Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

५९ करोड निकाशा, सात हजार अस्थायी आवास निर्माण

आइतबार, पुस १५, २०८०
tribeni2

रुकुम पश्चिम । भुकम्प गएको दुई महिना पुग्न लाग्दा सरकारले भूकम्पपीडितलाई दिएको अनुदान रकमबाट रुकुम पश्चिममा हालसम्म सात हजार ७९ वटा अस्थायी आवास निर्माण भएका छन् । नौ हजार तीन सय ४१ वटा आवास निर्माणको काम भईरहेको छ । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार जिल्ला विपद् कोषबाट स्थानीय विपद् कोषमा हालसम्म ५९ करोड दुई लाख रुपियाँ निकाशा पठाईसकिएको छ । तर अनुदान वापतको रकमले सात हजार मात्र टहरा बनेका छन् ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार आठबीसकोट नगरपालिका तीन हजार १४ वटा अस्थायी आवास निर्माण भएका छन् भने चार हजार एक सय वटा निर्माण भईरहेका छन् । चौरजहारी नगरपालिकामा दुई सय ६५ वटा निर्माण सम्पन्न भएका छन् भने दुई हजार चार सय वटा निर्माण भईरहेका छन् । त्यसैगरी मुसीकोट नगरपालिकामा हालसम्म २४ वटा मात्र निर्माण भएका छन् भने ४८ वटा निर्माण भईरहेका छन् ।  

सानीभेरी गाउँपालिकामा हालसम्म तीन हजार ४२ वटा अस्थायी आवास निर्माण भएको प्रशासन कार्यालयले जनाएको छ । यहाँ दुई हजार दुई सय तीन वटा निर्माण भईरहेका छन् । त्रिवेणी गाउँपालिकामा ६१७ वटा आवास निर्माण भईसकेका छन् भने ५५० वटा निर्माण भईरहेका छन् । त्यसैगरी बाँफिकोट गाउँपालिकामा ११७ वटा निर्माण भएका छन् भने ४० वटा निर्माण भईरहेका छन् । 

प्रमुख जिल्ला अधिकारी पन्तले जिल्ला विपद् कोषबाट २३ हजार छ सय आठ लाभग्राहीको लागि पहिलो किस्ताको रकम सम्बन्धित स्थानीय विपद् कोषमा पठाईसकिएको बताउनुभयो । स्थानीय तहले भने १९ हजार सात सय १७ जना लाभग्राहीको खातामा ४९ करोड २९ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेका छन् । 

चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राहीको लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ जिल्ला विपद् कोषबाट पठाईएको छ भने नगरपालिकाले पाँच हजार नौ सय ३८ लाभग्राहीको खातामा १४ करोड ८४ लाख ५० हजार रुपियाँ जम्मा गरिसकेको छ । आठबीसकोट नगरपालिकामा सात हजार लाभग्राहीको लागि पठाएको १७ करोड ५० लाख रुपियाँ सबै लाभग्राहीको खातामा जम्मा गरिसकिएको छ ।

त्यसैगरी मुसीकोट नगरपालिकामा एक हजार तीन सय पाँच लाभग्राहीको लागि तीन करोड २६ लाख २५ हजार रकम पठाईएको छ भने नगरपालिकाले दुई सय ११ लाभग्राहिको खातामा ५२ लाख ७५ हजार रुपियाँ जम्मा गरेको छ । 

त्यसैगरी सानीभेरी गाउँपालिकामा चार हजार पाँच सय ७३ लाभग्राहीको लागि ११ करोड ४३ लाख २५ हजार चार हजार चार सय ९९ जनाको खातामा ११ करोड २४ लाख ७५ हजार रुपियाँ जम्मा भईसकेको छ । त्रिवेणी गाउँपालिकामा दुई हजार सात सय ५२ लाभग्राहीको लागि छ करोड ८८ लाख रुपियाँ जम्मा गरिएको छ भने दुई हजार ६९ लाभग्राहीको खातामा पाँच करोड १७ लाख २५ हजार जम्मा गरिसकिएको छ ।

बाँफिकोट गाउँपालिकामा एक हजार छ सय ९९ लाभग्राहीको लागि चार करोड २४ लाख ७५ हजार रुपियाँ पठाईएकोमा हालसम्म कुनै पनि लाभग्राहीको खातामा रकम जम्मा गरिएको छैन । 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्