सोसल मिडिया
गत शुक्रबार राती जाजरकोटमा आएको भूकम्पले निम्त्याएको विपद्ले ठुलो मात्रामा मानविय र भौतिक क्षति गरेको छ । सुरक्षा निकाय, जनप्रतिनिधि र स्थानीयको सक्रिय भूमिकाले खोज, उद्धार र उपचारको काम समयमै पुरा भएको छ ।
भौगोलिक रुपले विकट अति प्रभावित क्षेत्र आठविसकोटमा भूकम्प लगत्तै पुगेको नेपाली सेनाले खोज, उद्धार र उचारको लागि खेलेको भूमिका र समन्वय उत्कृष्ट रहेको पाईएको छ ।
जिल्लास्थित नेपाली सेनाको चण्डिदल गणबाट उपसेनानी (लेफ्टिनेन्ट) दुर्गा केसीको कमाण्डमा भूकम्पपश्चात फिल्ड पुगेको थियो । लेफ्टिनेन्ट केसीले घाईते बच्चा र महिलालाई बोकर उद्धार गरेको फोटोले चर्चा पाईरहेको बेला केसीको उद्धार अनूभुति यहाँ प्रस्तुत गरेका छौ ।
भूकम्पले झसङग भए, ज्यान सिरिङग बनायो । निन्द्रा उडिहाल्यो । गण र मातहतका पोष्टहरु (बोरागाउँ र खारा)मा केहि क्षति भयो कि बुझ्न भने । जिल्लाका स्थानीयवासी, जनप्रतिनिधिहरु र प्रहरी समेतसँग क्षतिकाे बारेमा बुझ्न थाल्यौ ।
अकस्मात राती नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आह्वान भयो । ठुलै क्षति भएको अनुमान बढ्दै गयो । आठविसकोटमा बढी क्षति भएको रिपोर्ट आयो । एक त भूकम्पले आफै ‘सक’ भएको थिए, अब जनताको अवस्था सोच्नुपर्ने भयो । टोलीलाई तयारी अवस्थामा राखे । मुभ हुने आदेश आयो । राति १ बजे ३४ सैनिक लिएर म निस्के ।
बाटो भासिएर, ढुंगा खसेर, रुख ढलेर ठाउँ ठाउँमा अवरुद्ध भएको थियो । दर्जनौ स्थानमा बाटो अवरुद्ध थियो । पन्छाउँदै अगाडि बढ्यौ । आठविसकोटको वडा नम्वर १४ छेपारे पुग्न धेरै बाँकि थिएन । रिम्ना पुल पुग्ने बेला भने ठुलो पहिरो आएको रैछ । त्यो देख्दा अब त सकिन्न कि लागेको थियो ।
गाडिमा भन्दा पैदल जानुपर्छ कि भन्ने सोच आयो । फेरि प्रभावित अन्य स्थानमा जानुपर्ने सोचेर पहिरो पन्छाउन लाग्यौ । ठुलाठुला रुख, पत्थर, त्यससँगै बिजुलीको पोल समेत ढलेका थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेतको एकिकृत बलले त्यो पहिरो हटायौ ।
पहिरो हटाउँदै गर्दा मनमा अनेकथरी कुरा खेल्न थाले । अलि चाँडै जान पाए केहि मान्छेलाई उद्धार गर्न सकिन्थ्यो कि, कसैको ज्यान बचाउन सकिन्थ्यो कि भन्ने भईरहेको थियो । तर सडकको ठुलोठुलो अवरोधले हामीलाई लक्ष्यमा जान रोकिरहेको थियो । अनेक मेहनत गरेर बाटो खोल्न सफल भयौ । अनि सबै सुरक्षा फोर्स उद्धारको लागि अगाडि बढ्यौ ।
छेपारे गाउँपुग्दा सग्लो घर थिएनन् । सबैघर मकै ढलेजसरी ढलेका थिए । सबै मान्छेहरु बाटोमै जम्मा हुनुभएको थियो । सडक छेउमा शवहरु थिए । मन झन् खिन्न भयो । हामी नजिक भाको भए वा बाटो अवरुद्ध नभएर अलि पहिला पुगेको भए बचाउन सक्थ्यौ होला भन्ने मनमा लाग्यो । त्यहाँ सबैको उद्धार भईसकेपछि हामी अगाडि बढ्यौ । सुरुमा भौतिक क्षति भन्दा पनि मानविय क्षति नहोस्, जोगाउन सकियोस भन्ने थियो हामीलाई ।
पिपलचौर पुग्यौ । त्यो ईलाकामा मेरा एक टिमले घाईतेहरु र मृतकका शवलाई घरभित्रबाट निकाल्दै अस्पताल पठाउन थाल्यो । त्यसपछि ज्यामिरकोट तिर टोली पठाएर म भने नगरपालिकाको केन्द्र राडि तर्फ अगाडि भए । त्यहाँ नगर अस्पताल थियो ।
अस्पताल पुगेर तुरुन्त घाईतेहरुको अवस्था बुझे । अलि बढी सिकिस्त घाईतेहरुलाई थप रेस्क्यु गर्नको लागि माथि रिपोर्ट गरे । केहिबेरमा उद्धारको लागि हेलिकप्टर आउने भयो । हेलि मार्क गरे र समन्वय गरे ।
सेनाको मेडिकल टिमले पनि घाईतेहरुको उपचार सुरु गरिसकेको थियो । घाईतेहरु धेरै भएपछि ल्याउने–लिने स्टेचरको समेत अभाव भईरहेको थियो । तत्काल समन्वय गरेर तीन जनालाई हेलिमार्फत उद्धार गरेर सुरुमा तीनजनालाई सुर्खेत पठाइयो । फेरि अरु नि सिकिस्त छन् कि भनेर डाक्टरसँग समन्वय गरे । दुई जनाको लागि फेरि हेलि मगाए । अस्पतालबाट हेलिप्याडसम्म लैजाने स्टेचर भएन । दुईजनालाई हेलिसम्म लैजानुपर्ने । एक स्टेचर मात्र थियो ।
मर्ने मरीसके, घाईतेलाई बचाउन सकिन्छ कि भन्ने लागेको थियो । घाईतेहरुलाई थप केहि नहोस्, छिटो अस्पताल पठाउन सकियोस् भन्ने थियो । एउटा बच्चा असाध्यै छटपटाईरहेको थियो । अवस्था झन् गम्भिर बन्दै थियो ।
छिटो पठाउन सकियो भने बच्चाको ज्यान बच्ला भन्ने मेरा सोच । मैले अरु केहि नसोचेर बच्चालाई बोके र हेलिसम्म दौडिए । सुर्खेत पठाए । महिलाहरुलाई बोकेर, डोहोर्याएर अस्पताल लिए ।
वडा नम्वर १४ मा बढी मानविय क्षति भएको खबर आयो । नगर अस्पतालबाट फेरि फेरि त्यतातर्फ लाग्यौ । सानो गाडि थिएनन्, ट्रक नै लिएर गए । मनमा बेचैनी, हतास बोकेर फेरि पिपलचौर पुगिम् । दुई बच्चाको शव घरबाट निकाल्न बाँकि रहेकोले हाम्रो टिमले शव बोकेर सडकसम्म ल्यायो र प्रहरीलाई बुझायो । थप घाईतेहरुलाई हाम्रो मेडिकल टिमले प्राथमिक उपचार गरेर अस्पताल पठायो ।
दिउँसोको २ बज्न लागेको थियो । मेरो टिम फिल्डमा खटिएको १२ घण्टा बढी भईसकको थियो । यतिबेलासम्म मेरो टिमले केहि पनि खाएको थिएन । उद्धारको कामले खानातिर कुनै सोच आएको थिएन । भोकभोकै उद्धारमा लागिरह्यौ ।
हामी पुगिसकेपछि पनि उद्धार हुन नपाएर एक जना पनि तलमाथि नहोस् भन्ने मेरो योजना थियो, प्रार्थना थियो । त्यो सफल भए । हाम्रो टिम नगरका विभिन्न प्रभावित स्थानमा पुगेर उद्धार गर्न सफल भयो । केहिबेरमा मैले बिस्कुट र पानीको जोहो गरेर टिमलाई खुवाए । अझै खोज, उद्धार गर्नु थियो, मेरा टिम नै ठिक भएन भने उद्धार कसरी गर्न सकिएला भन्ने पनि थियो ।
उद्धार कार्य भईरहेको थियो । प्रधानमन्त्री आउने कुरा भयो । मैले हेलिको समन्वय गरे । प्रधानमन्त्री आएर घाईतेहरुलाई भेटेपछि फेरि एक जनालाई उहाँसँगै हेलिमा पठायौ । हाम्रो मेडिकल टिम र नगर अस्पतालको टिमले निकै नै मेहेनतका साथ सेवा गर्यो ।
अब अवस्था अलि शान्त हुँदै आयो । मैले नगर प्रमुख, वडा अध्यक्षहरुसँग समन्वय गरे । उद्धारमा जानुपर्ने, उपचारको लागि ल्याउनुपर्ने कोई हुनुहुन्छ कि भनेर । त्यसपछि मानविय खोज र उद्धारको काम सकियो, बेलुका ६ बजेसम्म । खोज उद्धार सकेर हामी पनि गणमा आउनुपर्ने भयो । छरिएर रहेको टिमलाई एकिकृत गरेर फिर्ता भयौ । त्यसदिन हामीले करिब १०२ जना घाईतेको उद्धार र १३ जनाको शव खोजेर अस्पताल लिन सफल भयौ । फेरि अर्को दिन हामी भौतिक क्षति भएका घरहरुको उद्धारको लागि गयौ । मेरो टिमले सबैभन्दा बढी क्षति भएको आठविसकोट नगरपालिकाको वडा नम्वर ११, १२, १३ र १४ का घर पुगेर राशन, कपडाहरु निकालेर उद्धारलाई अझ प्रभावकारी बनाउन लागिपर्यो ।
चुनौतिहरु उद्धारको बेला आईरहन्छन् । हामीले सबै खालका चुनौतिहरु सामना गर्दै अगाडि बढ्यौ । हामी देश र जनताको सेवाको लागि सधै समर्पित हुने कसम खाएर आएका हामीले विपद्को बेला जनताको सेवा गर्न तल्लित रह्यौ । महिलालाई महिलाले उद्धार गर्दा अलि सहज होला भन्ने सोचले म आफै महिला र बालबालिकालाई प्राथमिकतामा राखेर उद्धारमा लागेकी हुँ ।