सोसल मिडिया
रुकुम पश्चिम । अघिल्लो बर्षभन्दा दोब्बर बढी मूल्यमा सुन्तला बिक्रि भएपछि मुसिकोट नगरपालिका १० का सुन्तला उत्पादक किसान खुशि भएका छन् । वडा कार्यालयले कृषि उपजको बजारीकरणमा सहजिकरण गरेपछि सुन्तलाले दोब्बर मूल्य पाएको हो ।
सुन्तला उत्पादक किसान झुपलाल खड्काले गत वर्षभन्दा दोब्बर मूल्यमा यस सिजनका सुन्तला बिक्रि भएको बताउनुभयो । खड्काका अनुसार गत वर्ष प्रतिकिलो २५ रुपियाँको दरले सुन्तला बिक्रि गरिएको थियो । यो बर्ष भने प्रतिकिलो ५२ रुपियाँका दरले सुन्तला बिक्रि गरेको उहाँले बताउनुभयो । खड्काले आफूले उत्पादन गरेका १४ क्विन्टल सुन्तला दाङका व्यापारीलाई बिक्रि गरेको बताउनुभयो ।
अर्का सुन्तला उत्पादक किसान एक्कबहादुर खड्काले यस सिजनमा ८३ हजार रुपियाँमा १६ क्विन्टल सुन्तला बिक्रि गरेको बताउनुभयो । उहाँले किसानको बारीमै आएर व्यापारीले राम्रो मूल्यमा सुन्तला खरिद गरेको जनाउनुभयो ।
गत वर्ष मूल्य नपाउँदा चिन्तित बनेका किसानहरुले यस वर्ष दोब्बर मूल्य पाएको उहाँको भनाई छ । गत वर्ष कुहिएर खेर जानुभन्दा सस्तोमै बेच्न बाँध्य भएको किसानहरुको भनाई छ । यस वर्ष उचित मूल्य पाउँदा किसानहरु खुशि भएको खड्काको भनाई छ ।
मुसीकोट नगरपालिका वडा नम्वर १० को कार्यालयले यस सिजनमा दोश्रो पटक सुन्तला निर्यात भएको जनाएको छ । वडा अध्यक्ष धनबहादुर खड्काले हालसम्म प्रतिकिलो ५२ रुपियाँको दरले ८८ क्विन्टल सुन्तला बिक्रि भएको बताउनुभयो ।
बिक्रि भएका सुन्तला वडाका छ जना किसानले व्यावसायीक रुपमा उत्पादन गरेका सुन्तला हुन् । यसबाट सुन्तला उत्पादक किसानले चार लाख ५७ हजार ६ सय रुपियाँ आम्दानी गरेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । अब वडामा करिब २५ क्विन्टल सुन्तला बाँकि रहेका छन् ।
गत वर्ष सुन्तलाले समयमै बजार नपाउँदा सस्तो मूल्यमा बिक्रि भएका थिए । जसका लागि वडा कार्यालयले समन्वय गरेको थियो । अहिले जिल्ला भित्र र बाहिरका व्यापारीहरुसँग निरन्तर समन्वय गरेपछि किसानको बारीमै पुगेर खरिद गर्ने अवस्था आएको हो ।
वडा अध्यक्ष खड्काले निरन्तर श्रममा लागेमा कृषि उपज खेर नजाने र पसिनाले उचित मूल्य पाउँने बताउनुभयो । उहाँले किसानहरुलाई हतोत्साहि नहुन र बजारको माग अनुसार उत्पादनमा जोड दिन अनुरोध गर्नुभयो ।