सोसल मिडिया
जाजरकोट । नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कमिटीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणको काममा सक्रिय रहेको छ ।
संगठनका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा रहेको बिद्यार्थी टोलीले आईतबार जाजरकोटको भेरी नगरपालिका वडा नम्वर १ स्थित रिम्नामा रहेको भेरी त्रिवेणी माध्यमिक बिद्यालयमा भग्नावशेष संरचनाको व्यवस्थापनमा खटिएको छ । बिद्यालयका साथै अन्य सर्वसाधारणहरुका भत्किएका घरका सामाग्री व्यवस्थापनमा समेत लागिरहेको बताईएको छ ।
जाजरकोट र रुकुम पश्चिमका बिद्यालय र सर्वसाधारण भत्किएका घरहरुको व्यवस्थापन र अस्थायी आवास निर्माणमा केन्द्रित भएको संगठनका सचिव सुन्दर शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार आईतबार ५५ जनाको टोली रिम्ना क्षेत्रमा मात्र परिचालन भएको छ । अन्य क्षेत्रमा अहिले २ सय जना बिद्यार्थीको टोली स्वयम् सेवकका रुपमा परिचालन भएको छ ।
जनताको संकटमा सारथीको रुपमा बिद्यार्थी संगठनले काम गरिरहेको सचिव शर्माले बताउनुभयो । स्थानीय बिद्यार्थी संगठनको टिम र केन्द्रिय टिम समेत मिलेर विद्यालयको पठनपाठन र सर्वसाधारणको दैनिकी सहज बनाउन लागिपरेको बताईएको छ ।