Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
भूकम्प कहर

विदेश जाने भिसा आएन, भूकम्पले बाबुछोरा नै अस्ताए

शुक्रबार, कात्तिक २४, २०८०
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –४ चाख्लिमेलामा घडेरी बनाउने काममा बुवासँगै जानुभएका २७ वर्षिय पूर्ण प्रकाश ओलीलाई छोरा प्रणवले तारन्तार फोन गरेर बाबा छिटो आउनु भनिरहे । बुवा मुगे ओलीलाई त्यहि छोडेर जाजरकोटको भेरि नगरपालिका –१ रिम्ना बजार आउनुभएका पूर्ण त्यहि रात (गत शुक्रबार) छोरा प्रणवसँगै अस्ताउनुभयो । 

‘घडेरी खन्न गएका बुवालाई छोराले बाबा सुन्तला ल्याएर आउनु है भन्दै घरीघरी फोन गरिरहेको थियो,‘ मृतक पूर्णकी श्रीमती मायाले भन्नुभयो, ‘बुवासँगै संसार छोड्नलाई रैछ, मेरो त अब संसार उजाडियो ।’

रिम्ना बजारमा व्यवसाय गर्दै आउनुभएका ओलीको २६ वर्षिया श्रीमती माया घर्ती ओली, पाँच बर्षिया छोरा प्रणव, एक बर्ष नपुगेकी सानी छोरीको साथमा बस्दै आउनुभएको थियो । कहिलेकाँहि सानीभेरी गाउँपालिका –४ बाट बुवाआमा पनि आएर बस्नुहुन्थ्यो । 

मायाका अनुसार ससुरा वुवा त्यसदिन चाख्लिमेलामै बस्नुभयो । यता सासुआमा, म, छोरा र सानी मात्रै थियौ । उहाँ आएपछि खाना खाएर सासुआमा एउटा कोठामा सुत्नुभयो, हामी अर्को कोठामा सुत्यौ । राती एक्कासी घर उचाल्ने गरेर भूकम्प आयो ।

काखमा सुतेकी छोरीलाई च्यापेर म हुत्तिएर घर बाहिर निस्किए । आधा शरिर च्यापिएकी छोरीलाई जबरजस्ति तानेर म बाहिर निस्किएकी हुँ । मेरो श्रीमान् र छोरा पनि निस्किए होलान् लागेको थियो । तर, सुतेको ठाउँबाट हलचल गर्न नपाई संसार त्याग्नुभएछ । 

बाहिरको कोलाहल, अध्यारो अनि घर भत्किएको धुँलोले केहि ठम्याउन सक्ने अवस्था थिए । म बाटोमा बिचेत अवस्थामा छोरी च्यापेर बसेकी थिए । नेपाल प्रहरीको टोली आईपुग्यो । बाबुछोरालाई एउटै बिस्तरामा मृत अवस्थामा भेटायो । सासुआमालाई भने करिब डेढ घण्टापछि जीवितै उद्धार गर्यो । उहाँ पनि बाँच्न सफल हुनुभयो । 

पूर्णले रिम्ना बजारमा फोटो स्टुडियो र होटेल समेत सञ्चालन गर्नुभएको थियो ।  सबैतिर विदेश जाने लहर चलिरहेको बेला उहाँले पनि खाडिमुलक जानलाई दलाललाई पासपोर्ट बुझाउनु भएको थियो । मायाले आँशु खसाल्दै भन्नुभयो, “मलेसिया जाने भिसा लगाउनुभएको थियो, भिसा भन्दा पहिलो यो भूकम्प काल बनेर आयो ।” 

बैदेशिक रोजगारीमा जानलाई उहाँले सुरुमा एउटा दलाललाई पचास हजार रुपियाँ दिनुभएको थियो । त्यसले न बिदेश पठायो, न त पैसा फिर्ता दियो । ऋण गरेर निकालेरको त्यो पैसाको ब्याज तिरिरहेको मायाले सुनाउनुभयो । 

भूकम्पले श्रीमान् र छोरासँगै बर्षौ व्यापार गरेर बनाउन सकेको घर ढलाएको छ  । घरसँगै दुबै पसल ध्वस्त भएका छन् ।

त्रिपालमूनी एक बर्षे छोरीको साथमा बसिरहेकी मायालाई अब त्यहि छोरीको भविष्यको चिन्ता छ । उहाँले भन्नुभयो, “बरु सरकारले शितपनि नरोक्ने यस्तो त्रिपाल नदेओस्, मेरो छोरीको भविष्य हेरिदेओस् । दुई दिन भोकै बसुँला तर अब मेरो यहि साहारा गुमाउन नपरोस् ।”

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०६:०७
प्रतिक्रिया दिनुहोस्