विपदमा प्रकृति पनि निर्दयी बन्दै, पीडितहरु चिसाले कठ्याङग्रिन थाले

शनिबार, कात्तिक २५, २०८०

रुकुम पश्चिम । भूकम्पपछि घरबासविहीन यहाँका सर्वसाधारणहरु चिसोले कठ्याङिग्रन थालेका छन् । शनिबार बिहान देखि लागेको बादल र साँझ परेको पानीको कारण खुला चौरमा त्रिपालमूनि बसिरहेका भूकम्प प्रभावितहरुले थप पीडा थेप्न सुरु भएको बताएका छन् । 

पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले भूकम्पको विपत्ती खेपिरहेका जाजरकोट र रुकुमपश्चिमका सर्वसाधारणहरुलाई बर्षाले समेत पीडा थप्न थालेको बताउनु भएको छ । 

उहाँले यस्तो कठिन बेलामा प्रकृति पनि निर्दयी बनेको उल्लेख गर्नुभएको छ । जनताको रक्षा कसरी गर्ने भन्ने प्रश्न उब्जिएकोले तत्काललाई सबैजना आ आफ्नो स्थानमा सुरक्षित भएर बस्न समेत अनुरोध गर्नुभएको छ ।

आठविसकोट नगरपालिका १३ मा महेश मल्लले त्रिपालमूनि रहेका अधिकांश प्रभावित परिवारहरु आकाशे पानीको कारण कठ्याङिग्रन थालेको बताउनुभयो । एउटा त्रिपाल टंगाएर त्यसैमुनी परिवारका सदस्यहरु बस्ने गरिएकोमा पानी पर्दा स्वास्थ्य नै प्रभावित हुन थालेको उहाँको भनाई छ ।

कतिपय स्थान अझै भूकम्प पीडितहरुले त्रिपाल र राहतसम्म पाउन नसकेको गुनासोका बिच पानी पर्दा थप पीडा थपिएको छ । बर्षाको कारण बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिलाहरुमा बढी प्रभाव पर्नसक्ने बताईएको छ ।  भूकम्पले चिराचिरा पारेको घर ठूलो पानी परे भत्कने चिन्तामा प्रभावितहरु रहेका छन् । 

रुकुमपश्चिममा गत शुक्रबार गएको भूकम्पको कारण ५३ जनाको मृत्यु भएको छ भने १६ हजार ५७० घर पूर्ण क्षति भएका छन् । त्यसैगरी नौ हजार ९६१ घरमा आंशिक क्षति भएको प्रारम्भिक तथ्यांक जिल्ला विपद व्यवस्थापन समितिमा रहेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्