Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा अस्थायी आवास बनाउन ४७ करोड ८३ लाख निकाशा

बुधबार, मंसिर २७, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा भूकम्पबाट क्षति भएका व्यक्तिहरुको अस्थायी आवास निर्माणको लागि ४७ करोड ८३ लाख ५० हजार रुपियाँ निकाशा भएको छ ।

उक्त रकम जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषबाट जिल्लाका ६ वटा स्थानीय तहमा रहेको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा पठाईएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार बुधबारसम्म १९ हजार १३४ लाभग्राहिहरुको लागि उक्त रकम पठाईएको हो । उहाँका अनुसार त्रिवेणी गाउँपालिकामा दुई हजार ६९ वटा अस्थायी आवास निर्माणका लागि पाँच करोड १७ लाख २५ हजार रुपियाँ निकाशा पठाईएको छ ।

त्यसैगरी आठविसकोट नगरपालिकाका सात हजार लाभग्राहिको लागि १७ करोड ५० लाख रुपियाँ पठाईसकिएको छ भने सानीभेरी गाउँपालिकामा दुई हजार ३२१ अस्थायी आवासका लागि  पाँच करोड ८० लाख २५ हजार रुपियाँ पठाईएको छ । 

सहायक प्रजिअ बढुवालले चौरजहारी नगरपालिकामा लाभग्राहि कायम भएका ६ हजार २७९ लाभग्राहिको लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ, मुसीकोट नगरपालिकाका ५६६ लाभग्राहिको लागि एक करोड ४१ लाख ५० हजार र बाँफिकोट गाउँपालिकाका ८९९ लाभग्राहिको लागि दुई करोड २४ लाख ७५ हजार रुपियाँ पठाईएको छ । 

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्रति घर २५ हजारका दरले निकासा गरिएको हो । भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० (दोस्रो शंसोधन समेत) परिच्छेद २ को ३ (१) बमोजिम उक्त रकम पठाईएको हो । आगामी दिनमा स्थानीय तहबाट समितिको निर्णय भएर लाभग्राही कायम भएको जानकारी जिल्लाको विपद् व्यवस्थापन समितिमा प्राप्त भएपछि क्रमशः सम्बन्धित स्थानीय तहको विपद् कोषमा रकम पठाउने प्रबन्ध मिलाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा अनुदानका लागि रकम जम्मा भएसँगै स्थानीय तहहरुले सम्बन्धित लाभग्राहिको खातामा रकम जम्मा गर्न सुरु गरिसकेका छन् । लाभग्राहिहरुसँग सम्झौता गरेर बैंक खातामा रकम हुन थालेको हो । रुकुमपश्चिममा करिब ३० हजार घर भूकम्पले क्षति गरेको अनुमान रहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्