सोसल मिडिया
रुकुम पूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रुकुम पूर्वको विकासको लागि निरन्तर लाग्ने बताउनुभएको छ ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १ मैकोटमा आयोजित मइँ छिउ सगराँत उत्सव, २०८० (मंसिर सक्रान्ती) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले हिमाली जिल्ला अन्तर्गत पर्ने रुकुम पूर्वको सडक, जडिबुटी, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रको विकासका लागि पहल गर्ने बताउनुभयो ।
आफ्नो चिन भ्रमणको क्रममा हिमाली क्षेत्रमा कृषि क्षेत्रको विकास लागि विभिन्न सञ्चालन गर्ने सहमति भएको जानकारी दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले त्यसै अन्तर्गतको एउटा परियोजना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सञ्चालन गर्ने बताउनुभयो । यस परियोजनाले किसानहरुको जीवनस्तरमा परिवर्तन ल्याउने समेत उहाँँले विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले सहिद मार्गलाई स्तरोन्नती र गन्तव्यसम्म पुयाउने बजेट व्यवस्था गर्ने, ठेक्का पट्टामा तिब्रता दिने, मध्यपहाडि राजमार्गको लागि आवश्यक बजेट व्यवस्था गर्न सम्बन्धित मन्त्रालय र विभागमा आफैले पहल गर्ने बताउनुभयो ।
पुथा उत्तरगंगा गाउँपालिका जडिबुटीको लागि सुपरिचित ठाउँ भएकोले प्रशोधन र बिक्रि वितरणको परियोजना सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउने समेत उहाँले बिश्वास दिलाउनुभयो ।
मैकोट लगायत रुकुम पूर्वको विभिन्न स्थानमा रहेका मौलिक बनावट, घरको छतमा रहेका ढोक्रा, क्रािन्तमा योगदान गरेका गाउँलाई जीवित संग्राहलयको रुपमा विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्ने समेत प्रधानमन्त्रीले बताउनुभयो ।
आफ्नो नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको लागि काम गर्ने संकल्प लिएकोले बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले समाजवादको आधार तयार गर्ने काम भएको दाबी गर्नुभयो ।
तराई मधेसका लाखौ सर्वसाधारणहरु मिटर व्याजी पीडाबाट आक्रान्त भएको उल्लेख गर्नुहुँदै उहाँले मिटर व्याजी बिरुद्ध आयोग बनाएर कारबाहि गरेको र ऐन नै बनाएर सर्वसाधारणहरुलाई पीडाबाट मुक्त बनाएको बताउनुभयो ।
नागरिकताविहान दशौ लाख नेपालीहरुलाई नागरिकता वितरणको व्यवस्था मिलाएको, बिदेशमा गएका लाखौ नेपालीहरुको हक अधिकारको लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने काम गरेको समेत उहाँले बताउनुभयो ।
भ्रष्टाचार बिरुद्धका अरु ठुला फाईलहरु सरकारले खोल्ने बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले भूमाफिया, तस्करी, शोषक, सामन्ती बिरुद्ध अझै निरन्तर कदम अगाडि बढाईने र यस कार्यमा जनताको साथ र समर्थन आवश्यक रहेको उहाँको भनाई छ ।