सोसल मिडिया
दसै गएपछि तिहार आउन नपाउँदै भूकम्प आयो । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएको भूकम्पले आठबीसकोट नगरपालिका १४ मा मात्रै २८ जनाको लियो । सोहि वडा र अन्य स्थानमा समेत गरेर ठुलो मानविय अनि भौतिक क्षति बेहोरेको यस वडामा भूकम्प गएको करिव एक महिनापछि म पुगे ।
यतिन्जेलसम्म मृतकका परिवारको शोक र घाईतेहरुको बिक्षिप्त अवस्थाले गाउँनै सन्टानामा छ । दशै र तिहारको बिचमा घरबासविहिन सयौ परिवारको दयनिय अवस्था चिसो मौसमको कारण थप जटिल बनिरहेको छ । यहाँका मानिसको बस्ने बास र खाने गास भूकम्पले टुटाइदिएको छ । सपनाहरु भत्किएका सर्वसाधारणहरुसँग एक मुठि सास भने बाँकि छ ।
भूकम्पले उनीहरुको साहसलाई पनि कमजोर बनाईदिएको छ । कात्तिक १७ गतेको अध्यारो रातपछि घरबासबिहिन बनेका पीडितहरु अहिलेसम्म त्रिपालको सहारामा कठ्याङग्रिदो चिसो छल्ने प्रयास गरिरहेका छन् ।
न खानपिन मिलेको छ, न निद्रा परेको । यस्तो मुटु नै कमाउने चिसो मौसममा कति दिन चल्न सक्छ यसरी दैनिकी ? यहि सोच्दै जवरजस्त दिनरात धकेलिरहेका छन्, यहाँका नागरिक ।
विद्यालय, स्वास्थ्य चौकीका भवनको अवस्था पनि उस्तै छ । त्रिपालमुनि पढिरहेका छन विद्यार्थी, त्रिपालमुनि बाटै सेवा दिइरहेका छन्, स्वास्थ्य चौकीका कर्मचारी । यो कस्तो महाविपत्ति हो ? यो कस्तो प्राकृतिक लडाइँ हो ?
त्रिपालमुनिको बासका कारण भूकम्पपश्चात पनि चिसोले कत्ति मान्छेको जीवन लिइसकेको छ । बाँकी रहेकाहरुको दैनिकी मुश्किलले कटिरहेको छ । बेलुका सुतेका नागरिक विहान कठ्याँरिएको अवस्थामा फेला पर्छन । बेलुका ओढेको ब्लांकेटमा बिहान तुसारो परेको हुन्छ । सबैलाई टेन्ट पुगेको छैन, त्रिपालले जाडो छेक्दैन ।
म भूकम्प प्रभावित क्षेत्रको ज्यामिरकोट गाउँमा एक हप्ता बसे । खुल्ला आकाशमुनिको खानपान, त्रिपालमुनिको बसाईं कति कष्ठपूर्ण रहेको छ, मैले महसुस गरे । तर अव हामीलाई महशुस मात्रै गर्ने छुट छैन । जो जहाँ जस्तो अवस्थामा बसेको छ । त्यहिबाट सकेको सहयोग गर्ने हो भन्ने सोचले म उक्त ठाउँमा पुगेको थिए ।
हामीले त्यहाँका नागरिकको चोट माथि थोरै भएपनि मलम लगाउने कोसिस गरेका छौ । युवा संघको टिमसँग र स्थानीयहरुसँग मिलेर हामीले केही घरबासविहिन भएका परिवारका अस्थायी आवास निर्माण गर्यौ । हुन त अस्थायी टहराले पनि मन फाटेका नागरिकको खुसि त फर्कनेवाला थिएन । तर थोरै भएपनि राहत भने पक्कै भएको थियो ।
अस्थायी टहरा बनाउँदा बनाउँदै मेरो मनमा अनगिन्ती सोचहरु आउँथे । प्राकृतिक प्रकोपले पनि खुसि त गरिवको मात्रै खोस्दो रैछ । जसका पक्की भवन छन । उनिहरुको घर भत्केको छैन । जसको ढुगां र माटोले बनेको घर छ उसैको घर सामसुम भएको छ । उसैको घर चिराचिरा भएको छ । उनीहरु नै घरवास विहिन बनेका छन् ।
उक्त ज्यामिरकोटको धेरै ठाउँमा छरिएर विभिन्न राजनीतिक दल र तिनका भातृ संगठन, विभिन्न संघ संस्थाहरुले अस्थायी टहरा निर्माण गरिरहेका थिए । यस्तो विषम परिस्थितीको सामना सबै मिलेर गरेको देख्दा लाग्छ हामी नेपालीको मन फराकिलो छ । आर्थिक रुपमा हामी जति कमजोर भएपनि मनका भने भरिपूर्ण छौं । “पहाडमा जाडो बढे तराइले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।” भन्ने गित त्यसै स्वरुप आचार्यले गाएका होइनन् ।
फिल्डमा मैले एक फरक खालको महसुस पनि गरेको छु । भूकम्पले त्रसित नागरिकलाई मानसिक रुपमा पनि ठुलै झड्का लागेको छ । एकै छिनमा आफन्त, घरवास र भएभरको जायजेथा गुमाएकाहरुमा ठुलो आघात पेको छ । आफ्ना सपनाहरु गुमाएकाहरु अवको व्यवस्थापन कसरी गर्ने भनेर सोच्न विवश छन ।
यी आघातमा परेका नागरिकहरुको उद्धार अव कसरी हुन्छ ? त्यहाँ पुग्ने जो कोही पनि यहि सोचेर फर्किन्छन् होला । म पनि त्यहि सोचेर लाचार मन लिएर फर्किएकी छु ।
त्रिपालमुनि शीत छल्दै रात काटेका बालबालिका, सुत्केरी र ज्येष्ठ नागरिकहरुलाई शारिरीक र मानसिक रुपमा पनि गम्भिर संकट परेको देखिन्छ । बालबालिकालाई यसको असर कति परसम्म जाने हो भन्ने कुराको आँकलन सम्बन्धित निकायले यतिबेला सम्म गरिसक्नु पर्ने हो । मर्नेहरु त मरे, बाँचेकाहरु जोगाउनको लागी सरकारले चाडंै पहल गरोस् । नागरिकको अपेक्षा यहि छ ।
भूकम्प प्रभावित क्षेत्रका नागरिक जसको घर भत्किएपनि मन भत्किन नदिन स्थानीय सरकारले अनेक मेहनत गरिरहेको पाईन्छ । जसको परिवार उजाडिएको छ, उसलाई मलमपट्टि लगाउन जरुरी छ । जसको सबथोक गुमेको छ उसको हिम्मत नगुमोस् । फेरी ढलेका घरहरु बनाउने आँट आओस् । गुमेको जायजेथा, सरसामान अनि सम्पत्ति जोड्ने साहस फुरोस् । यहि कामना गर्दछु ।
(भूकम्प प्रभावित क्षेत्र आठबीसकोट - १४ ज्यामिरकोटबाट फर्केपछि ।)