Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पले रुकुम पश्चिमका १२ प्रहरी कार्यालयमा क्षति, त्रिपालबाटै सेवा

बिहीबार, मंसिर ७, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्पले रुकुम पश्चिममा विभिन्न स्थानमा रहेका १२ वटा प्रहरी कार्यालयहरूमा क्षति पुर्याएको छ । क्षति भएका कार्यालयहरु बस्न नमिल्ने भएपछि त्रिपाल तथा टेन्ट र अर्को भवनमा सारेर सेवा प्रवाह भईरहेको छ ।  

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार गत कात्तिक १७ गतेको भूकम्पको कारण जिल्ला प्रहरी कार्यालय सहित १२ वटा प्रहरी युनिटमा क्षति पुगेको छ । त्यसमध्य पाँच वटा पूर्ण रूपमा क्षति भएका छन् भने सात वटा उच्च जोखिममा रहेका छन् । 

प्रहरी निरीक्षक श्रेष्ठले जिल्ला प्रहरी कार्यालयको एउटा भवन पूर्ण रूपमा चर्किएकोले बस्न मिल्ने अवस्था नरहेको बताउनुभयो । यस्तै प्रहरी चौकी पुर्तिमकाँडाको भवन पनि पूर्ण रूपमा क्षति भएकोले अहिले टेन्टमा सरेको छ । प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लि र ईलाका प्रहरी कार्यालय आठबिसकोटको भवनमा पूर्ण रूपले भूकम्पले क्षति पुर्याएको छ ।

सोलावाङको आफ्नै भवन हो भने सिम्लि र आठबिसकोटको भाडाका भवनहरू हुन् । सिम्लि प्रहरी अहिले अरूको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट प्रहरी त्रिपालमा बसेर सेवा दिइरहेको छ । त्रिपालमा रहेर सेवा दिनुपर्दा प्रहरीका अत्यावश्यक सामाग्रीहरुमा सुरक्षाको जोखिम रहेको छ । 

त्यसैगरी अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी पिपल, झुल्नेटा र ईलाका प्रहरी कार्यालय चौरजहारीमा आंशिक रूपमा क्षति पुगेको छ । यी मध्ये चौरजहारीको भवन बस्न मिल्ने भए पनि बाँकी भवनहरू जोखिम मोलेर बस्नुपर्ने अवस्थामा रहेको रुकुम प्रहरीले जनाएको छ । 

भूकम्पको बेला खोज, उद्धार, उपचार र राहत वितरणमा अग्रस्थानमा खटिएको प्रहरीले कार्यालयको जोखिमका बिच निरन्तर सेवा प्रवाह गरिरहेको छ । नियमित प्रहरी गतिविधि तथा सेवाका साथै भत्किएका घरहरुको मुचुल्का बनाउन, तथ्याङक संकलन गर्ने, पुरिएका सामानहरु निकालेर सुरक्षित गर्ने लगायतका काममा रुकुम प्रहरी सक्रिय रहेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्