Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पले मध्यपहाडि रामार्गमा चिरैचिरा, दुर्घटनाको जोखिम

मर्मतको लागि आयोजना कार्यालयसँग वजेट छैन
बिहीबार, मंसिर १४, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्पको कारण रुकुम पश्चिम र जाजरकोटका ग्रामिण सडक र मध्यपहाडि राजमार्गका विभिन्न स्थानहरु भासिएका र चिरा परेका छन् । ती सडकखडण्डमा अहिले दुर्घटनाको जोखिम बढेको बताईन्छ । 

मध्यपहाडि राजमार्ग अन्तर्गत रुकुम पश्चिम खण्डको चौरजहारी देखि मुसीकोटसम्मको क्षेत्रमा दर्जन बढी स्थानमा सडक चिरा परेको छ । राजमार्गको विभिन्न स्थानको छेउको भाग बढीमात्रामा भासिएको छ भने बिचबिचको भाग चर्किएको छ ।

चौरजहारी नगरपालिका –१ का सागर आचार्यले चिरा परेको सडकखण्डमा मोटरसाईकल चलाएर जाँदा डर लाग्ने गरेको बताउनुभयो । उहाँले जिल्ला सदरमुकाम मुसीकोट जानेआउने क्रममा विभिन्न भागमा सडक चिरा परेकोले दुर्घटनाको जोखिम बढेको जनाउनुभयो । 

गाडि चालक खड्क बहादुर रानाले ठाउँ ठाउँमा भूकम्पको कारण सडक नै चिरा परेकोले दुर्घटनाको जोखिम रहेको उल्लेख गर्नुभयो । चिरा परेको सडकको भाग हरेक दिन भासिदै गएको समेत उहाँले जानकारी दिनुभयो । भूकम्पले क्षति गरेको सडकहरु मर्मत तथा सुधार गर्न आवश्यक रहेको समेत रानाले बताउनुभयो । 

यस बिषयमा मध्यपहाडि राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख कुशलता न्यौपानेले क्षति भएको राजमार्गको विवरण संकलन भईरहेको बताउनुभयो । उहाँले ईन्जिनियरसहितको टोली फिल्डमै रहेकोले क्षतिको यथार्थ विवरण चाँडै आउने र समस्या समाधानका लागि लागिपर्ने जानकारी दिनुभयो ।

राजमार्ग अन्तर्गतको केहि क्षेत्रमा आफै पुगेर भासिएको, चिरा परेको र पहिरो आएको क्षेत्रको अनुगमन गरेको र अन्य स्थानको क्षतिको विवरण संकलन हुँदै गरेको न्यौपानेले जनाउनुभयो । 

ठेकेदारले हस्तान्तरण गरिसकेको सडकखण्डहरुमा क्षति भएकोले मर्मत तथा सुरक्षाको लागि बजेटमा समस्या भईरहेको समेत योजना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख न्यौपानेले यो समस्या समाधानको लागि सडक डिभिजन कार्यालयसँग समन्वय भईरहेको बताउनुभयो । क्षतिको विवरण चाँडै नै तयार गरेर आवश्यक वजेट व्यवस्थापनका लागि लागिपर्ने उहाँको भनाई छ । 

भूकम्पको कारण पहिरो आएर अवरुद्ध भएका ग्रामिण सडकहरु भने जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारको समन्वयमा सुचारु गरिएको बताईएको छ । चिरा परेका र भासिएका ग्रामिण सडकहरुको विवरण संकलन गरेर मर्मत तथा निर्माणको लागि सम्बन्धित निकायलाई पत्राचार गरिने प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले बताउनुभयो । 

भूकम्पको कारण रुकुम पश्चिममा मात्र ५३ जनाको मृत्यु भएको थियो । हजारौ घरबासविहिन सर्वसाधारणहरु अहिले टेन्ट र त्रिपालमा बसिरहेका छन् । भूकम्पले गरेको व्यक्तिगत तथा सार्वजनिक स्थानको क्षतिको पुरा विवरण स्थलगत रुपमै संकलन भईरहेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्