आज डिग्रे मेलाको मुख्य दिन, मुसिकोटमा सार्वजनिक बिदा

सोमबार, मंसिर ११, २०८०

रुकुम पश्चिम । आज सोमबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिर परिसरमा लाग्ने 'डिग्रे मेला'को मुख्य दिन हाे । यस अवसरमा मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । 

प्रशिद्ध धार्मिक तिर्थस्थलमा कार्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने मेलाको अवसरमा नगर क्षेत्रमा बिदा दिने निर्णय भएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रकाश गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार बिदा बारेमा मुसिकोट नगरपालिकाले आईतबार नै निर्णय गरेको छ । 

प्रमुख प्रशासकिय अधिकृत गिरीका अनुसार मेलाको अवसरमा मुसिकोट नगरपालिकाका १४ वटै वडा कार्यालय, नगर भित्रका सबै सामुदायिक तथा सस्थागत विद्यालयहरु लगायतका सम्पूर्ण कार्यालयहरुलाई बिदा दिने निर्णय भएको छ । 

हरेक वर्ष हरिबोधिनी एकादशी देखि सुरु भएको मेला कार्तिक पूर्णिमाको दिनसम्म लाग्ने गर्दछ । यो वर्ष मङ्सिर ११ गते मुख्य मेला परेको छ । यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भए पनि मेलाको पाँच दिन विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको सख्या पनि धेरै हुन्छ । 

एकादशीदेखि चतुर्दशीसम्म विशेष पूजाआजा हुने र पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ । यस मन्दिरमा दर्शन तथा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मेला परापूर्व काल देखि नै लाग्दै आएको छ ।

डिग्रे मेला कर्णाली प्रदेशकै ठुलो धार्मिक मेला हो । यस मन्दिरमा रुकुम पश्चिमसँगै छिमेकी जिल्ला रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ, सुर्खेतसँगै अन्य जिल्लाका भक्तजनहरू पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्