Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा भूकम्प प्रतिरोधी एकिकृत नमूना बस्ती निर्माण सुरु

टाकुरीटोलमा एकसाथ २१ घर बन्दै
बुधबार, पुस १८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी एकिकृत नमूना बस्ती निर्माण सुरु भएको छ ।

चौरजहारी नगरपालिका वडा नम्वर १२ को टाकुरीटोलमा २१ वटा घर निर्माणको थालनी गरिएको हो । नगर प्रमुख पुष्प बादीले एक कार्यक्रमका बिच भूकम्प प्रतिरोधी एकिकृत नमूना बस्ती निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । 

नगरपालिकाका पूर्व नगर प्रमुख बिशाल शर्माले चिसोको कारण भूकम्पपीडितहरुको स्वास्थ्य थप जोखिममा पर्न थालेकोले एकिकृत रुपमा नमूनाबस्ती निर्माण थालिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एकिकृत बस्ती निर्माणका लागि पीडित परिवार र मानव विकास तथा सामुदायिक सेवाको संयुक्त लगानी रहने छ । दुई पक्षले एक घर निर्माणको लागि करिब पाँच/पाँच लाख रुपियाँको लगानी गर्ने सहमति भएको शर्माले बताउनुभयो ।

भूकम्पपीडित गणेश खत्रीले सिङगो टोलका २१ घर एकसाथ बनाउन थालेको बताउनुभयो । एक घरको लम्बाई सात मिटर र चौडाई ५.५ मिटर रहने गरी काम थालनी भएको छ । सबै घरमा समान प्रकृतिको बरण्डा समेत रहने खत्रीले उल्लेख गर्नुभयो ।

अहिले संयुक्त रुपमा स्थानीयवासीहरुले घर निर्माणको काम गरिरहेको र एक घर निर्माणसँगै अर्को घर सुरु गर्ने सहमति भएको समेत खत्रीले जनाउनुभयो । 

वडा नम्वर १२ का वडा अध्यक्ष टिकाराम ओलीले तीन महिनाभित्र पहिलो चरणको एकिकृत बस्ती निर्माण कार्य सक्ने गरेर काम थालनी गरेको बताउनुभयो । आफ्नो वडाका पाँच सय ९२ घरको टहरा निर्माण सकिएकोले पुनर्निर्माणको अभियान सुरु गरिएको उहाँको भनाई छ ।

वडाध्यक्ष ओलीले नगरपालिकाको दुर्गम बस्तीको रुपमा रहेको टाकुराटोलमा नमूना बस्ती विकास गरेर उदाहरणिय कार्य प्रस्तुत गरिने उल्लेख गर्नुभयो । घर निर्माणमा सम्पूर्ण टोलवासीहरु एक भएर काम गरिरहेका छन् । 

चौरजहारी नगरपालिका भित्र सात हजार दुई सय ३६ घरपरिवारका आठ हजार दुई सय ७० वटा घर क्षति भएको नगर प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो । जसमध्य चार सय ५५ वटा पूर्ण रुपमा, छ हजार पाँच सय ९१ वटा आंशिक रुपमा र एक हजार दुई सय २४ वटा सामान्य चर्केर क्षति भएका छन् । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्