डिग्रे मन्दिरमा दर्शनार्थीको भिड

शनिबार, मंसिर ९, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका –५ थर्पुमा रहेको प्रसिद्ध डिग्रे साईकुमारी मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।

मन्दिर परिसरमा गत बिहिबार देखि सुरु भएको डिग्रे मेलासँगै मन्दिरमा पुजाआजा गर्नेहरुको भिड लागेको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार हरेक वर्ष हरिबोधिनी एकादशी देखि सुरु भएको मेला कार्तिक पूर्णिमाको दिनसम्म लाग्ने गर्दछ ।

यो वर्ष मङ्सिर ११ गते मुख्य मेला परेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भए पनि मेलाको पाँच दिन विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको सख्या पनि धेरै हुन्छ । 

अध्यक्ष केसीले एकादशीदेखि चतुर्दशीसम्म विशेष पूजाआजा हुने र पूर्णिमाको दिन भव्य मेला लाग्ने बताउनुभयो । एकादशीका दिन र पूर्णिमाको दिन बलि भने चढाउन मिल्दैन । तर पूजाआजा भने अन्तिम दिनसम्मै हुन्छ ।

व्यवस्थापन समितिका अनुसार मेलाको दिन मन्दिरमा चढाएको भेटि एकदिनमा करिब दुई लाख रुपियाँ हुन्छ भने बलि चढाएको बोकाको टाउको मूल्यबाट करिब दुई लाख नै संकलन हुने गरेको छ । 

यस मन्दिरमा दर्शन तथा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मेला परापूर्व काल देखि नै लाग्दै आएको छ । डिग्रे मेला कर्णाली प्रदेशकै ठुलो धार्मिक मेला हो ।

यस मन्दिरमा रुकुम पश्चिमसँगै छिमेकी जिल्ला रुकुमपूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ, सुर्खेतसँगै अन्य जिल्लाका भक्तजनहरू पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्