सोमबार दिउँसो आएको भूकम्पले रुकुम पश्चिममा सात जना घाईते

सोमबार, कात्तिक २०, २०८०

रुकुम पश्चिम । सोमबार दिउँसो आएको भूकम्पमा परेर रुकुम पश्चिममा सात जना घाईते भएका छन् । 

दिउँसो ४ः३४ बजे जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु आएको ५.८ रेक्टरस्केलको भूकम्पले जिल्लाको आठविसकोट नगरपालिकाका चार जना, चौरजहारी नगरपालिकाका दुई जना र सानीभेरी गाउँपालिकाका एक जना सात जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

आठविसकोट नगरपालिकाका प्रमुख नगर प्रमुख रबि केसीका अनुसार वडा नम्वर ११ का ३७ वर्षिय बिरबाहदुर बुढा, सोहि वडाका ३० वर्षिया सुवासना आग्री, वडा नम्वर १२ निवासी २२ वर्षिय सुरज बिक र सोहि वडाका ५ वर्षिया ज्ञानिल बिक घाईते हुनुभएको छ ।  घाईते चार जनाको उद्धार गरेर अहिले राडिबजारस्थित नगर अस्पतालमा उपचारको लागि भर्ना गरिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । 

त्यसैगरी भूकम्पमा परेर घाईते चौरजहारी नगरपालिका ४ का १५ वर्षिया लक्ष्मी नेपाली र वडा नम्वर ७ का ३१ वर्षिय उदयराज कामीको चौरजहारी अस्पतालमा उपचार भईरहेको छ ।  

सानीभेरी गाउँपालिका ४ आमलाटाकुरा गाउँका घाईते एक जनाको सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा उपचार भईरहेको स्थानीय डिल्ली परियारले जानकारी दिनुभयो । घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

यस अघि गत शुक्रबार जाजरकोटको रामिडाँडा नै भएर आएको ६.४ रेक्टरस्केलको भूकम्प आएको थियो ।  

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्