आठविसकोटमा १३९ अस्थायी सिकाई केन्द्र मार्फत पठनपाठन

मंगलबार, मंसिर ५, २०८०
  • सत्य बटाला

रुकुम पश्चिम । जाजरकोट केन्द्र बिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालय भवनमा क्षति पुगेपछि अस्थायी सिकाई केन्द्र मार्फत पठनपाठन हुन थालेको छ । 

रुकुम पश्चिमका केहि बिद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण भईसकेको छ भने विभिन्न बिद्यालयमा सिकाई केन्द्र निर्माणको क्रममा रहेको बताईएको छ । दशै, तिहार र छठ पर्वको अवसरमा बिदा भएका बिद्यालयहरु सोमबारबाट खुलेसँगै अस्थायी सिकाई केन्द्र धमाधम निर्माण हुन थालेका छन् । 

आठविसकोट नगरपालिकामा १३९ वटा अस्थायी सिकाई केन्द्र निर्माणको अन्तिम चरणमा रहेको नगर प्रमुख रबि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बिद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्धेश्यका साथ अस्थायी सिकाई केन्द्रलाई प्राथमिकता दिईएको हो । 

अस्थायी सिकाई केन्द्र निर्माणका लागि युनिसेफले नगरपालिकासँग सहकार्य गरेको नगर प्रमुख केसीले बताउनुभयो । युनिसेफले एउटा केन्द्रको लागि दुई वटा त्रिपाल, १० किलो प्लाष्टिक, ३२.५ वर्गमिटर पि फर्म र बिद्यार्थीहरुको लागि आवश्यक पर्ने शैक्षिक सामाग्री उपलब्ध गराएको छ । 

नगरपालिकाका शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर बिष्टका अनुसार भूकम्पले आठविसकोटमा मात्रै ११ जना बिद्यार्थीको मृत्यु भएको छ । बिष्टले ११ बिद्यार्थी, एक जना कार्यालय सहयोगी गुमाएको बताउनुभयो । उहाँले नगरपालिका भित्र रहेका ६४ बिद्यालय मध्य ५३ वटा बिद्यालय, २५२ वटा कक्षाकोठा, ७६ वटा शौचालय र नौ हजार ८४७ जना बिद्यार्थी प्रभावित भएको जानकारी दिनुभयो । 

भूकम्पको कारण घर भत्किदा बिद्यार्थीहरुका किताबकापी समेत क्षति पुगेको छ । शाखा प्रमुख बिष्टले कक्षा १ देखि १० सम्मका एक हजार ४४१ किताबका सेट बिभिन्न बिद्यालयबाट माग भई आएको जनाउनुभयो । नगरपालिकाले यो समस्या समाधान गर्ने उहाँको भनाई छ । अहिले नगरपालिकाले १३९ वटा सिकाई केन्द्र बनाएर पठनपाठन सुरु गर्ने भएको छ ।  

रुकुमपश्चिममा भूकम्पमा परेर १८ जना बिद्यार्थीको मृत्यु भएको छ । सामाजिक विकास कार्यालय रुकुमपश्चिमको तथ्याङक अनुसार एक जना बिद्यालय कर्मचारीको मृत्यु भएको छ भने एक जना बिद्यार्थी र एकजना शिक्षक घाईते हुनुभएको छ । भूकम्पको कारण जिल्लाका ११ हजार ९५२ बिद्यार्थी प्रभावित भएका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्