Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प प्रभावित जिल्लामा सञ्चारमन्त्री समक्ष १२ बुँदे माग पेश

मागहरु पुरा गर्न सहजिकरण गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
आइतबार, मंसिर १७, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्प प्रभावित क्षेत्रका संचारकर्मी, सञ्चारमाध्याम र दुरसञ्चारको अवस्था निरीक्षणको लागि रुकुम पश्चिम आईपुग्नुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा समक्ष १२ बुँदे माग पत्र पेश गरिएको छ । 

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले भूकम्प प्रभावित पत्रकार र सञ्चारमाध्यामहरुको हितका लागि माग पत्र पेश गरेको हो । आईतबार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले मन्त्री शर्मालाई माग पत्र पेश गर्नुभएको हो । 

कोरोना महामारीको चपेटामा परेको संचार क्षेत्र भूकम्पको थप विपद्मा परेकोले यसको सामना गर्न सरकारका तर्फबाट उचित कदम चाल्न माग पत्र पेश गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा समक्ष भूकम्पबाट क्षति पुगेका संचार माध्यामको भवन निर्माण र उपकरण खरिदमा सहयोग र भूकम्प प्रभावित पत्रकारहरुलाई सहुलियत दरमा उपकरण खरिदको व्यवस्था गरिदिन माग गरिएको छ ।

त्यसैगरी भूकम्प प्रभावित क्षेत्रका सञ्चार माध्यामहरुको नविकरणमा लाग्ने शुल्क छुट गरिदिन र सूचना विभागद्वारा यस क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने व्यवस्थाका लागि महासंघले माग गरेको छ ।  महासंघ रुकुमपश्चिम शाखाले कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको क्षमता अभिबृद्धि तथा सञ्चार माध्यामको सबलिकरणका लागि बिशेष प्याकेजको माग गरेको छ भने प्रभावित क्षेत्रका सञ्चार माध्यामलाई ईन्टरनेट र बिद्युत सेवा निशुल्क गरिदिने व्यवस्थाका लागि समेत माग गरेको छ ।  

प्रभावित पत्रकारहरुको लागि मनोसामाजिक सेवा लक्षित कार्यक्रम, फेलोसिप लक्षित कार्यक्रम,  पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बिमाको निरन्तरता, जिल्लाका विज्ञापनहरु स्थानीयस्तरका मिडियालाई नै दिनुपर्ने नीतिगत व्यवस्थाको माग पनि गरिएको छ । 

जिल्ला अध्यक्ष केसीले पत्रकारहरुको न्युनतम पारिश्रमिक राज्यले कडाईका साथ लागु गर्नुपर्ने र अनलाईन मिडियाहरुको उचित व्यवस्थापन तथा लोककल्याणकारी बिज्ञापनको लागि पहल गरिदिन माग गरेको जानकारी दिनुभयो । 

जिल्लामा आठ वटा रेडियो, दुई वटा साप्ताहिक पत्रिका, एक वटा मासिक पत्रिका, चार वटा अनलाईन मिडिया सञ्चालनमा रहेको बताईएको छ । भूकम्पको कारण ३० जना पत्रकार प्रभावित भएको, एक वटा रेडियो पूर्ण रुपमा क्षति भएको अध्यक्ष केसीले जानकारी गराउनुभएको छ । 

माग पत्र बुझ्नुहुँदै मन्त्री शर्माले सबै मागहरु सकारात्मक रहेकोले पुरा गर्नको लागि आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्