भूकम्पको कहर

६ सन्तान बिमारले मरे, एक भूकम्पले ...

' जुन घरको आगँनमै मेरो संसार उजाडियो, त्यो घर अगाडि उभिन सक्दिन'
शुक्रबार, मंसिर २२, २०८०

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –१४ पुर्णगाउँकी ९२ वर्षिया भिमा मल्लको लागि यो समय सवै भन्दा कष्टकर बनेको छ । भूकम्पले ४६ वर्षिया माईली छोरीसँगै घर गुमाउनुभएकी मल्लको बास त्रिपालमूनि छ ।

बाहिर पानी परेको छ, त्रिपालमूनि आगो बाल्दा आगलागीको डर छ । डुब्ने बेलाको घाम भएकी उहाँको यसै त कमजोर स्वास्थ्य, खानपानको अभाव र त्रिपालको बासल स्वास्थ्य अवस्था झन् बिग्रिदै गएको छ । 

भिमाको मनमा डर छ, “चिसोले दम बढिरहेको छ, भूकम्पले छोरी र घर लियो, चिसोले ज्यान लैजाने होला ।” यस्ता कमजोर कुरा मनमा खेलाउने उहाँ अहिले कान्छी छोरी सीताको साथमा हुनुहुन्छ । यस अघि मल्लका छ जना सन्तान हुर्कदा हुर्कदै जोगाउन नसकेको दुःखान्त छ । बिक्षिप्त अवस्थाकी मल्लले भन्नुभयो, “सानैमा तीन भाई छोरा, तीन बहिनी छोरी बिमारले मरे, कुन भाग्यले बाँचेकी एक छोरी पनि भूकम्पले लैगयो ।”

दश सन्तानलाई जन्म दिनुभएकी भिमाका अब तीन छोरी मात्र जीवित छन् । बर्बराउँदै विगतका पीडा ओकल्ने मल्ल अहिले मानसिक रुपमा समेत प्रभावित हुनुहुन्छ ।  

Bhima malla  (2)1701995811.jpg

सोहि वडाका ४५ बर्षिय बिरु मल्लको दुःखान्त पनि कम छैन । भूकम्पले श्रीमती अमृतासहित पाँच सन्तान गुमाउनुभएका बिरुको मन अझै ठाउँमा छैन । कात्तिक १७ को रातीबाट उहाँको संसार नै अध्यारोमा बितिरहेको उहाँ बताउँनुहुन्छ । पाँच परिवारका सदस्य र घरसँगै उहाँको मन पनि नराम्ररी भत्किएको छ । 

बिरु त्यो रात सम्झनुहुन्छ, “त्यो  रात घरमा पाहुना आएका छोरीका परिवारसहित ११ जना थियौँ । भूकम्पले घर ढलेपछि म बेहोस भएछु । छ जनाको उद्धार भएपनि पाँच जना भने सधैका लागी भूकम्पसँगै गैसकेका रहेछन ।” उहाँसँग अहिले न पूर्ण परिवार छ, न त स्वस्थ शरिर ।

बिरु यतिबेला घर भएको स्थान छोडेर बाँकि छोराछोरीको साथमा मुग्रा गाउँमा त्रिपाल टाँसेर बस्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “जुन घरको आगँनमै मेरो संसार उजाडियो, त्यो घर अगाडि उभिन सक्दिन अब ।”

उहाँका २२ वर्षिय छोरा रमेशले भूकम्पको रातपछि बुवाको स्वास्थ्य अवस्था ठिक नभएको बताउनुभयो । बुवाको अवस्थाले बाँचेकाहरुको मन झन् भासिएर आउने उहाँले बताउनुभयो । मनमा शोक र त्रासको अवस्था छ । आकास नै हल्लाए जस्तो भान हुने भएकोले मन सम्हालिने उपायको खोजीमा उहाँ हुनुहुन्छ ।

सोही ठाउँकी एकल महिला कली चन्दले भूकम्पपछि राम्रोसँग निन्द्रा पर्न छोडेको बताउनुभयो । छोरीको साथमा त्रिपालमुनी बस्दै आउनुभएकी चन्दलाई बास र गासको चिन्ताले सताएको छ । एक महिनासम्म जसोतसो दिनरात कटाएपनि बढिरहेको चिसो र राहत सकिएकोले अवस्था मुश्किल बनेको चन्दले सुनाउनुभयो । 

चन्दकी छोरी कल्पनाले खाने गाँस र बस्ने बास कसरी जोड्ने भन्ने पीरलोले आमा रातभरि ननिदाउने बताउनुभयो । कल्पनाले घर भत्किदा भएको अन्नपात, लत्ता कपडा सबै पुरिएको पीरले आमा त्यसै बर्बराउने गरेको जनाउनुभयो । 

आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले भूकम्पपछि मनोसामाजिक रुपमा समस्या बढिरहेको बताउनुभयो । सिएमसी, सोसेक, ओरेक नेपाल लगायतका निकायका मनोविमर्शकर्ताहरु नगरपालिकामा आउनुभएको र उहाँहरुले टोलमा, बिद्यालयमा परामर्श सेवा दिन थालेको केसीको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०६:१४
प्रतिक्रिया दिनुहोस्