Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प प्रभावित ठाउँमा सशस्त्र प्रहरीद्वारा अस्थायी बासस्थान निर्माण

बुधबार, कात्तिक २२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प प्रभावित स्थानहरुमा सशस्त्र प्रहरी बल नेपालले अस्थायी बसोबासस्थल निर्माण गरेको छ ।

भूकम्पको कारण प्रभावितहरु खुला चौरमा बसिरहेको गुनासो आईरहेको बेला जिल्लाका विभिन्न १० स्थानमा अस्थायी बासस्थान निर्माण गरिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल ४७ नम्वर गुल्मका प्रहरी नायब उपरिक्षक सुमन लामिछानेका अनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको १० स्थानमा अस्थायी बासस्थान तयार गरिएको हो । सशस्त्र प्रहरीले विपद् राहत सेवा अन्तर्गत प्राप्त सामाग्रीहरुबाट अस्थायी बासस्थान तयार पारेर प्रभावितहरुलाई हस्तान्तरण गरेको हो । 

सशस्त्र प्रहरी नायब उपरिक्षक लामिछानेका अनुसार आठविसकोट नगरपालिका वडा नम्वर ११ को धुर्सेनी, वडा नम्वर १२ को आरुबारे, वडा नम्वर १३ को घेत्मा र भल्माज्यूला र वडा नम्वर १४ को छेपारे र ज्यामिर टाकुरामा अस्थायी बासस्थान तयार गरिएको हो । त्यसैगरी सानीभेरी गाउँपालिका वडा नम्वर १ को चाईनाबगर, वडा नम्वर २ को गिठाकोट, वडा नम्वर ४ को गोल्चौर र वडा नम्वर ९ को सिम्लीमा अस्थायी बासस्थान बनाईएको छ । 

तयार गरिएको एक वटा अस्थायी बासस्थानमा कम्तिमा १० जना देखि २० जनासम्म सुत्न मिल्ने रहेको छ । यसका साथै सशस्त्र प्रहरीले अस्थायी बासस्थानमा सुत्ने खाट, बाल्टिन, जग, पानी पिउने बोतल, डस्टबिन, कटौरा, गिलास, टाबेल, थाली, चम्चा, लगायत नित्य कर्मका अन्य सामाग्रीहरु व्यवस्था गरिदिएको जनाएको छ । 

सशस्त्र प्रहरीले विपद्को बेलामा प्रभावित स्थानमा आएर पीडितको घाउमा मल्हमपट्टि लगाउने काम गरेको सानीभेरी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष मनोज कुमार बुढाथोकीले बताउनुभयो । यस कार्यले प्रत्यक्ष पीडित र प्रभावित बनेकाहरु केहि सुरक्षित भएको महशुस गरेको उहाँले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्