रुकुम पश्चिममा भूकम्प प्रभावितहरुको राहत सामाग्रीमा आगजनी, दुई जना पक्राउ 

आइतबार, कात्तिक २६, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा राहत वितरणमा चित्त नबुझेको भन्दै दुई जना भूकम्प प्रभावितले राहत सामग्रीमा आगजनी गरेका छन् ।

आइतबार बेलुका जिल्लाको सानीभेरी गाउँपालिका  वडा नम्बर २ गीठाकोटस्थित वडा कार्यालयबाट परिगाउँ टोलमा पठाईएका राहत सामाग्रीमा आगो लगाईएको वडा कार्यालयले जनाएको छ । 

वडा अध्यक्ष मानबहादुर पुनका अनुसार भूकम्प पीडितहरुका लागि वडामा प्राप्त राहत सामाग्रीहरु सम्बन्धीत टोलहरुमा पठाएर वितरण गर्ने क्रममा वडाको परिगाउँ टोलमा आगजानी भएको हो । 

वडा अध्यक्ष पुनका अनुसार योजनाबद्ध तरिकाले राहत सामाग्रीमा आगजनी गरेको पाईन्छ । टोलमा पठाईएका सामाग्रीहरु जम्मा गरेर पेट्रोल छर्केर आगो लगाईएको उहाँको भनाई छ । यस्तो हर्कतले अन्य भूकम्प प्रभावितहरुलाई अन्याय भएको उहाँले बताउनुभयो । उनीहरुले आफूले पाएमा समेत कम्बलमा आगो लगाएका छन् । 

आगजनीबाट १५ थान कम्बल जलेर नष्ट भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले राहत सामाग्री आगजनी गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरिएको बताउनुभयो । सोहि वडाका गोपाल बुढा र खिमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो । 

वडा कार्यालयका अनुसार भूकम्पबाट प्रभावित परिवारलाई राहत वितरण गर्ने क्रममा परिगाँउ टोलमा गएका एक चरणका कम्वलमा आगो लगाईएको हो । राहत वितरणमा चित्त नबुझेको बहानामा उनीहरुले लगाएको बताईन्छ । 

आगजनी गर्ने कार्यमा संलग्न दुबै जना भूकम्प प्रभावित नै हुन् । वडा कार्यालयका अनुसार उहााहरुले यस अघि त्रिपालसहितको राहत सामाग्री पाईसक्नु भएको छ । 

राहत सामाग्री कत्तिपनि नपाएकाहरुलाई दिने र थप सामाग्री आएमा आवश्यकता हेरेर अन्य प्रभावित परिवारलाई दिने गरेर राहत बितरण गरिरहेको बेला दुई जनाले रिसाएर राहत सामाग्रीमा आगो लगाएको वडा कार्यालयको भनाई छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्