बंग्याउन तयार मिडिया लगायतका आरोप लागिरहेको बेला मूलपाटी डटकम आएको छ । मिडियामा गरिब निमुखाका आवाज कमै सुनिन्छ । तिनका आवाज बोलेको हुँ भन्नेहरूका ढंग र पहुँच नपुगेको देखिन्छ । अलिकति प्रगतिशील र निष्पक्ष हुन खोज्ने सञ्चारमाध्यमको व्यवस्थापन निकै कमजोर रहने गरेको छ । न्याय र मानवीय हितमुखी आमसञ्चारका माध्यमको खडेरी भइरहेको बेला मूलपाटीले यात्रा शुभारम्भ गरेको छ ।

अनलाईन पत्रकारिताले मोफसल भन्ने मान्यतालाई करिब टुंग्याएको छ । त्यसैले हामीले कर्णाली रोज्यौ र कर्णालीको पनि रुकुमलाई इपिसेन्टर बनाएर 'मूलपाटी' सुरु गरेका छौ । 'मूलपाटी'का सामग्रीमा हामी नेपाली राजनीति, समाज, अर्थतन्त्र, संस्कृति र यसमा उत्पन्न हुने विकृतिमाथि कलम त चलाउने नै छौं, त्यसबाहेक यहाँका अन्य मुद्दालाई प्राथमिकतामा राख्न चुक्ने छैनौं ।

मूलबाटो मिडिया प्रा.लि.द्धारा सञ्चालित मूलपाटीलाई समाज र राष्ट्रले सादर ग्रहण गरोस्, हरेकको मानसिकतामा आफ्नो उपस्थितीको सुखद अनुभुति प्रदान सकियोस् भन्ने हाम्रो कामना हो । हामी सर्वसाधारणको सुख, दुःखको साथी बन्न प्रयास गर्छौ, जीवनका सबै रङ्गलाई समेट्न प्रयासरत रहने छौं । समानता, पहिचान र न्यायका लागि संघर्षरत वर्ग, जाति र जनजाति, क्षेत्र, महिला समुदाय आदिका मुद्दा हाम्रा प्राथमिकता हुनेछन् । हाम्रो यो यात्रामा यहाँहरुको साथ, सहयोग र सहकार्यका लागि अपेक्षा गरेका छौ ।
अन्तमा, यस पूनित पावन अवसरमा सबैको जय होस्, मंगल होस्, भातृत्व बढोस्, शान्ति छाओस् । बडा दशैको मंगलमय शुभकामना ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्