Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मृतकका परिवारलाई दुई लाखकाे दरले राहत वितरण सुरु

शुक्रबार, कात्तिक २४, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्पको कारण मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले राहत रकम वितरण गर्न थालेको छ । प्रशासनले मृतकको घरमै गएर मृतकका परिवारलाई दुई लाखको दरले राहत दिन थालेको हो । 

शुक्रबार देखि मृतकका नजिकका कानूनी हकवालालाई राहत रकम वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् पीडित उद्धार राहत सम्बन्धि मापदण्ड, २०७७ अनुसार जनहि दुई लाख रुपियाँको दरले राहत वितरण गरिएको छ ।

एकाघरका एक भन्दा बढीको मृत्यु भएको हकमा भने एक जनालाई दुई लाख र अन्य मृतकहरुलाई संख्याको आधारमा एकएक लाख गरेर उपलब्ध गराईएको हो । पहिलो दिन १६ जना मृतकका नौ परिवारलाई २५ लाख रुपियाँ राहत उपलब्ध गराईएको छ ।

सानीभेरी गाउँपालिका भित्रका १० जना मृतक र आठविसकोट नगरपालिकाका १४ छेपारे गाउँका छ जना मृतकका आफन्तजनलाई राहत वितरण गरिएको प्रजिअ पन्तले बताउनुभयो । पहिलो दिन २५ लाख रुपियाँ राहत रकम बाँडिएको हो । 

सरकारले गरेको निर्णयका आधारमा उक्त राहत उपलब्ध गराईएको हो । परिवारका सदस्य तथा घरवास समेत गुमाएको अवस्थामा मृतकका परिवारलाई केहि सहज बनाउन घरमै गएर राहत दिईएको प्रमुख जिल्ला अधिकारी पन्तले उल्लेख गर्नुभयो ।

जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले मृतक परिवालाई राहत उपलब्ध गराएको हो । भोली नै अन्य मृतकका परिवारलाई राहत उपलब्ध गराईसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राहत रकमसँगै मृतकका परिवारलाई न्यानो कपडा समेत वितरण गरिएको छ । 

सानीभेरी गाउँपालिकामा भएको राहत वितरण कार्यमा पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, पूर्व प्रदेश मन्त्री गोपाल शर्मा, गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट, उपाध्यक्ष कमला रोका लगायतको उपस्थिति रहेको थियो भने आठविसकोट क्षेत्रमा गरिएको राहत वितरणमा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, नगर प्रमुख रबि केसी सहितको उपस्थिति रहेको थियो । 

यसका साथै चण्डीदल गणका गणपती शरद थापा, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, अनुसन्धान अधिकृत होमराज रेग्मी लगायतको उपस्थिति रहेको थियो । 

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको थियो भने शुक्रबार उपचारको क्रममा थप एक जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिकामा कार्यरत नगर प्रहरी जवान निरोज बिष्टको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । यससँगै भूकम्पको कारण रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ५३ पुगेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्