Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका स्थानीय तहमा अस्थायी आवास निर्माणको रकम पठाउन सुरु

आठविसकोट, सानीभेरी र त्रिवेणीमा दुई करोड ५३ लाख ५० हजार रुपियाँ पठाईयो
बुधबार, मंसिर १३, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले भूकम्पबाट प्रभावित परिवारहरुको अस्थायी आवास निर्माणका लागि स्थानीय तहमा रकम पठाउन थालेको छ । 

प्रशासन कार्यालयले आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाको स्थानीय जोखिम न्यूनीकरण तथा ब्यबस्थापन समितिबाट पहिचान कायम र स्वीकृति भई आएका भूकम्प प्रभावित परिवारहरुको अस्थायी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहमा रकम पठाएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार आठविसकोट नगरपालिकाका पाँच सय, सानीभेरी गाउँपालिकाका ४५० र त्रिवेणी गाउँपालिकाका ६४ परिवारको लागि रकम निकासा गरिएको हो । सबै गरेर एक हजार १४ वटा अस्थायी आवास निर्माणका लागि दुई करोड ५३ लाख ५० हजार रुपियाँ पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो । 

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्रति घर २५ हजारका दरले निकासा गरिएको हो । मंगलबार त्रिवेणी गाउँपालिकाको स्थानीय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन कोषमा १६ लाख पठाईएको हो भने बुधबार आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको कोषमा क्रमश एक करोड २५ लाख र एक करोड १२ लाख ५० हजार रुपियाँ पठाईएको हो । 

भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० (दोस्रो शंसोधन समेत) परिच्छेद २ को ३ (१) बमोजिम उक्त रकम पठाईएको जनाईएको छ । भूकम्पबाट घर क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि सरकारले ५० हजार राहत उपलध गराउने निर्णय गरिसकेको छ । 

आगामी दिनमा स्थानीय तहबाट समितिको निर्णय भएर लाभग्राही कायम भएको जानकारी जिल्लाको विपद् व्यवस्थापन समितिमा प्राप्त भएपछि क्रमशः सम्बन्धित स्थानीय तहको विपद् कोषमा रकम पठाउने प्रबन्ध मिलाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्