रामकुमारी झाक्री

‘बिद्रोहकी बिम्ब’ रामकुमारीको संघर्षशील विगत

२०७८ असोज २३

रामकुमारी झाक्री पछिल्लो पटक नेपाली राजनीतिमा खुब चर्चामा रहेको नाम हो । उनै झाक्री हिजो मात्र नेपाल सरकारको सहरी विकास मन्त्रीमा नियुक्त हुनुभएको छ ।
रामकुमारी सानै संघर्षले मन्त्री बने भने बन्नुभएको हैन । मन्त्री बन्नुमा उहाँको लामो राजनीतिक संघर्ष र त्याग छ। पार्टी र जनताका लागि उहाँले गरेको त्याग नै उहाँको मूल्यांकनको मुख्य आधार हो।

विद्यार्थी राजनीतिबाट उदाउनुभएकी नेता रामकुमारी झाक्री वि.स. २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीको कोखबाट जन्मिएको जन्मनुभएको हो । उहाँ ०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा महाधिवेशनबाट अध्यक्षका अर्का दाबेदार गोकुल घर्तिलाइ पछि पार्दै अध्यक्षमा चुनिनु भएको थियो ।

कक्षा ७ मा पढ्दादेखि नै अखिलको विद्यार्थी राजनीतिसँग उहाँ नजिकिनु भएको हो । त्यसको केही समयपछि नै विद्यालयमा अखिल प्रारम्भिक कमिटी सदस्य चयन भएकी उहाँले १८ बर्षपछि ०६५ सालमा राष्ट्रिय अध्यक्ष भएर रेकर्ड ब्रेक गर्नुभयो । लोकतान्त्रिक विधिबाट प्रतिनिधिको भोटबाट नै अखिलको पहिलो महिला अध्यक्ष चुनिएर एउटा छुट्टै परिचय दिन सफल हुनुभएको हो ।

अनेरास्ववियुको १९ औं सम्मेलनबाट अध्यक्ष बन्नुभएकी रामकुमारी विद्यार्थी आन्दोलनमा सक्रिय नेतृ भएको इतिहास त जगजाहेर नै छ । उहाँ अनेरास्ववियुको नेतृत्वमा छँदा अखिलको छवि संघर्षमयी संगठनको थियो । त्यही बेला जनआन्दोलनमा उहाँले गरेको सडक संघर्षले महिला पनि संघर्षमा पुरुषभन्दा पछि छैनन् भन्ने दरिलो उदाहरण छ्यापछ्याप्ती भयो ।

२०६१ सालमा राजाले सैनिक कुमार्फत सत्ता हातमा लिँदा रामकुमारी सडकमा हुनुहुन्थ्यो । त्यो समय राजतन्त्रको विरुद्धमा बोल्न मुस्किल थियो र चूनौतीपूर्ण पनि। राजतन्त्र विरोधी मोर्चा सुरुमा युवा र विद्यार्थीले नै सम्हाले। त्यो मोर्चाको अग्रस्थानमा रामकुमारी हुनुहुन्थ्यो। पुलिसको निर्मम लठ्ठी उहाँको टाउकोमा बज्रियो । टाउको फुट्यो। उहाँ रगतको धारो बगाउन तयार रहनुभयो, राजतन्त्र फाल्नकै निम्ति । त्यसैले त गणतन्त्र प्राप्तिका लागि रामकुमारीले गरेको सडक संघर्ष अतुलनीय छ ।

तर, त्यसपछिका दिनमा भने उहाँको त्यो संघर्षशील व्यक्तित्व देख्न सकिएन । एमालेभित्रको घात अन्तर्घातको चक्रब्यूहमा रामकुमारी जस्ता व्यक्तित्वहरुलाई पारियो । रामकुमारीहरु भन्दा अन्य महिलाहरु एकाएक नेतृत्व र सुविधाजनक स्थानमा देखिए । खासगरी ओली प्रभावले गर्दा रामकुमारीहरु एकाएक पाखा पारिए, लगाइए ।
एमालेभित्र रामकुमारीहरुको योगदानको अवमूल्यन भएकै कारण उहाँकै समकक्षी गगन थापा स्वास्थ्य मन्त्रीको सफल कार्यकालको प्रशंसा बटुलिरहेको बेला उहाँ पार्टी भित्रैको आरोह अवरोह झेलिरहनु भयो ।

दोस्रो जनआन्दोलनका क्रममा प्रहरी झडपमा घाइते रामकुमारीको तस्बिरले कतिपयका मुटु अझैपनी थर्किन्छन। दोस्रो जनआन्दोलनमा उहाँले सडकमा गरेका संघर्षका कारण नै उहाँलाई नेपाली नागरिकले जनआन्दोलनकी ‘पोष्टर गर्ल’ को संज्ञा समेत दिएका थिएका हुन । उहाँ विद्रोही नेतृको रूपमा परिचित रहेको इतिहास हाम्रै अघि प्रष्ट छ । विभिन्न कालखण्डमा सडक देखि सदन सम्न तताउन हिम्मत राख्ने रामकुमारी ‘विद्रोहकी विम्ब’ नै रहेको पनि छर्लङ्ग छ ।

जनआन्दोलनको क्रममा घाईते हुँदा रामकुमारी
जनआन्दोलनको क्रममा घाईते हुँदा रामकुमारी

गुल्मीमा जन्मिएर पनि रामकुमारीले देशको हरेक कुनामा आफ्नो क्षमता देखाउन कहिल्यै छोड्नुभएन। मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नुभएकी रामकुमारी इतिहास र दर्शनबाट प्रष्ट हुनुहुन्छ । राजनीतिक अडानको क्षमता उहाँमा अरुले सिक्न पर्ने जस्तै छ ।

आफ्नै पार्टी भित्रको घात अन्तरघात झेल्दै २०७५ मा नेकपाको केन्द्रीय सदस्य हुनुभएकी रामकुमारी प्रतिनिधि सभाको नेकपाकै समानुपातिक सांसद पनि हुनुहुन्थ्यो ।
संसद भित्रपनि आफ्ना विचारहरु प्रष्ट राख्ने रामकुमारी ०७७ साल पुस ५ र ०७८ साल जेठ सातमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेसँगै सो कदमको खरो आलोचक बन्नुभयो र सडकमा उहाँले गरेको संघर्षले फेरि एकपटक जनआन्दोलनको झल्को दिनेगरी रामकुमारी छाउनुभयो। संसद विघटनकै विरुद्ध उहाँले गोरखामा पुगेर रास्ट्रपतिका विरुद्ध दिएको अभिव्यक्तिले गिरफ्तार समेत हुनुपर्यो ।

सडकबाट होस वा सदन बाट सधैझै प्रश्न गरिरहने रामकुमारी अब भने उत्तर दिने ठाउँमा पुग्नुभएको छ । आफ्नो कार्यक्षमता देखाउने ठाउँमा उक्लिनुभएको छ । कठिन परिस्थितिमा भएपनी उहाँले पाएको जिम्मेवारीबाट जनताले धेरै आशा गरेका छन । यतिबेला उहाँलाई नेपाल सरकारको सहरी विकास मन्त्रालय हाँक्ने जिम्मेवारी प्राप्त भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्