Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनयुवा आविमा अर्धस्थायी भवन निर्माण, आदर्श माविमा निर्माण हुँदै

बुधबार, पुस ४, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्पले विद्यालय भवनमा क्षति गरेपछि पठनपाठन प्रभावित बनेको रुकुम पश्चिमको एक सामुदायिक विद्यालयमा अर्धस्थायी संरचनामा आधारित विद्यालय भवन निर्माण भएको छ । 

जिल्लाको आठबीसकोट नगरपालिका –१३ भल्मज्यूलामा रहेको जनयुवा आधारभूत विद्यालयमा उक्त भवन बनाईएको हो । आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले भूकम्पबाट पूर्ण रुपमा क्षति भएको यस विद्यालयमा दुई वटा भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार अर्धस्थायी संरचनामा आधारित भवन निर्माणमा बुद्धिस्ट चुजी चाइ फाउन्डेसनले सहयोग गरेको छ । यी भवनहरु भूकम्प प्रतिरोधी रहेका छन् ।  

उक्त फाउन्डेशनको सहयोगमा आठबीसकोट नगरपालिका –१४ ज्यामिरकोटमा रहेको आदर्श माध्यमिक विद्यालयमा पनि सोहि प्रकृतिको भवन निर्माण सुरु गरिएको छ । आदर्श माविमा छ कोठे भवन निर्माणका लागि सहमति भएको नगरप्रमुख केसीले बताउनुभयो । फाउन्डेसनले रुकुमपश्चिमका दुई र जाजरकोटका तीन वटा सामुदायिक विद्यालयमा अर्धस्थायी संरचनामा आधारित भवन निर्माणमा सहयोग गर्ने जनाएको छ ।

जनयुवा आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर ओलीले दुई वटा चार कोठे भवन निर्माण सम्पन्न भएर पठनपाठन सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार फाउन्डेसनको करिब १४ लाख रुपियाँको लागतमा भवन निर्माण गरिएको हो ।

छोटो समयमै निर्माण सम्पन्न भएका विद्यालय भवनको कारण बालबालिकाको पढाईमा सहज भएको प्रधानाध्यापक ओलीको भनाई छ । यसअघि अस्थायी सिकाई केन्द्रमार्फत पठनपाठन सुरु गरिएको थियो । १५ वर्ष टिकाउ हुने भनिएका यी भवन निर्माणमा जस्तापाता, फलाम, सिमेन्ट, पिफर्म र प्लाईउडको प्रयोग गरिएको छ । 

भूकम्पको कारण आठबीसकोट नगरपालिकामा मात्रै ५४ वटा सामुदायिक विद्यालय भवनमा पूर्ण रुपमा क्षति भएको छ । नगरपालिका क्षेत्रका ६४ वटा विद्यालय मध्य अन्य विद्यालयमा आंशिक क्षति भएको बताइन्छ । अहिले यस पालिकाका विभिन्न विद्यालयहरुमा १३९ वटा अस्थायी सिकाई केन्द्र निर्माण गरेर पठनपाठन भईरहेको छ । 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्