सोसल मिडिया
रुकुम पश्चिम / नेकपा एमालेका केन्द्रीय सदस्य खेममान खड्काले अदालतका हरेक निर्णयहरु स्वच्छ र निश्पक्ष रहेको भन्न नसकिने बताउँनुभएको छ । उहाँले जनमतबाट बनेको सरकारलाई हटाएर अध्यादेशबाट सरकार बनाउन निर्णय गरेको भन्दै अदालतको भूमिका माथी शंका व्यक्त गर्नुभएको हो ।
विजयादशमीको अवसरमा आईतबार पत्रकार महासंघ रुकुमले मुसिकोटमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नु हुदै केन्द्रीय सदस्य खड्काले अदालतले आम मतदाताको अभिमतको अपमान गरेको आरोप समेत लगाउनुभयो । उहाँले गठबन्धन, महागठबन्धन कम्फर्टेबल सरकारको लागि मात्र भएको समेत उल्लेख गर्नुभयो ।
अदालतको अध्यादेशबाट बनेको वर्तमान सरकारले कालो धनलाई सेतो बनाउने हर्कत गरिरहेको बताउँनुहुदै उहाँले यो सरकारबाट जनतालाई धेरै आशा गर्ने ठाँउ नरहेको जनाउँनुभयो । उहाँले न्यायपालिकाले मुलुक संचालनको मत प्राप्त गरेको व्यवस्थापिका माथी हस्तक्षेप गरेको पनि बताउँनुभयो ।
मुलुकको रुपान्तरणको लागि तथा गणतन्त्र स्थापनाको लागि संचार माध्यामहरुले महत्वपूर्ण योगदान दिएको भन्दै उहाँले विधिको शासन कार्यान्वयनमा पत्रकारहरुले समेत न्यायोचित भूमिका निर्वाह गर्नुपर्ने बताउँनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले बिशेष अवसर जुटाएर एक आपसमा शुभकामना साटासाट गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । अध्यक्ष केसीले नेपालीहरुका हरेक चाडपर्वहरु शान्ति, अमनचयन, भातृत्व विकासका लागि कडीको रुपमा मनाईदै आएको समेत उल्लेख गर्नुभयो ।