Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राहतमा भेदभाव नगर्न राज्य व्यवस्था तथा सुशासन समितिकाे निर्देशन

शुक्रबार, कात्तिक २४, २०८०
tribeni2

रुकुम पश्चिम । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भूकम्पबाट प्रभावितहरुलाई भेदभावरहित तरिकाले राहत वितरण गर्न निर्देशन दिनुभएको छ । 

बिहिबार भूकम्प प्रभावितहरुको अवस्था बुझ्न रुकुमपश्चिम आउनुभएका सभापति खतिवडाले कसैलाई काखा र कसैलाई पाखा नगरेर राहत उपलब्ध गराउनुपर्ने बताउनुभयो । विपद्को सामना गर्न सिंगो राज्य एक भएर लागेको बताउनुहुँदै उहाँले सरकार जनताको साथमा छ भने देखाउन कुनैपनि कञ्जुस्याई नगर्न निर्देशन गर्नुभयो । 

जिल्ला प्रशासन कार्यालयमा भएको भूकम्प पीडितहरुको राहत, पुनस्र्थापना एवम् प्रभावित क्षेत्रको पुनर्निमाणका बिषयमा भएको छलफल कार्यक्रममा सभापति खतिवडाले त्रिपाल र टेन्टमूनि बसिरहेकाहरुको लागि अस्थायी आवासको व्यवस्था गर्न जरुरी रहेको जनाउनुभयो । बिद्यालय भवन, स्वास्थ्य संस्था तथा खानेपानीका आयोजनाहरुमा पुगेको क्षतिको यथार्थ विवरण संकलन गर्न समेत उहाँले निर्देशन गर्नुभयो । 

चिसोको कारण प्रभावितहरुको स्वास्थ्य अवस्था बिग्रनसक्ने तर्फ सचेत गराउनुहूुँदै उहाँले सम्बन्धित निकायसँगको प्रभावकारी समन्वयमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो । 

बैठकमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्लामा भएको मानविय क्षति र भौतिक क्षतिको अवस्थाबारेमा जानकारी गराउनुभएको थियो । खोज, उद्धार र उपचारको काममा सक्रियतापछि राहत वितरणको काम भईरहेको जानकारी दिनुहुँदै प्रजिअ पन्तले एकद्वार प्रणाली मार्फत राहत वितरण भईरहेको र राहतको अभाव कायमै रहेको बताउनुभयो ।

जिल्लामा प्राप्त राहतको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा अभिलेखिकरण गरेर स्थानीय तह मार्फत राहत वितरण भईरहेको उहाँले जानकारी दिनुभयो ।

भूकम्पको कारण रुकुमपश्चिममा मात्र ५२ जनाको मृत्यु भएको थियो । १६ हजार ५७० घर पूर्ण क्षति र एक हजार ९६१ घर आंशिक क्षति भएको प्रारम्भिक तथ्याङक जिल्ला विपद् व्यवस्थापन समितिमा रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०६:२२
प्रतिक्रिया दिनुहोस्