सोसल मिडिया
डा. आविष्कार धरला
२०८० साल कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरस्केलको भूकम्पले गर्दा मस्तसँग सुतेका १५४ जनाको अकालमै ज्यान गयो । रुकुम पश्चिमका ५३ जना परे । दुवै जिल्लाका गरी ६० भन्दा बढी बालबालिकाको दुःखद् निधन भयो ।
यो खबर सुन्दा म जिल्ला अस्पताल सल्लेमा थिए । मनमा छटपछि, बैचैनी हुन थालेको थियो । यो बेला त्यहाँ भैदिएको भए दुखेको घाउमा मलम लगाउन पाउँथे होला भन्ने कुरा मनमा खेलिरहेको थियो । संयोग नै भनौं, अस्पताल प्रमुख ज्यूले भूकम्पबाट धेरै प्रभावित क्षेत्रमा जाने योजना सुनाउनुभयो । अर्को दिन बिहानै जाने निधो गरियो । २०७२ को भूकम्पको बेला म फिलिपिन्समा प्रीमेड अध्ययन गर्दै थिए । त्यतिबेला धेरै मानविय क्षति भए पनि मलाई प्रत्यक्ष असर भने गरेन । त्यो बेला म भर्खर फिलिपिन्स गएको थिए । मेरो मानसपटलमा पढ्नुपर्छ भन्ने बाहेक केही थिएन । आमाबुवाको सपना थियो, छोरा डाक्टर बनेर मात्र फर्कियोस् । त्यही भएर होला सायद त्यतिबेला भूकम्पले त्यति मलाई असर नगरेको ।
मन सधैको शान्त त थिएन, के गरौ कसो गरौ भइहेकै थियो । अग्रज दाईहरुको सल्लाहमा भूकम्पपीडितहरुको लागि रकम जम्मा गर्नुपर्छ भन्ने भयो । पीडामा परेको नेपाललाई केही राहत मिल्छ कि भनेर, काठमाडौंको फनपार्क जस्तै फिलिपिन्सको एउटा पार्कमा गएर रकम जम्मा गरेको पनि हिजैँ जस्तो लाग्छ ।
जसरी अस्पताल प्रमुख ज्यूले सल्लाह दिनुभएको थियो, त्यही अनुसार बिहान ८ बजे तिर झोला बोकेर अस्पतालको गेटमा पुगे । गाडि आईसकेको थियो । म आफ्नो झोला बोकेर गाडीमा पसे । म संगै जनस्वास्थ्यका दुई जना स्टाफ पनि जान तयारी हुुनुहुन्थ्यो । यो कुरा गाडी चढेपछि मात्र थाहा भयो ।
मन मस्तिष्कमा भूकम्पका घाईतेहरुको पीडा सम्झदै राडि जिउँलामा रहेको आठबीसकोटको नगर अस्पतालमा पुग्यौ । हामी सबैभन्दा बढी क्षति भएको वडा नम्वर १४ को घेत्मा जानू पर्ने भयो, त्यता लाग्यौ । घेत्मा स्वास्थ्य चौकी पुग्दा बेलुकाको ५ बजिसकेको थियो ।
स्वास्थ्य चौकीमा पुग्दा मान्छेको भिडभाड, कोलाहलले मेरो मनमा एक किसिमको डर पैदा भयो । एक पाइला अघि के सरेको थिए एक जना बुवाले घाटिँ दुखिरहेकोले हेर्दिन आग्रह गर्नुभयो । उहाँ मदिराको तालमा हुनुहुदो रैछ । अलि नजिक पुगेर गन्ध आएपछि थाहा पाए । यो कुराले मलाई झन सोच्न बाध्य बनाइदियो ।
किनकी स्वास्थ्य चौकी जस्तो संवेदनशील ठाउँमा यसरी बिरामी रक्सिको तालमा आउँदा भोलि आफ्नो सुरक्षाको पनि डर हुने आशंका लाग्न थाल्यो । भोलि आफैलाई केही परि हाल्यो भने प्रहरी प्रशासन पनि नजिक छैन । यस्तैयस्तै सोच्दै थिए त्यहाँका स्वास्थ्य अधिकृत देवबहादुर चन्द ज्यूले बिरामी ओ.पि.डि.मा भएकोले हेरिदिन आग्रह गर्नुभयो । म पनि त्यतिकै बस्न सकिन । पुगेको १०,१२ मिनेटमै बिरामी हेर्न थाले । त्यो साँझ लगभग १२ जना जति बिरामी हेरे ।
बिरामी चेकजाँच गरेपछि औषधि पनि लेखे । तर भनेको जति औषधि स्वास्थ्य चौकीमा न पाउने रहेछ । त्यसपछि म र देव सरले चाहिने औषधिको लिस्ट बनाएर नगर स्वास्थ्य शाखा प्रमुख ज्यूलाई अनुरोध गरेर लिस्ट पठायौ । औषधि पनि भोलिपल्टै आईपुग्यो । औषधि भएपछि गाउँमा डाक्टर आएको जस्तो हुने भयो नत्र डाक्टर भएर मात्र के नै हुन्छ र !
भूकम्पमा परेर ज्यान जोगाएका, घाउ भएका, बिनाकारी भूकम्पको डरले आत्तिएका, बढिरहेको चिसोले थलिएका बिरामीहरुको क्रमिक उपचार गरियो । सबैभन्दा बढी त चिसोले निमानिया हुने लक्षण भएका, दमको रोगी भएका, सुत्केरी अवस्थामा रहेकाहरु बिरामी हुने संख्या बढिरहेको बेला स्वास्थ्य चौकी र हाम्रो टिमले खटिएर उपचार गर्यो ।
घेत्मा स्वास्थ्य चौकीमा डाक्टर केही दिन भए पनि त्यहाँ बसेको म पहिलो रहेछु । त्यहाँका स्वास्थ्य अधिकृत चन्द र त्यहाँका केही स्थानीयबाट थाह पाए । यो कुरा सुन्दाखेरि एक किसिमले अनौठो पनि लाग्यो अनि खुशी पनि । अनौठो यो किसिमले लाग्यो की आजसम्म नेपालका कतिपय दुर्गम बस्तीहरुमा डाक्टरले पाइला समेत टेकेका छैनन् । अनि खुशी यो कुरामा कि, म पहिलो भएपनि केही दुखेको घाउमा मलमपट्टि लगाउन पाए ।
स्वास्थ्य चौकीको नयाँ भवन बनेको रैछ, तर भुकम्पले गर्दा पुरै चर्केको । त्यहाँ सुत्न त के कुरा, जान पनि डर लाग्थ्यो । कर्मचारीको लागि क्वाटर त रैछ त्यो पनि भुकम्पले गर्दा भत्किएको । स्वास्थ्य चौकीको अगाडि एउटा सानो किराना पसल रहेछ, जसोतसो तीन रात त्यही किराना पसलमा कटाईयो ।
मैले सुरुमा जाँदा जे सोचेको थिए, त्यहाँ तीन दिन बसेपछि थाह भयो कि मैले सोचेको भन्दा फरक रैछ । त्यहाँको वडा कार्यालय स्वास्थ्य चौकी नजिकै भएर पो मान्छेको भिड लागेको रहेछ । राहत लिनलाई भिड लाग्ने रहेछ ।
त्यहाँ बस्दा सबै कर्मचारी देखि स्थानीयवासी सबै मिलनसार लाग्यो । ठाउँ पनि डाडाँमा भएकोले वरपरको दृश्य देखिने, यसले मेरो मन लोभ्यायो ।
यस्तो रमाइलो वातावरणमा अझैँ बस्न कसलाई मन नहोला र ! तै पनि दशैको बिदा समेत नपाएकोले दिदिलाई, भाई तिहारमा जसरी नि आउँछु भनेर बचन दिएको थिए । त्यो बचन पुरा गर्न टीकाको अघिल्लो दिनको बिहानै फेरि केही समस्या भएमा तुरुन्त आउने प्रतिज्ञा गर्दै घेत्मा स्वास्थ्य चौकीको चार दिनको बसाई पछि घर तिर फर्किए ।
नेपालको सबै भन्दा दुर्गम मान्दै आएको कर्णाली प्रदेश हो । तर हरेक कुरामा हेर्ने हो भने कर्णाली धनी देखिन्छ । धार्मिकस्थल, पर्यटकीय र जडिबुटीको स्रोत हो कर्णाली । आज त्यहि कर्णाली रोएको छ । अझै मान्छेहरु पालमुनि बसेको र चिसोको कारणले कयौं सुत्केरी महिला, बृद्धा तथा कलिला मुना जस्ता बालबालिकाहरुले ज्यान गुमाएको खबरले मन कटक्क खान्छ ।
त्यतिमात्र नभई चिसोसँगै विभिन्न अस्पतालहरुमा दमका बिरामी भरिन थालेका छन् । यस्तो अबस्थामा सम्बन्धित निकायहरु आवश्यक स्वास्थ्य सामाग्री जुटाई समस्याको समाधानतिर चाडैं लाग्नुपर्ने देखिन्छ । अझै भन्ने हो भने कर्णाली प्रदेशका हरेक स्वास्थ्य चौकीमा एउटा मेडिकल अधिकृत हुन आवश्यक देखिन्छ ।
यो सम्पुर्ण जनताको प्रत्यक्ष सेवा दिने नजिकको संस्था हो । जो कोहि टाढाको बाटो हिड्न सक्दैन र आर्थिक अवस्था कमजोर हुन्छ । खर्च बेहोर्न सक्दैनन् । अन्त्यमा ज्यान गुमाउनु पर्छ । बृद्ध बाआमाहरु एक्लै लौरी टेक्दै सकिनसकी उकाली ओराली गर्दै प्रेसरको, खोकीको औषधि लिन जिल्ला धाउन बाध्य छन् । सुत्केरी महिला सुत्केरी हुन नसकेर बाटोमा ज्यान गुमाउनु परेको छ । यो जतिको दुःख मलाई अरु केहि कुरामा लागेको छैन ।
(डोल्पाको त्रिपुराकोट निवासी डा. आविष्कार हाल जिल्ला अस्पताल सल्लेमा कार्यरत हुनुहुन्छ ।)