सन्दर्भ : आरोग्य दिवस

द्वन्द्वबाट उपलब्धि नभेटेपछि देवता र दैत्यहरु मन्थन गर्ने निश्कर्षमा पुगे !

शनिबार, कात्तिक २५, २०८०
  • बिष्णुहरि आचार्य

मानव सभ्यताको अध्ययन गर्दा पृथ्वीको सृष्टिपछि यस लोकमा विभिन्न  किसिमका जीवजन्तु, सजिव प्राणीका साथै मानव जातिको विकास भएको पाइन्छ। त्यो समयमा पृथ्वीमा धेरै भाग पानी र समुन्द्र सतहले ओगटेको थियो। 

इतिहासको अध्ययन गर्दा मानव जातिको क्रमागत विकाससँग दुई किसिमको संस्कृति जोडिएको थियो। जसमध्ये एउटा देवता र ऋषि संस्कृति थियो भने अर्को दैत्य र राक्षसहरुको। देवता र ऋषि संस्कृति तथा दैत्य र राक्षस प्रवृत्ति बिच बेला बेलामा द्वन्द्व र लडाइँहरु चलिरहन्थे। 

पटक पटकका द्वन्द्वहरुबाट कुनै पनि उपलब्धि नभेटिने देखेपछि दुबै पक्षबीच समुद्र मन्थन गर्ने  निष्कर्ष निस्कियो। समुन्द्र मन्थनको साझा प्रयास पछि ऋषिहरु र दैत्यहरु समुन्द्र मन्थनमा सहभागी भए। समुन्द्र मन्थनको क्रममा धन्वन्तरि नाम गरेका ऋषि दुबै हातमा अमृत कलश लिएर प्रकट भए। जुन कलशमा चार वटा भुजाहरु थिए। 

चार भुजा मध्य माथिल्लो दुई भुजामा शंख र चक्र थिए भने अन्य दुई भुजामा एउटामा जलौका (जुका) र अर्कोमा अमृत जल सहित विभिन्न किसिमका औषधिय बनष्पती जडिबुटी, रस, रसायनहरु थिए । यसरी समुन्द्र मन्थन गरेर विभिन्न अनुसन्धानहरु पत्ता लागेको दिन कार्तिक कृष्ण पक्ष त्रयोदशि अर्थात काग तिहारको दिन थियो। जुन विशेष दिनलाई धन्तेरस वा धन्वन्तरि जयन्ती भनेर मनाइन्छ त्यसैले ऋषि धन्वन्तरिलाइ आयुर्वेदका प्रवर्तक वा जन्मदाता पनि भनिन्छ।

त्यसपछिको समय ऋषि धन्वन्तरिले पृथ्वीमा भएका विभिन्न किसिमका बनस्पति, जडिबुटी, रस, रसायनको अध्ययन गर्दै तिनमा भएका राम्रा नराम्रा गुण एवं औषधिय विशेषता पत्ता लगाइ त्यो ज्ञान अन्य ऋषिहरु हुदै आम नागरिक सम्म ल्याउने काम गरे। जसले रोगि ब्यक्तिहरुको रोग न्युनिकरण गर्न र निरोगी ब्यक्तिहरुको स्वास्थ्यलाई चुस्त दुरुस्त राख्ने चिकित्सकीय सचेतता अभियानको संदेश प्रवाह गर्यो।

त्यसैले उक्त दिनलाई आरोग्य दिवस पनि भनिन्छ। आयुर्वेदको इतिहासलाई अध्ययन गर्दा विभिन्न ग्रन्थमा आयुर्वेद सम्बन्धि आलेखहरु उपलब्ध भएको उल्लेख गरिएता पनि आयुर्वेद बिज्ञानको भरपर्दो र बैज्ञानिक ग्रन्थ धन्वन्तरि संहिता नै भएको प्रष्ट हुन्छ । आयुर्वेद विज्ञानका अन्य अनुसन्धानकर्ता चरक, सुश्रुत आदि ऋषिहरुले पनि आयुर्वेद ज्ञान धन्वतरिद्वारा नै प्राप्त गरेको विभिन्न अध्यनहरुले पुष्टि गरेको पाइन्छ। 

धन्वन्तरिको समय इसा पुर्व ७ हजार  बर्ष पहिला भएको थियो। उनि काँशिका राजा धन्वका पुत्र थिए। उनले शल्य (चिरफार) मा समेत महत्वपूर्ण अध्ययन गरेका थिए। धन्वन्तरिका नाति दिबोदास धन्वन्तरिले त्यसलाई  परिमार्जन गरि अहिलेको  शल्य (सर्जरी) चिकित्साको विकास गरेका थिए। त्यसैले सर्जरी उपचारको पहिलो ज्ञाताको अभिभारा समेत धन्वन्तरि ऋषिलाई जाने गर्छ। 

वर्तमान समयमा आमनागरिक हामी सबै कुनै न कुनै रोग ब्याधि र मनोत्रासजन्य मानसिक कारणले अस्वस्थ हुने क्रम दिन प्रतिदिन  बढ्दै छ। कुनै पनि एउटा चिकित्सापद्धति आमनागरिकमा देखिने फरक फरक किसिमका स्वास्थ्य समस्याहरु ब्यबस्थापन गर्न अपुरो भएको हामी सबैले महशु गरेको बिषय हो।

त्यसैले विभिन्न कालखाण्डमा विभिन्न अनुसन्धानकर्ताहरुले अनुसन्धान गरेका चिकित्सा बिधाहरुलाई समय सापेक्ष बनाउदै अघि बढ्न सकेमा रोग न्युनिकरण र नागरिक स्वास्थ प्रवर्द्धनमा टेवा थपिने छ। जय धन्वन्तरि जय आरोग्य दिवस।

 (लेखक आचार्य, जिल्ला आयुर्वेद रुकुम पुर्वका कार्यालय प्रमुख तथा योग अभियान्ता हुनुहुन्छ।)

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्