सोसल मिडिया
तिहार मनाउन कात्तिक २७ मा काठमाडौंबाट मध्यपहाडी राजमार्ग हुँदै चौरजहारीस्थित जन्मघर खहरे पुगेको थिएँ। चार बहिनीको एक्लो दाइ भएकाले वर्षभरि जहाँ भए पनि तिहारमा घर पुग्नैपर्छ। यसपालि चाहिं तिहारको बहानामा भूकम्पले हल्लाएको घर हेर्नु थियो, बाआमा भेट्नु थियो।
रुकुम पश्चिम हिंड्नुअघि सहकर्मी र साथीभाइलाई ‘केही जरुरी भए फोन गर्नु, गाउँमा इन्टरनेटले काम नगर्न सक्छ’ भनेको थिएँ। तर, २४ घण्टाभन्दा लामो पट्यारलाग्दो बस यात्रा टुङ्ग्याएर विजयश्वरी नजिकै पर्ने चौरजहारी-३ को वडा कार्यालयमा ओर्लिनासाथ मोबाइलमा इन्टरनेट चल्न थाल्यो।
एकछिन सामाजिक सञ्जाल हेर्न मन लाग्यो। सामाजिक सञ्जाल खोल्ने वितिक्कै टिकटक प्रतिबन्धको अनपेक्षित समाचार मात्रै आयो।
सामाजिक सञ्जालमा आएको सूचना आधिकारिक भन्ने भएपछि आफू कार्यरत द न्यूयोर्क टाइम्सको दक्षिणएशिया ब्यूरो प्रमुख मुजिब मशललाई ह्वाट्सएपमा मेसेज पठाएँ। अनि सोझै घरतिर लागें। घर पुग्दा मुजिबबाट प्रश्न मिश्रित जवाफ आयो, ‘टिकटक बन्द गर्ने निर्णय कहिलेदेखि लागू हुन्छ?’
लगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सल्लाहकार नरेन्द्र केसी र अन्य समाचार स्रोतलाई सम्पर्क गरें। उनीहरूसँगको कुराकानीबाट जवाफ पाइयो, ‘तत्कालै’।
मुजिबलाई टिकटक प्रतिबन्धको निर्णय तत्कालै कार्यान्वयन हुने बताएँ। उताबाट निर्देशनात्मक प्रतिक्रिया आयो, ‘त्यसो भए छोटो समाचार लेख्नुपर्यो।’
बस यात्राबाट लखतरान थिएँ। थकाइ मेट्न नपाउँदै समाचार लेख्न परिहाल्यो।
भूकम्पले चर्किएको घर बाहिर ओटा (आँगन)मा बसेर समाचार लेख्नुअघि मोबाइलको डेटा खोलेर टिकटक बन्दबारे प्रकाशित नेपाली समाचार र हालसम्म टिकटक बन्द गरेका देशहरूको पृष्ठभूमि पढिरहेको थिएँ। ल्यापटपमा इन्टरनेट जोडेको थिइनँ।
“यहाँ त वाइफाईले काम गर्छ नि!,” दशैं बिदामा घर पुगेकी छोरी बिहानीले भनिन्। उनले छिमेकी दाइको घरको वाईफाईको पासवर्ड ल्यापटपमा राखिदिइन्।
धेरै प्रशासकीय कामकाज स्थानीय सरकार अन्तर्गत वडा कार्यालयमै हुने र सडक सञ्जाल गाउँसम्म पुगेपछि सदरमुकाममा थुप्रिएका मानिसको चाप केही घटेको छ। जिल्ला सदरमुकामप्रतिको आकर्षण पहिले जस्तो देखिंदैन।
इन्टरनेट राम्रै चल्यो। केही घण्टा काम गरेर समाचार फाइल गरें। समाचार तत्कालै सम्पादन भई प्रकाशित पनि भयो।
समाचारको डेटलाइन थियो- रुकुम पश्चिम, नेपाल। समाचार प्रकाशित भएको थियो- द न्यूयोर्क टाइम्समा।
बदलिएको सडक र सञ्चार
नेपालको विकट गाउँमा बसेर लेखेको समाचार अमेरिकी पत्रिकामा छापिनु मेरा लागि अपत्यारिलो अनुभव थियो। किनकि, एक-दुई वर्षअघिकै कुरा गर्दा मोबाइलमा डेटा चलाउन खोज्दा नेटवर्कले काम नगरेर हैरान भइन्थ्यो। फोनकै नेटवर्क पनि वेलावेला झुल्किने अनि आफैं हराउने हुन्थ्यो।
रुकुम पश्चिम साविकको त्यही सिंगो रुकुम जिल्लाको एउटा विभाजित क्षेत्र हो, जहाँबाट १० वर्षे द्वन्द्वको बीजारोपण भएको थियो। चरम बेरोजगारी, विकासमा देखिएको पछौटेपन र जातीय संरचनाको भरपूर फाइदा उठाउँदै नेकपा (माओवादी)ले रुकुम र रोल्पाबाट सशस्त्र द्वन्द्वको उद्घोष गरेको थियो, जसमा करीब १७ हजार नागरिकले ज्यान गुमाए। द्वन्द्वको चपेटामा अङ्गभङ्ग भएका कति नागरिक अहिले पनि कष्टकर जीवन बाँचिरहेका छन्।
‘साम्यवाद ल्याउन’ हतियार उठाएको माओवादीले विमानस्थल, हुलाक, ब्यांक, टेलिफोन टावर, सरकारी भवन, प्रहरी चौकी र कृषि सामग्री संस्थान जस्ता नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने पूर्वाधार ध्वस्त पारे। विकासको गति नै अवरुद्ध बनाए। समानान्तर सत्ताको अभ्यास गरे।
द्वन्द्व उत्कर्षमा पुगेका वेला सक्नेहरू गाउँ छाडेर जिल्ला सदरमुकाम बसाइँ सरे। कति विदेश पनि पसे।
जसले गर्दा एक कल फोन गर्न पनि दिनभर पालो पर्खेर उभिनुपर्थ्यो। मौसमले साथ नदिए दिनभर पर्खे पनि भिस्याट प्रविधिको टेलिफोनबाट कुरा हुन नसकेर निरास भएर घर फर्कनुपर्ने बाध्यता थियो।
स्थानीय बासिन्दा सञ्चारको नाममा हुलाक सेवाको भरमा थिए। बस चढ्न हिंडेर सल्यानको श्रीनगर वा सल्ली बजार पुग्नुको विकल्प थिएन।
विकट भनिएका तिनै रुकुम पश्चिमका गाउँ अहिले फेरिएका छन्। कच्ची नै भए पनि सडक पुगेको छ। केही सडक बिस्तारै कालोपत्रे हुँदै छन्। प्रायः सबै ठाउँमा जोखिम मोलेर भएर पनि तीनपांग्रे अटोरिक्शा पुगेका छन्। मोटरसाइकल चढ्ने मानिस बढेका छन्। राम्रो आर्थिक हैसियत भएकाहरू गाडी चढ्न थालेका छन्।
अरूको घरको आँगनमा पुगेर टाढैबाट रेडियोको समाचार सुनेको मेरो पुस्ताका लागि अनकन्टार गाउँमा सञ्चारले मारेको फड्को अपत्यारिलो नै लाग्छ। ठूल्ठूला पानासोनिक टेप रेकर्डर बोकेर मेला पस्ने युवाको हुल अहिले २४ घण्टा सामाजिक सञ्जालमा रमाइरहेको देखिन्छ।
रुकुम पश्चिममा स्थानीय तहदेखि प्रदेश र संघसम्मै माओवादीको दबदबा छ। तर, राजनीतिक नेतृत्वले बाँडेको आश्वासन यथार्थमा परिणत नहुँदा पनि युवामा नैराश्य उत्पात देखिन्छ। द्वन्द्वकालमै ट्र्याक खोलिएका सल्ली बजार-चौरजहारी, थारमारे-चौरजहारी सडकखण्ड अहिले पनि धुलौटे नै छन्।
हात हातमा स्मार्टफोन, घर घरमा वाइफाई। देशविदेशमा रहेका आफन्त, साथीभाइसँग नियमित सम्पर्क। काठमाडौं सहित देशका कुनाकाप्चा र विदेशमा भइरहेका गतिविधिबारे तत्कालै जानकार। अहिले काठमाडौं बस्नेले सूचनामा जति पहुँच राख्छन्, त्यति नै पहुँच दूरदराजका गाउँमा बस्नेको पनि छ।
त्यस्तै, इन्टरनेट र फोनको सहज पहुँचले सूचनामा सीमित व्यक्तिको एकाधिकार तोडिएको छ। सामाजिक सञ्जालका कारण दुर्गम गाउँ पनि विश्व सूचना सञ्जालसँग जोडिएको छ।
गाउँमा सूचनाको सहज पहुँचले आउँदा वर्षमा ठूलै राजनीतिक परिवर्तन हुने सङ्केत पनि गरिरहेको छ। रवि लामिछाने, बालेन साह, हर्क साम्पाङ र दुर्गा प्रसाईंप्रति युवाको चासो बढिरहेको छ भने पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी ओलीप्रतिको आसक्ति घट्दो छ।
गाउँमा मूलधारका भनिने सञ्चारमाध्यमको प्रभाव नगण्य छ। सत्य र भ्रामक जे भए पनि सामाजिक सञ्जालमा आउने विषयवस्तुमै स्थानीयको आँखा परिरहेको छ।
विकास पुग्यो, गाउँ रित्तियो
सडक र सञ्चारको पहुँच पुगे पनि गाउँमा रोजगारी सिर्जना भने हुन सकिरहेको छैन। यही कारण गाउँबाट मानिस विदेशिइरहेका छन्। गाउँघरमा युवा भेटन मुश्किल छ। वृद्धवृद्धा र बालबच्चा मात्रै देखिन्छन्। गाउँ रित्तिइरहेको छ।
केही वर्षअघिसम्म भारत र खाडी मुलुक निर्विकल्प जस्तै थिए, तर अहिले अवैध बाटोबाट ऋण सापट गरेर ५० लाखदेखि एक करोडसम्म दलाललाई बुझाएर यूरोप र अमेरिका छिर्नेको लर्को छ। निजामती, प्रहरी र सेनाका जागीरे पनि अवैध बाटोबाट अमेरिका पुगेका छन्। कोही अहिले पनि पानामाको जंगलमा हिंडिरहेका होलान्।
गत कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका २६ हजार ५५७ घर पूर्ण र ३५ हजार ४५५ घर आंशिक रूपमा भत्किएका छन्। भूकम्पका कारण १५४ जनाले ज्यान गुमाएका छन्।
भर्खर सडक, बिजुली, यातायात र इन्टरनेट लगायत सुविधा पुगे पनि गाउँ भने रित्तिंदै छन्। शहरको जस्तै सेवा सुविधाले पनि युवा मनलाई गाउँमै अड्याउन सकेको छैन। किनकि, यी सुविधा उपभोग गर्न पनि आयआर्जन चाहिन्छ, त्यसका लागि रोजगारी। त्यही युवालई अत्यावश्यक रोजगारी गाउँमा छैन। साभार : हिमाल खबर