अनेरास्ववियूद्वारा  भूकम्प प्रभावित क्षेत्रका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बुधबार, मंसिर १३, २०८०

रुकुम पश्चिम । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भूकम्पबाट प्रभावित बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

अनेरास्ववियूले रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ मा रहेको जनविकास माध्यमिक बिद्यालयका सबै बिद्यार्थीहरुलाई अत्यावश्यकीय शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । 

अनेरास्ववियूका जिल्ला अध्यक्ष रमेश मल्लले २६० जना बालबालिकाहरुलाई झोला, कापि, कलम उपलब्ध गराईएको जानकारी दिनुभयो । उहाँका अनुसार वितरण गरिएका शैक्षिक सामाग्रीहरु संगठनको केन्द्रीय कमिटिबाट प्राप्त भएका हुन् । 

अध्यक्ष मल्लले भूकम्पबाट प्रभावित बालबालिकाहरुलाई विद्यालय आउन उत्प्रेरणा दिने र घर भत्किएपछि शैक्षिक सामाग्रीहरु नष्ट भएपछिको समस्या समाधान गर्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको बताउनुभयो । 

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पको कारण जनविकास माविका ३ जना बिद्यार्थीको मृत्यु भएको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्