भूकम्प पीडितहरुको अस्थायी आवास निर्माण प्रक्रिया सुरु

सरकार तथ्यांक संकलनमा, प्रभावित क्षेत्रमा स्वतस्फूर्त अस्थायी र नमूना भवन बनाउन सुरु
सोमबार, मंसिर ४, २०८०

रुकुम पश्चिम । सरकारले भूकम्प पीडितहरुकाे अस्थायी आवास निर्माणका लागि सहयोग गर्ने निर्णय गरेसँगै स्थलगत रुपमा क्षतिको विवरण संकलन सुरु भएको छ भने प्रभावित क्षेत्रमा स्वतस्फूर्त रुपमा पनि अस्थायी आवास निर्माणको काम सुरु भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले अस्थायी आवास निर्माणको प्रक्रिया सुरु गरिसकेको बताउनुभयो । त्यसका लागि क्षतिको वास्तविक विवरण जिल्लाका छ वटै स्थानीय तहमा माग गरिएकोले छ । 

डा कार्यालय मार्फत प्राप्त विवरण स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय भई मङ्सिर पहिलो साता भित्र जिल्ला विपद् व्यवस्थापन समितिमा आईपुग्ने छ । सोहि विवरणको आधारमा अस्थायी आवास निर्माणको लागि सहयोग गरिने प्रजिअ पन्तले जानकारी दिनुभयो । 

उहाँका अनुसार कात्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले भूकम्प प्रभावित व्यक्तिहरुको तत्काल अस्थायी आवास निर्माणको लागि ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । पूर्ण क्षति भएका र आंशिक क्षति भए तापनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई उक्त सहयोग गरिने प्रजिअ पन्तले बताउनुभयो । 

अस्थायी आवास निर्माणको काममा सर्वदलिय संयन्त्र मार्फत समझदारी तथा सहयोग जुटाउन र क्षतिको विवरण पठाउन पत्राचार गरिएकोले उक्त विवरण आउने बित्तिकै विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा अस्थायी आवास निर्माण खर्च पठाईने छ ।

जिल्ला विपद् व्यवस्थापन समितिमा प्राप्त क्षतिको प्रारम्भिक तथ्याङक अनुसार रुकुमपश्चिममा १६ हजार ५७० घर पूर्ण र नौ हजार ९६१ वटा घरमा आंशिक क्षति भएको छ । यो सङख्या बढ्न सक्ने बताईएको छ । 

स्वतस्फूर्त रुपमा बन्दै अस्थायी आवास 

370070099_745138300965799_620352932695451820_n1700444296.jpg

रुकुमपश्चिममा स्वतस्फूर्त रुपमा अस्थायी आवास निर्माणको काम भईरहेको छ । विकास क्षेत्रमा संलग्न युवाहरुको एक समूहले आठविसकोट नगरपालिका –१४ ज्यामिरकोटमा १० वटा अस्थायी आवास निर्माण गरेको छ ।

उक्त कार्यमा संलग्न ईन्जिनियर मानबहादुर शाहीका अनुसार स्थानीय श्रोत र साधनको प्रयोग गरेर १० जना मृतकको परिवारको लागि अस्थायी आवास बनाईएको हो । अब लगत्तै सानीभेरी गाउँपालिकामा सात वटा अस्थायी आवास बनाउन सुरु गरिने शाहीले बताउनुभयो । 

चौरजहारी नगरपालिका –१४ का प्रेमबहादुर घर्तीले आफै अस्थायी टहरा बनाएको बताउनुभयो । भूकम्पले भत्केको घर र स्थानीयस्तरमा पाईने अन्य सामाग्रीहरु प्रयोग गरेर अस्थायी आवास बनाएको घर्तीको भनाई छ । गाउँमा अस्थायी आवास बनाउन प्रभावितहरु सक्रिय रहेको उहाँले जनाउनुभयो । 
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको टोलीले पनि आठविसकोट नगरपालिका –१४ छेपारेका विजय विकको परिवारका लागि घर बनाइदिएको छ । करिब ६० हजार खर्च गरेर जस्तापाताले छाएको घर निर्माण गरिदिएको पार्टीका जिल्ला ईन्चार्ज चन्द्र बुढाले बताउनुभयो । आठबिसकोट नगरपालिका –११ मा पनि आठ वटा टहरा निर्माण गरिसकेको उहाँको भनाई छ । 

भूकम्प प्रतिरोधि नमूना घर बनाईदै

photo 2 chaurjahari 6 ghar bandai  (2)1700444295.jpg

चौरजहारी नगरपालिकामा –६ मा भूकम्प प्रतिरोधि नमूना घर बनाउन सुरु भएको छ । पूर्वनगर प्रमुख विशाल शर्माको अगुवाइमा चारवटा घर निर्माण सुरु गरिएको हो । घर बनाउन सिमेन्ट, बालुवा, माटो, ढुंगा, छड, जस्तापाताको प्रयोग गरिएको छ भने ५० जना स्वयंसेवक परिचालित छन् ।

निर्माण भईरहेका चार वटा घर एक सातामै सम्पन्न गरेर थप घर बनाउने लक्ष्य लिईएको शर्माले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्