बागबजारमा कर्मचारी कमरेडको चियापान

रुकुम पश्चिम / नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठन रुकुम पश्चिमले शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा रुकुम पश्चिमको सदरमुकाम स्थित नेकपा एमालेको पार्टी कार्यालय बागबजारमा उक्त कार्यक्रम गरिएको नेकपा एमाले प्रचार विभाग प्रमुख कर्ण बहादुर ओलीले जानकारी दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य खेममान खड्काले कर्मचारी भनेका देशका खम्बा र स्थायी सरकार समेत भएकोले कर्मचारीले आफ्नो हकहितको लागि संगठित भई प्राप्त अधिकारको सहि प्रयोग गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु रिषि प्रसाद जैसि, नारायण शाह, नन्दराम देवकोटा, जिल्ला पार्टी संयोजक टंक प्रसाद ओली, प्रचार बिभाग प्रमुख कर्ण बहादुर ओलीको आतिथ्यता रहेको थियो ।

संगठनका जिल्ला उपाध्यक्ष तथा केन्द्रीय सदस्य खिम प्रकाश शाहको अध्यक्षतामा भएको कार्यक्रममा करिब ५० जना कर्मचारी सहभागी भएको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्