बिप्लव आज रुकुम प्रवेश, भोली भूकम्प पीडितसँग भेटघाट र जनश्रमका काममा जोडिने

शनिबार, कात्तिक २५, २०८०

रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का महासचिव नेत्र बिक्रम चन्द 'बिप्लव' आज रुकुम पश्चिम आईपुग्नु भएको छ । 

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमन, मृतकका परिवार र प्रभावित परिवारसँग भेटघाट, राहत वितरण र अस्थायी बासस्थान निर्माणका काममा सहभागि हुन उहाँ जिल्ला आउनुभएको हो । 

नेकपामा जिल्ला ईन्चार्ज चन्द्र बुढाका अनुसार जाजरकोट हुँदै रुकुम पश्चिम आउनु भएका विप्लबले आजै आठविसकोट नगरपालिका ११ चौरमा रहेका भूकम्प प्रभावित परिवारहरुसँग भेटघाट गर्नुभएको छ । त्यसपछि उहाँले आफ्नो पार्टीको तर्फबाट ल्याएको ठुलो परिमाणको राहत सामाग्री आठविसकोट नगरपालिकामा हस्तान्तरण समेत गर्नुभएको छ । 

उहाँको साथमा पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' सहितको टोली रहेको छ । 

जिल्ला ईन्चार्ज बुढाका अनुसार महासचिव सहितको टोली भोली बिहान प्रभावित परिवारहरु भेटघाट गर्नुहुँदै जाजरकोटको चिउरीसम्म जाने कार्यक्रम रहेको छ । त्यहाँ पार्टीले प्रभावित परिवारको लागि बनाएरको अस्थायी बासस्थान हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उहाँ फेरि रुकुम पश्चिम आएर जिल्लाका अति प्रभावित क्षेत्रहरु आठविसकोट भल्ल्मा, घेत्मा, छेपारे हुँदै सानीभरी गाउँपालिकाको मेघा, बलिबांग, गिठाकोट, चाईनाबगर हुँदै सल्यानतर्फ जाने कार्यक्रम रहेको छ । 

उहाँ भोली अस्थायी टहरा निर्माणको काममा समेत जोडिनु हुने बताइएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्