Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पबाट जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या १०१ जना कायम

मंगलबार, कात्तिक २१, २०८०
tribeni2

जाजरकोट। जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ । यसअघि जाजरकोटमा मात्र एक सय पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो । 

जाजरकोटको नलगाड नगरपालिकाका तीन जनाको ठेगाना फरक परेको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेकाले मृत्यु हुनेको सङ्ख्या घटेको जिल्ला प्रहरी प्रमुख सन्तोष रोकामगरले बताउनुभयो ।

यसअघि नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको तथ्याङ्क प्रहरीले दिएको थियो । अहिले नलगाडमा ५१ जनाको मृत्यु भएको सङ्ख्या यकिन भएको प्रमुख रोकामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रारम्भिक तथ्याङ्कअनुसार एक सय ५७ मृतक घोषणा गरेका थियौँ । तर अहिले सबैतिरबाट भेरिफाइ गरेपछि केही नाम र ठेगाना भएको मृतकहरू दोहोरिएकाले मृतक सङ्ख्या घटेको हो ।” 

प्रमुख रोकामगरका अनुसार नलगाड नगरपालिका–८ की सरिता सिंह, नलगाड–७ का रेगम सिंह, नलगाड–१२ की मीना बिष्टको नाम दोहोरिएको थियो । टेकबहादुर पुन व्यक्ति एउटा मात्र रहेका तर नाम दुई स्थानमा उल्लेख हुँदा सङ्ख्या दोहोरिएको थियो । जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । त्यसमध्ये २८ महिला र १४ पुरुष छन् । जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा सात र छेडागाड नगरपालिकामा एकजना गरी एक सय एकजनाको मृत्यु भएको हो ।

त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको सङ्ख्या जम्मा एक सय ५३ मात्र निश्चित भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्