Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अव जनवादी हैन समाजवादी क्रान्ति : प्रधानमन्त्री प्रचण्ड

'बाबुराम र बिप्लवसँग एकमत हुने सहमति भएको छ'
आइतबार, मंसिर ३, २०८०
tribeni2

रुकुम पूर्व । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनवादी नभएर समाजवादी क्रान्तिको आवश्यकता रहेको बताउनुभएको छ । 

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर १ मैकोटमा आयोजित जिल्ला स्तरिय बिशेष प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध मार्फत जनवादी क्रान्ति मूलभूत रुपमा पुरा गरेकोले अब समाजवादी क्रान्तिको दिशामा अभियान अघि बढेको बताउनुभयो । 

घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ सञ्चालित जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत रुकुम पूर्वको मैकोट पुग्नुभएका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विगतमा राज्यबाट विकटका जनतालाई चर्को दमन भएपछि जनयुद्धमा जानुपरेको स्मरण गर्नुभयो । आवश्यकता र बाध्यता बिच जनयुद्धको घोषणा गरिनु नै  ऐतिहाँसिक आवश्यकता रहेको उहाँको भनाई छ । 

जनयुद्धमा भएको त्याग, तपस्या र बलिदानबाट किर्तिमानी बनेको उल्लेख गर्नुहुँदै प्रचण्डले जनवादी क्रान्तिपछि अब नयाँ आन्दोलन, नयाँ क्रान्ति र नयाँ अभियानको तयारीमा रहेको बताउनुभयो । उहाँले अबको क्रान्ति जनवादी नभएर समाजवादी भएको उल्लेख गर्नुभयो । 

सामन्ती अत्याचारबाट देशलाई मुक्त पारेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले  अब दलाल पुँजिबाद, शोषन, उत्पिडनबाट नेपाल र नेपालीजनतालाई मुक्त गर्न आवश्यक रहेको बताउनुभयो । त्यसपछि मात्र साँचो अर्थमा देशमा समानता, समाजिक न्याय, जनताले खोजेको वास्तविक अधिकार प्राप्त हुने उहाँको भनाई छ । 
रुपान्तरण अभियान सबैलाई एकताबद्ध गर्ने अभियान भएकोले सबै माओवादी घटकहरु एकताबद्ध भएर माओवादीले नै नयाँ क्रान्तिको नेतृत्व अध्यक्ष प्रचण्डले उल्लेख गुर्नभयो ।  

रुपान्तरण अभियानले समाजवादको बिउ रोप्न सुरु गरेको बताउनुहुँदै उहाँले  जनताको जीवनमा अधिकार र सुविधा दिन यो अभियान सुरु गरिएको प्रष्ट पार्नुभयो । 

माओवादीहरु एक नहँुदा जनतामा निराशा छाएको र बलिदानबाट आएका उपलब्धिहरु खेर जाने डर भएकोले अब फेरि सबै एकताबद्ध हुन सहमत भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नभुयो, “बाबुराम र बिप्लवहरुसँग कुरा भएको छ, सबै मिल्ले कुरामा एकमत छौ । हामी बिभाजित हैन, एकताबद्ध भएर नयाँ आन्दोलनमा जाने सहमति भएको छ ।”

रुकुम पूर्वमा जडिबुटी र पर्यटन विकासको उच्च सम्भावना रहेकोले आफ्नो ध्यान केन्द्रित भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । रुकुम पूर्वका शिष्ट, बिशिष्ट पहिचानलाई जिवीत संग्राहलयको रुपमा विकास गर्न आफूले सहयोग गर्ने उहाँले बताउनुभयो । 

आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार बिरुद, सामाजिक न्याय र समृद्धिको लागि अभियान चलाएको समेत उहाँले जानकारी दिनुभयो । भ्रष्टाचार बिरुद्धका अरु फाईहरु समेत छिट्टै खोलिने उहाँको भनाई छ । 

भूमाफिया, तस्कर बिरुद्धको अभियान निरन्तर अगाडि बढाउने बिचार भएकोले जनताको साथ चाहिएको प्रचण्डले बताउनुभयो । वर्तमान सरकारले मिटर व्याजबाट पीडितहरुको लागि न्याय, नागरिकता बिधेयक कार्यान्वयन, सामाजिक सुरक्षा योजना लागु, विकास निर्माणका काममा नयाँ सुरुवात गरेको समेत उहाँले बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले चिनसँग केहि प्रोजेक्ट गर्ने सहमती भएको जानकारी दिनुहुँदै एउटा प्रोजेक्ट रुकुममा लागु गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्