Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी नमूना घर हस्तान्तरण

सोमबार, पुस १६, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका –६ फारुला गाउँमा बनाईएका तीन वटा भूकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ ।

गत कात्तिक १७ गतेको जाजरकोट भूकम्पले पूर्ण रुपमा भत्किएका तीन घर एक कार्यक्रमका बिच नगरप्रमुख पुष्प बादीले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो । 

स्थानीय कालीबहादुर कामी, कमल बि.क. र शशिराम बोहराको परिवारलाई नगरप्रमुख बादीले घरको चाबि हस्तान्तरणसँगै न्यानो कपडा समेत उपलब्ध गराउनु भएको हो । कार्यक्रममा नगरप्रमुख बादीले नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य समेत रहनुभएका पूर्व नगरप्रमुख बिशाल शर्माको नेतृत्वमा पार्टीले नमूना घर निर्माण गरेर उदाहरणिय कार्य गरेको बताउनुभयो ।

WhatsApp Image 2024-01-01 at 20.08.20_84c09d6d1704121006.jpg

उहाँले सबै राजनीतिक दलहरुले विपद्को बेला यस्तै अभियान सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । नगरप्रमुख बादीले सकारात्मक सोचका साथ गरेको कामले सकारात्मक सन्देश प्रवाह हुने बताउनुहुँदै सरकारले दिएको अनुदानमा आफ्नो पनि लगानी थपेर नमूना घर बनाउन आवश्यक रहेको बताउनुभयो । 

भूकम्प प्रतिरोधी नमुना घर निर्माणको अगुवाई गर्नुभएका पूर्व नगरप्रमुख शर्माले दुई महिनासम्म त्रिपालको सहारामा चिसो रात बिताउँदै आएका तीन परिवारका १६ सदस्यहरु अब आनन्दले सुरक्षित घरमा सुत्न पाउने बताउनुभयो । विपद्को बेला घरबासबिहिन भएका गरिब परिवारको बास निर्माणपछि आफूलाई आनन्दको महशुस भएको समेत उहाँले उल्लेख गर्नुभयो । 

मङ्सिर पहिलो साताबाट बनाउन सुरु गरेका चार घरमध्य हालसम्म तीन घर निर्माण सम्पन्न भएका हुन् । स्थानीय चन्द्रे बुढाथोकीको घर १५ दिनभित्र निर्माण हुने बताईएको छ । 

WhatsApp Image 2024-01-01 at 20.08.18_7c5013b71704121002.jpg

घर हस्तान्तरण कार्यक्रममा पूर्व नगरप्रमुख शर्माले तीन घर निर्माणको क्रममा परिचालन भएको जनशक्ति र खर्चको जानकारी गराउनुभएको थियो । उहाँका अनुसार तीन वटा भूकम्प प्रतिरोधी नमुना घर निर्माणको लागि चार लाख ८१ हजार ३२१ रुपियाँ खर्च भएको छ भने ५८३ जनाले श्रमदान गरेका छन् । विपद्को बेला गरेको श्रमको खर्च अमूल्य रहेको समेत उहाँले उल्लेख गर्नुभयो । 

शर्माले खर्च भएको रकम मध्य सरकारले अस्थायी आवास निर्माण वापत दिने तीन परिवारको जम्मा रकम एक लाख ५० हजार, धादिङका राजन खतिवडाले २५ हजार, चौरजहारी अस्पतालका प्रमुख डिलबहादुर गिरीले ५० हजार, जहारीखोला सहकारी सस्थाबाट २५ हजार र चौरजहारी नगरपालिका वडा नम्वर १२ का लोकेन्द्र देवकोटाले २५ हजार सहयोग गर्नुभएको जानकारी दिनुभयो ।

त्यसैगरी बाँकि खर्च मध्य तीन परिवारले प्रतिपरिवार ३५ हजार र बाँकि खर्च आफूले व्यक्तिगत रुपमा बेहोरेको प्रष्ट पार्नुभयो । 

घर निर्माण कार्यमा माओवादी केन्द्र चौरजहारी, वाईसियल लगायतको नियमित श्रम रहेको थियो । कार्यक्रममा भूकम्पपीडित परिवारको तर्फबाट बोल्नुहुँदै प्रकाश बिकले भूकम्पपछि कहाँ बसौ र कसो गरौ भनेर चिन्तित भएको बेला माओवादी पार्टीले अगुवाई गरेर भूकम्प प्रतिरोधी घर बनाईदिएको बताउनुभयो ।

WhatsApp Image 2024-01-01 at 20.07.21_7b5fbf7f1704120762.jpg

उहाँले निर्माण भएका तीन वटै घर समान प्रकृतिका रहेको समेत जनाउनुभयो । २४ फिट लम्बाई र १४ फिट चौडाईमा निर्माण भएका घरहरु अत्यन्त बलिया भएको भन्दै उहाँले खुशि व्यक्त गर्नुभयो । बिकले फलामका रड, सिमेन्ट, गिठ्ठि, बालुवा, जस्तापाता लगायतका स्थानीय अन्य सामाग्रीको प्रयोगबाट पक्कि घर बनेको जानकारी दिनुभयो । 

घर हस्तान्तरण कार्यक्रमको सञ्चालन नेकपा (माओवादी केन्द्र) चौरजहारी नगरकमिटीका अध्यक्ष सुदास स्वर्णकारले गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख पुष्प बादी, पूर्व नगर प्रमुख बिशाल शर्मा, पूर्व नगर उपप्रमुख राधा रोका, विभिन्न वडाका वडा अध्यक्षहरु, नेकपा (माओवादी केन्द्र) चौरजहारी नगर कमिटीका सचिव एलबी कटुवाल लगायत स्थानीयको उपस्थिति रहेको थियो । 

WhatsApp Image 2024-01-01 at 20.07.20_8271b3951704120761.jpg

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्