Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
सोती घटना

सोति घटनामा तीन दिन देखि जारी बहस सकियो, आजै फैसला हुनसक्ने !

मंगलबार, मंसिर १९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा २०७७ साल जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको मुद्दामा पेशी सुनुवाई बहस सकिएको छ । 

आईतबारबाट रुकुम जिल्ला अदालतमा सुरु भएको पेशी सुनुवाई बहस तीन दिनपछि सकिएको हो । रुकुम जिल्ला अदालतका सूचना अधिकारी गोबिन्द प्रसाद कोईरालाका अनुसार आईतबार देखिसुरु भएको निरन्तर सुनुवाइ आज सकिएको हो । 

सोती घटनाको नामले चर्चित उक्त घटनामा २१ जना कानून व्यवसायीहरुले बहस गर्नुभएको थियो । सूचना अधिकारी कोईरालाका अनुसार सरकारी वकिल सहित १५ जनाले जाहेरीवाला (वादी) को तर्फबाट बहस गर्नुभएको थियो भने ६ जनाले प्रतिवादीको तर्फबाट बहस गर्नुभएको थियो । 

जिल्ला अदालतका न्यायाधीस खड्क बहादुर केसीको ईजलासमा तीन दिन लगाएर बहस सकिएको हो । मंगलबार दुबै तर्फका कानून व्यवसायीको बहस सकिएको हो । बहस सकिएसँगै अब उक्त मुद्धा फैसलाको चरणमा प्रवेश गरेको छ । सम्भवतः आजै मुद्धाको फैसला आउने आँकलन गरिएको छ । 

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि ६ जना युवाहरुले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी मल्ल परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।   

उक्त घटनामा ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । तर अहिले २३ जना मात्रै रुकुम कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् । रुकुम अदालतका अनुसार मुद्धा दर्ता भएका मध्य चार जना रुकुम अदालत, दुई जना उच्च अदालत र पाँच जना सर्वोच्च अदालतको आदेशमा छुटिसकेका छन् । 

पीडित परिवारद्वारा गेटमा निरन्तर धर्ना
पेशी सुनुवाई तोकिएको अघिल्लो दिनदेखि नै पीडित परिवारहरुले रुकुम जिल्ला अदालतको मूल गेटमा धर्ना दिईरहेका छन् । न्यायको माग गर्दै धर्ना दिएको उनीहरुको भनाई छ । दिउँसो नाराबाजी सहित र्यालि निकालेर उनीहरुले शनिबार साँझबाट धर्ना सुरु गरेका हुन् । 

'छोराको हत्या भयो, न्यायको हत्या नहोस्, पीडितलाई न्याय दे' लगायतका नारा सहित उनीहरुले धर्ना दिईरहेका छन् । सो घटनाबारे छानविन गर्न बनेको संसदीय समितिले सोती घटना नियोजित भएको निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्