सपनाको देश पुगेका परदेशीलाई पत्र 

शनिबार, कात्तिक २५, २०८०

प्रिय परदेशी !

बधाई छ तिमीलाई, तिम्रो सपनाको देश पुगेकोमा । लाग्छ, अब तिम्रा कुनैपनि आवश्यकता, ईच्छा, चाहनाहरु अधुरा रहने छैनन् । तिमीलाई अब कुनै समस्याले सताउने छैन । 

न यो शहरको धुलोले छुने छ, न त गाउँको चुहिने खरको घरको समस्याले सताउने छ । किनकी तिमी सपनाको देश पुगिसक्यौ । अब त तिमीले चिल्ला सडकमा टेक्यौ, अनि भेट्यौ सुविधा सम्पन्न महलहरु । कस्तो छ हँ ? सुविधासम्पन्न देशको बसाई ? 

हाम्रो देशमा, यो विकट भनिने गाउँमा स–परिवार बसेर खोले सिस्नु खानु जत्तिको स्वादिलो हुन्छ त्यति नै मिठो स्वाद आउँछन्, त्यहाँका मिठा मानिने परिकारहरुमा ? मैले यत्ति सोध्दा तिमीले नराम्रो महशुस गरेर दुःखी नबन्नु है । किनकी मलाई जान्न मन छ । 

हाम्रो देशको एक विकट गाउँबाट केहि गर्छु, केहि बन्छु भनेर सुविधा खोज्दै शहर पसेको म । गाउँको मायाले फेरि यो शहर टिक्न नसकेको मान्छे । अझ भनम् तन शहरमा, मन गाउँमा बसेको मान्छे । देशै छोड्ने आँट मनमा कसरी ल्याउन सकिन्छ ? सिकाईदेउ न मलाई पनि । 

थाह छ, तिमी प्रदेशिनु रहर पक्कै हैन बाध्यता हो । देशमा गरिबी छ, अभाव छ । यो अभाव, यो बाध्यताले कसरी मन एकोहोरो बनाउँछ । मैले त सकेकै छैन यति ठुलो आँट गर्न । 

मेरो घर जुन गाउँमा थियो झुपडी, अहिले पनि उस्तै छ । बर्षातमा पानी पर्दा भाँडा थापेर टार्ने अनि फेरि हिउँदमा त्यहि छाना फेर्नलाई खर काटेर जम्मा गर्ने । कतै निस्कनु पर्यो भने खोजी रित्तो हुन्छ । फेरि अलिकती सापटी लिएर समस्या टारिन्छ । 

कहिलेकाँहि गाउँभन्दा अलि टाढा गएको बेला मलाई त सपनामा पनि आफू जन्मेको गाउँको पाखापखेरा, पानी भर्न जाने कुवासम्म पुग्ने सेताम्मे बाटोले पछ्याउछ । अनि बिपनामा आँखा खोल्दा एकएक गरी ती चित्र आँखाभरी आउँछन् । फेरि मन भारी हुन्छ । मनमा प्रश्नवाचक चिन्ह आउँछ, कसरी सक्छन् एक ठाउँबाट अर्को ठाउँमा बसाईसरी जानेहरु ? 

पुर्खौदेखिको यादहरु जोडिएका घर, जन्मीहुर्की खेलेका आँगनहरु, बाल्यकालका अविष्मरणीय पलहरु बिताएका गाउँघरलाई चटक्कै छोड्न कसरी सक्छन् मान्छेहरु ? 

यहाँ त प्रदेशी अनि बसाईसरी जानेका मात्र कुरा त के गर्नु । स्वदेशमै रहेकाहरु पनि चाडपर्वमा मात्र घर जान्छन्, त्यहि पनि थोरै मात्रामा  । 

आजभोली त गाउँघरमा मौसम अनुसारको फूल पनि फुल्न छोडे । किनकी घरमा भएकी बहिनीले भएका आफ्ना दाजुभाई प्रदेशमै हराउँदा मखमली, सयपत्री फूलहरु आँगनमा रोप्न छोडिन् । अनि बुढी आमाले दशैमा छोराछोरी गाउँघर फर्कन्छन् भन्ने आश मानेर जमरा छर्न छोडिन् । 

सधै झै चाडपर्वमा लाग्ने मेलाहरु अघिल्लो पिँढीहरु हराएसँगै हराउन थाले । पछिल्लो युवाहरुलाई प्रदेशले तान्यो, गाउँघर शुन्य छ । युवाहरु खेल खेल्ने मैदानमा पनि कोहि छैनन् ।  साना बालबालिकाहरु सकिनसकी भलिबल उचाल्न सिक्दैछन् । 

तिमीले हो हो माले गर्दै जोतेका खेतका गराहरु बाँझो हुँदै गएका छन् । कतै कतै बुढा बाहरु सकिनसकी खेतमा हलो लतार्दैछन् । घरघरमा बुढा बाआमा र बाचबच्चाहरु मात्र छन् । गाउँमा कुनै नयाँ मान्छे आएर सोध्दा बच्चाहरुले भित्ताको फोटो हेर्दै बाबा, आमा, दाई दिदि भनेर चिनाउँछन् । अनि बुढा बाआमाहरुले छोरा, छोरी, बुहारी, नातिनी भनेर चिनाउँछन् । कोहि अमेरिका, कोहि जापान, कोहि अष्ट्रेलिया अनि खाडि मुलुकहरुको नाम लिन्छन् । 

केहि बर्ष अघि सानो घर ठुलो बनाउँछु भनेर प्रदेशिएका पल्ला घरे ठुला दाईले पनि सानो घर माया मारेर सुविधायुक्त शहरतिरै घर सारे । फर्किएर गाउँमा आएनन् । 

अनि घर परको कान्छो दाई पनि चुहिने छानो फेर्छु भनेर खाडिमुलुक हिडेका आजसम्म अत्तोपत्तो छैन । खै कहाँ हराए । चुहिने छानो भत्किएर गयो । कतैकतै त लिपपोत गरिएका भित्ताहरु भत्किन थालेका छन् । घरका अध्यारो कोठा भित्रबाट अशक्त बुढा बाआमा खोक्दै गरेको आवाज मात्र निस्कन्छ । यतिसम्म देख्दादेख्दै म कसरी आँट गर्न सक्छु, आफ्नो सम्पन्नताको लागि देशै छोड्न ?

अन्तिममा तिमीलाई फेरि प्रश्न गरे, तिमी साँच्चै खुशि छौ ? बुढा बाआमालाई तातोपानी खुवाउने बेला, बुढा बा खेतमा लरखराउँदा सहारा बन्ने बेला, ती अवोध बालबच्चाहरुले गर्ने हरेक सवालको जवाफ दिने बेला, छोराछोरीले आमाको काख, बाबाको काँध खोज्ने बेलामा प्रदेशी बनेर आफ्नो घरबाट एक्लिएका तिमी के साँचै खुशि छौ त्यहाँ ? तस्बिरमा अनि भिडियो कलमा छोराछोरी, बाबाआमा, श्रीमान् श्रीमती जस्ता अनेकौ सम्बन्धको अभाव मेटाउन कसरी सक्छौ तिमी ?

अनि तिमीलाई सम्झना छ ? घर परको भिरको बाटोमा तल्लाघरे काकी लड्दा तिमी हामी सबै मिलेर राम्रो बाटो बनाउनपर्छ भनेका थियौ नि । खै त तिमी गएदेखि फर्केर त्यो बाटो हेरेको ? 

स्थानीय सरकार आएदेखि गाउँमा अलिकति भएपनि केहि विकास भएको छ । गाउँमा स–साना यातायातका साधन चल्ने बाटो पुगेको छ । तर ढुक्क छैन, ती बाटोहरुमा यात्रा गर्दा गन्तव्यमा पुगिन्छ कि पुगिदैन भन्ने । मनका खुबै डर रहन्छ, साँघुरो, उकालो अटेसमटेस यात्रा गर्दा । यात्रामा आफ्नो पैतलालाई आराम दिन खोज्दा पुरै जीन्दगीले नै आराम लिने हो कि भन्ने लाग्छ । 

ओ प्रदेशी, तिमीलाई अन्तिममा एउटा कुरा भनूँ ? यो जवानी र प्यारको स्पर्श भुलेर परदेशमै रहन्छौ ? कि बेला घर्किएपछि, उमेर ढल्किएपछि जीन्दगीमा हराएको रंग खोज्दैमा भौतारिने मन छ र ? बाँकि तिम्रो पलपल सुख र खुशिको कामना गर्छु । 
उही, तिम्रो साथी !

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्