Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प पीडितको अस्थायी आवास बनाउन सेना परिचालन

मंगलबार, मंसिर २६, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्प प्रभावित व्यक्तिहरुको अस्थायी आवास निर्माणको लागि सुरक्षाकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा नेपाली सेनाको टोली परिचालन भएको हो । यस अघि भूकम्प पीडितको घरको क्षतिको मुचुल्का बनाउन, अस्थायी आवासमा सहयोग गर्न नेपाल प्रहरीको टोली प्रभावित क्षेत्रमै रहेको छ । 

सुरक्षा निकायको उक्त टोलीले भूकम्पले क्षति गरेका घरहरुको व्यवस्थापन र अस्थायी आवास निर्माणको काम सुरु गरेको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाकर्मीको टोलीले सानीभेरी गाउँपालिका –२ को सागिनेगाउँ र आठबीसकोट नगरपालिका –१३ को जिउँलामा काम सुरु गरेको हो । 

अस्थायी आवास निर्माणमा दक्ष जनशक्तिको अभाव भएपछि मङ्सिर १३ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट नेपाल सरकार समक्ष सुरक्षाकर्मी परिचालनको माग गर्ने निर्णय भएको थियो । सोहि दिन बसेको मन्त्रीपरिषद्को बैठकको भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय समेत गरेको थियो । 

प्रजिअ पन्तले सुरक्षाकर्मी टोलीले अस्थायी आवास निर्माणको कामलाई पहिलो प्राथमिकता दिएर काम सुरु गरेको जानकारी दिनुभयो । आवास निर्माणका लागि स्थान र आवश्यक सामाग्री अभाव भएको खण्डमा भत्किएको संरचना व्यवस्थापन गरेर आवास निर्माण गरिनेछ । सुरक्षाकर्मीको टोलीले स्थानीय तहसँग आवश्यक समन्वय गरेर काम सुरु गरेको हो । 

भूकम्पको बेला खोज, उद्धार, उपचार र राहत वितरणको काममा प्रभावकारी भूमिका निर्वाह गरेको सुरक्षाकर्मी टोलीलाई जनस्तरबाट समेत अस्थायी आवास निर्माणको काममा परिचालन गर्ने माग भईरहेको थियो । भूकम्पपीडितहरुले सेना, प्रहरीसँग दक्ष जनशक्ति र आवश्यक सामाग्री हुने भन्दै भत्किएका संरचना हटाउन र अस्थायी आवास बनाउन सेना प्रहरीको माग गरेका थिए । 

रुकुम पश्चिममा ३० हजार बढी घरमा भूकम्पले क्षति पुगेको छ । अस्थायी आवास निर्माण माग गर्दै प्राप्त भएका निवेदन मध्य २४ हजार ४२३ घरको प्रहरी मुचुल्का समेत तयार भईरहेको छ भने मुचुल्का निर्माणको काम जारी रहेको छ । विभिन्न राजनीतिक दल र निकायले केहि मात्रामा अस्थायी आवास निर्माण गरेका छन् भने अधिकांश भूकम्प प्रभावितहरु त्रिपालमूनि बस्दै आएका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्