भूकम्प पीडितहरुमा मानसिक समस्याको जोखिम

बढ्दै स्वास्थ्य समस्या
आइतबार, कात्तिक २६, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प पीडितहरुमा मनोसामाजिक समस्या देखा पर्न थालेको छ । भूकम्पद्वारा सिर्जित समस्याले पु¥याएको आघातले मानसिक समस्या बढ्न थालेको हो । 

सुरुका दिनमा त्रर्सिने, डराउने समस्या झेलिरहेका पीडितहरुमा अहिले टोलाउने, नबोल्ने, बोल्दा झर्किने, निन्द्रा नपर्ने तथा खाना खान मन नलाग्ने समस्याहरु देखिन थालेका छन् । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले परिवारका सदस्य  र घरवास गुमाएका व्यक्तिहरुमा यस्ता खालका समस्याहरु देखिन थालेको बताउनुभयो ।

गरिबी र बेरोजगारीले आक्रान्त गाउँमा भूकम्पले निम्त्याएको बिपत्तीले गर्दा मनोवैज्ञानिक समस्या देखिन थालेको उहाँको भनाई छ । मानसिक रुपमा परेको असरकै कारण आठविसकोट नगरपालिका –९ का एक ३२ वर्षिय किरण बटाला (नाम परिवर्तन) ले नजिकैको भेरी नदिमा हामफालेको र स्थानीय बचाएको समेत गौतमले उल्लेख गर्नुभयो ।

भुकम्पको कारण किरणको घर ध्वस्त भएको छ, परिवारका सदस्य घाईते हुुनुभएको छ । गौतमका अनुसार किरणमा अहिलेपनि 'आईगो आईगो...., भागभाग...., निकाल निकाल.....' भन्दै कराउने र तर्सिने लगायतका समस्या रहेका छन् । उहाँलाई थप उपचारको लागि कोहलपुर पठाईएको छ । 

आठविसकोट नगरपालिका वडा नम्वर –९ नै २५ वर्षिय रुपा शाही (नाम परिवर्तन) लाई मनोपरामर्शकर्ताहरुले नियमित आफ्नो निगरानीमा राखेर परामर्श सेवा दिईरहनुभएको छ । महिला पुनस्थार्पना केन्द्र (ओरेक) नेपालका जिल्ला संयोजक दिपा धितालले भूकम्पले दश महिनाको नाबालक र आमा गुमाउनुभएकी रुपालाई मानसिक समस्या बढिरहेको छ ।

माईती घर आएको बेला भूकम्पमा परेर आफैपनि घाईते हुनुभएकी रुपमा अहिले झोक्राउने, रिसाउने, खान नखाने, टोलाउने लगायका समस्याहरु देखिरहेका छन् । अहिले भूकम्प पीडित तथा प्रभावितहरु मनोसामाजिक समस्या बढीरहेको धितालको भनाई छ ।

‘यति जनामा मनोसामाजिक समस्या देखिएको छ भन्ने अवस्था त छैन,’ उहाँले भन्नुभयो ‘ओरेक नेपालले सञ्चालन गरेको परामर्श सेवामा दैनिक तीन समय बढी पीडितहरु आउने गर्नुभएको छ ।’ सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकाका तीन स्थानमा समुहमा परामर्श सेवा सञ्चालन भईरहेको छ । 

बढ्दै स्वास्थ्य समस्या

photo 2 upachar1699778283.jpg

भूकम्पको कारण घरवासबिहिन भएका यहाँका प्रभावितहरुमा स्वास्थ्य समस्या समेत देखिन थालेको छ । सानीभेरी गाउँपालिका –१ चाईनाबगरस्थित माईती घर आउनुभएकी रञ्जना पुनले परिवारमा सबै जनामा रुघाखोकी र ज्वरोको समस्या आएको बताउनुभयो ।

उहाँको माईतीमा दाईभाउजुसहित चार जनाको भूकम्पमा परेर मृत्यु भएको थियो । सरकारले दिएको एउटै त्रिपामुनी सबै परिवार बस्नुपर्ने र चिसो मौसममा न्यानो कपडा नहुँदा बिरामी परेको उहाँको भनाई छ । 

चिसो मौसम समेतको कारण अहिले यहाँका प्रभावितहरुमा पखाला लाग्ने, ज्वरो आउने, रुँघाखोकी लाग्ने, आँखामा कचेरा लाग्ने लगायतका समस्या देखिन थालेका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिममा व्यवस्थापनक डा. सुशिल गौतमले चिसोबेलामा खाना र बसोबास नमिलेको, तनाव बढेको कारण बिरामीहरु हुने सम्भावना बढी भएको बताउनुभयो ।

खानेपानीका आयोजनामा परेको असर, खुला दिसापिसाबको कारण अझै स्वास्थ्य समस्या बढ्ने भएकोले स्वास्थ्य शिविर मार्फत सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति माग गरिएको उहाँको भनाई छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्